काठमाडौं । तामाङ समाज युएईले विभिन्न संघ संस्था तथा व्यक्तिलाई काठमाडौं स्थित बौद्ध टुसालमा सोमबार एक कार्यक्रमको आयोजना गरी सम्मान तथा कदर पत्र वितरण गरेको छ ।
समाजले युएईमा सम्पन्न भएको नेपाल तामाङ घेदुङको ग्रेन दिम भवन खरिद सहयोगार्थ मञ्जुश्री संम्वत २८६० डुक ल्हो सोनाम ल्होछार साँझ–२०२४ कार्यक्रमको लागि विभिन्न क्षेत्रबाट सहयोग गर्ने व्यक्ति, संघ संस्था तथा मिडियाकर्मीलाई सम्मान गरेको हो ।
तामाङ समाज यूएईका केन्द्रीय उपाध्यक्ष तथा कार्यक्रम संयोजक वीरबहादुर लामाको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा प्रमुख अतिथि नेपाल तामाङ घेदुङका संघीय अध्यक्ष मोहन गोलेद्वारा सम्मानित व्यक्ति, संघ संस्थालाई सम्मान पत्र हस्तान्तरण गर्नुभएको थियो ।
मन्तव्यको क्रममा प्रमुख अतिथि गोलेले विदेशमा रहेर पनि तामाङ समाजको हरेक गतिविधिमा तामाङ समाज यूएईले निरन्तर रुपमा आर्थिक तथा सामाजिक सहयोग गर्दै आएकोमा तामाङ समाज युएईले गरेको योगदानको उच्च मुल्यांकन गरे। उनले आन्तरिक मतभेद हुँदा संस्था भित्रै छलफल गरेर अघि बढ्दा राम्रो हुने र समस्याको समाधान पनि सजिलोसँग हुने बताए ।
यसैगरी तामाङ पत्रकार संघका महासचिव तिर्थमान बलले समाजद्वारा गरिने हरेक क्षेत्रको गतिविधिलाई समाचार बनाई सम्प्रेषण गर्दै आएको र आगामी दिनहरुमा पनि संचार माध्यमबाट हुन सक्ने सहयोग सदैव रहने प्रतिबद्धता जनाउदै सम्मानको लागि आभार प्रकट गरे ।
कार्यक्रमका सभाध्यक्ष लामाले यूएईमा सम्पन्न भएको कार्यक्रममा सहयोग गर्ने मिडिया र विभिन्न संघ संस्थाको प्रतिनिधि तथा प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग गर्नु हुने सहयोगीदाताहरुलाई विशेष धन्यवाद दिदै नेपालमा रहेर मिडियाको भूमिका निर्वाह गर्नु भएको र युएईको कार्यक्रममा भौतिक उपस्थिती जनाउन नसकिएको हुँदा ग्लोबल मल्टिमिडिया, सैलुङ अनलाइन, तामाङ पत्रकार संघका महासचिव तीर्थमान बल, एनटिभी तामाङ भाषाका संवाददाता वीरमान तामाङ लगायतलाई नेपालमै सम्मान कार्यक्रम राखिएको बताए ।
यस्तै समाजद्धारा तामाङ समाज यूएई नेपाल सम्पर्क समितिका अध्यक्ष निशान तामाङ, समितिका सदस्यहरू मनिता पाख्रिन लिम्बू, बोइमा तामाङ, सन्जिता मोक्तान लामा, ज्ञानबहादुर तामाङ, माया दोङ तामाङ, ज्ञानबहादुर योञ्जन, पदमबहादुर योञ्जन, राज वाइबा, अञ्जुली लोप्चन र प्रेमबहादुर बोम्जन सम्मानित भएका छन् ।