भ्रष्टाचार, विकृति र विसङ्गतिको अन्त्य आजका आवश्यकता : माधव नेपाल


भक्तपुर । नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देशमा विद्यमान भ्रष्टाचार, विकृति र विसङ्गतिको अन्त्य गर्नु आजको आवश्यकता रहेको बताएका छन् ।

आज भक्तपुरको गठ्ठाघरस्थित सिभिएम सेकेण्डरी स्कुलको २५औँ वार्षिकोत्सव तथा अभिभावक दिवसमा बोल्दै उनले देशलाई अब सुशासन र विकासतर्फ अगाडि लैजानुपर्ने बताएका हुन्। सरकारले शिक्षाको गुणस्तरमा जोड दिनुपर्ने औल्याउँदै उनले शिक्षाले विवेक जागृत हुने ज्ञान दिन सक्नुपर्ने बताए। उनले शिक्षा क्षेत्रले असल, इमानदार र कर्तव्यनिष्ठ विद्यार्थी उत्पादन गर्नुपर्ने बताए।

पूर्वप्रधानमन्त्री नेपालले समाजमा बस्ने सबैमा एक अर्कामा सम्मान र आदरको भावना विकास गर्नुपर्ने बताउँदै सुसंस्कृति, समृद्धि र प्रगतिको दिशामा लम्कनुपर्ने भनाइ राखे ।

“हामी सबैसँग मित्रता चाहन्छौँ, हाम्रो भूमिलाई पनि कसैले समस्यमा नपारिदिउन् भन्ने चाहन्छौँ, म नेपाली हुँ भन्ने भावना सबैमा हुनुपर्छ, नेपाली पहिचान, भाषा, संस्कृति, इतिहास र असल परम्पराको संरक्षण गर्नुपर्छ”, उनले भने

कार्यक्रममा विद्यार्थीले विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्नुका साथै उत्कृष्ट विद्यार्थीलाई पुरस्कार प्रदान गरिएको थियो ।

प्रकाशित: समय: 19:06:05  472पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार