सोनाम ल्होछारको अवसरमा दुर्गापुरीमा माघ ६ गते देखि पाँचदिने साँस्कृतिक महोत्सव हुने


उर्लाबारी । २८५९ औं सोनाम ल्होछार एबं तामाङ जातिको नयाँ वर्षको रुपमा मानिने सोनाम ल्होछारको अवसरमा मोरङको उर्लाबारी-९ दुर्गापुरीमा भब्य रुपमा ५ दिने बृहत सांस्कृतिक महोत्सवको आयोजना गरिने भएको छ।

तामाङ घेदुङ उर्लाबारी-८ र ९ को संयुक्त आयोजनामा माघ ६ गते देखि १० गतेसम्म साँस्कृतिक महोत्सव सहित सोनाम ल्होसार मनाइन लागिएको हो।

महोत्सवमा तामाङ जातिको कला संस्कृति, बिभिन्न जातजातिको झाँकी राष्ट्रिय तथा स्थानीय कलाकार र बिभिन्न ४ वटा ब्याण्डहरुको साँस्कृतिक प्रस्तुति रहनेछ ।

शास्त्र हराए संस्कृति हराउँछ, संस्कृति हराए परम्परा हराउँछ, परम्परा हराए पहिचान हराउँछ, पहिचान हराए जात हराउँछ र भाषा हराए देश हराउँछ भन्ने मूल नाराका साथ यो वर्ष विशेष तरिकाले ल्होछार कार्यक्रम आयोजना गर्न लागिएको महोत्सव संयोजक सन्तोष तामाङले बताए। उनका अनुसार महोत्सवमा नि:शुल्क रुपमा प्रवेश गरेर सहभागिता जनाउन सकिनेछ।

कार्यक्रम उर्लाबारी-९ को वडा कार्यालय नजिकै रहेको खाली जग्गामा हुनेछ। बाघ वर्गलाई विदाई गरि बिरालो वर्गलाई स्वागत गरिने २८५९ ‍औं सोनाम ल्होछारको अवसरमा तामाङ समुदायले एकआपसमा शुभकामना तथा खुशी साटासाट गर्ने महोत्सवका सचिव प्रताप तामाङले बताए।
तामाङ समुदायको लागि मात्र नभएर सबैलाई समेट्ने उदेश्यले महोत्सवको आयोजना गरेका हौ, जसमा बृहत साँस्कृतिक कार्यक्रम हुनेछ, सचिव प्रतापले भने, हामीले सोचे भन्दा धेरै जनाको सहभागिता हुने देखियो त्यसकारण यसपटकको ल्होछार भब्य हुनेछ ।

के हो ल्होछार ?
नेपाल तामाङ घेदुङका उर्लाबारी-९ का अध्यक्ष रत्न तामाङका अनुसार तामाङ समुदायले माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होछार अर्थात् नयाँ वर्ष पर्व हो। ‘ल्होछार’ दुई शब्द मिलेर बनेको छ। जसको अर्थ ‘ल्हो’ अर्थात् वर्ष वा साल भन्ने हुन्छ भने ‘छार’ को अर्थ नयाँ भन्ने हुन्छ। यसैले ल्होछारको अर्थ नयाँ वर्ष वा नयाँ साल भन्ने बुझिन्छ। ल्होछार मनाउने समुदायले यस्ता ‘ल्हो’ अर्थात् वर्ष बाह्रवटा भएको विश्वास गर्छन्।
जस्तै मुसा, गाई, बाघ, खरायो, ड्रागन, सर्प, घोडा, भेंडा, बाँदर, चरा, कुकुर र सुंगुर गरि १२ वटा वर्गमा सोनाम ल्होछारलाई विभाजन गरिएको छ ।
ल्होछारका १२ वटै वर्ष पशुपंक्षीका नामबाट गणना गरिएकाले यसलाई प्रकृतिपूजकका रूपमा समेत लिने गरिन्छ ।
सोनाम ल्होछारमा तामाङ समुदायमा हर्षोल्लास छाउने गर्दछ । आजको दिनमा उक्त समुदायले ठूलो उत्सवको रूपमा मनाउने प्रचलन छ । ल्होछारको अवसरमा भूमिपूजा, कूलपूजा, गोठपूजा एवं अन्य पूजापाठ तथा दानदक्षिणा, ढोगभेट, टिकाटालो र परस्पर सुस्वास्थ्य, दीर्घायुको कामना गर्दै तहअनुसार आर्शीवचन लिने-दिने अनि शुभकामना आदान-प्रदान समेत गर्ने गरिन्छ ।
त्यस अवसरमा विभिन्न खानाका परिकार बनाउने, नाचगान गरी रमाइलो गर्ने परम्परा पनि रहेको छ । पछिल्लो समय महोत्सवको आयोजना गरेर तामाङ जातिको खाना, भेषभुषा, काल, संस्कृति लगायत प्रदर्शन गर्ने प्रचलन समेत छ ।
ल्होछार पर्वहरू प्रारम्भमा जातीय पर्वका रूपमा मात्र सीमित रहेका थिए । तर यी पर्वहरू विस्तारै आम नागरिकका पर्वमा रूपान्तरण भएका छन् । ल्होछार पर्वहरू एकातिर राष्ट्रिय उत्सवका रूपमा विकसित भएक छन् भने अर्कोतिर नेपालीले टेकेको विश्वको कुनै पनि भूभागमा विस्तार भइरहेको छ ।
यसबाट नेपालको संस्कृतिको परिचय र भाइचारा सम्बन्ध समेत बढिरहेको छ भन्दा हुन्छ । यति मात्र होइन यस्ता चाडपर्वले राष्ट्रिय एकता सुदृढ पार्न तथा जातजातिबीच सामाजिक सद्भाव कायम गर्न भूमिका समेत खेलेका छन् ।
वास्तवमा नेपाल राष्ट्रको पहिचान र अमूल्य निधिका रूपमा रहेका मौलिक संस्कृतिहरूको संरक्षण तथा सम्बर्द्धन गर्न राज्यले विशेष पहल भने लिनै पर्दछ ।

प्रकाशित: समय: 15:14:47  345पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार