स्वर्ग भन्दा सुन्दर ‘पिसहिल भुस्मे गाउँ’ (भिडियोसहित)


मायालु लामा,  काठमाडौं । लमजुङ जिल्ला मस्र्याङदी गाउँपालिका वडा नं ८ मा अवस्थित भुस्मे गाउँ पछिल्लो समय स्वदेशी तथा विदेशी पर्यटकहरुको गन्तव्य स्थल बन्न पुगेको छ। गाउँको चिनारीका साथै तामाङ होमस्टे र पिसहिल, शान्ती डाँडाको पर्यटन प्रवद्र्धनको लागि म्युजिक भिडियो निर्माण गरिएको छ । गायिका लक्ष्मि तामाङ र गायक बिशाल तामाङको सुमधुर आवाजमा सजिएको गीतमा राज कुमार बगरको शब्द रचना र संगीत रहेको छ ।

रोशन फ्युवा तामाङको निर्देशनमा बनेको उक्त भिडियो प्राकृतिक रुपले रमणिय गाउँ भुस्मे र शान्ती डाँडामा अवस्थित पिसहिल रिसोर्टमा छायांकन गरिएको थियो। जस्सु गरुङले नृत्य निर्देशन तथा कोरियोग्राफ गरेको भिडियोमा कलाकारहरु एरिन तामाङ, युनिशा परियार, जित तामाङ, संजिता तामाङ, मालती तामाङ, सोनी तामाङ, ममिता तामाङ र छिरिङ तामाङ लगायतको अभिनय देख्न सकिन्छ ।

भौगोलिक रूपले सुन्दर लमजुङका होमस्टेहरू पर्यटकको रोजाइमा पर्ने गरेका छन् । आफ्नै घरमा बुबाआमाको काखमा रमाउँदै बसेजस्तो आफन्तपनसँगै होटेलमा जस्तो सुविधा हुने भएकाले पनि होमस्टेले पर्यटकलाई तानेको देख्न सकिन्छ ।

भुस्मे तामाङ होमस्टे र पिस हिल रिसोर्टले निर्माण गरेको उक्त भिडियोमा भुस्मे गाउँ, शान्ती डाँडा, हिमालका सुन्दर दृश्यहरु हेर्न सकिन्छ । त्यति मात्रै नभएर तामाङहरुको न्यानो स्वागत र मायाले भुस्मे गाउँ जो कोहीलाई आफ्नै गाउँ झै लाग्दछ । तामाङ जातिको मौलिक परम्परा, संस्कृतिको स्वाद चाख्दै आएकाहरूलाई भुस्मेको तामाङ संस्कृतिले पनि उत्तिकै लोभ्याएको छ ।

सदरमुकाम बेशीशहर बाट १५ कि.मी को दुरीमा अवस्थित तामाङ होम्स्टेमा त्यही उत्पादित अर्गानिक खानाको स्वाद लिन सकिन्छ । साथै बस्नको लागि सफा र व्यवस्थित बेडहरु रहेको छ । भुस्मे गाउँ १७ सय मिटर उचाई रहेको तामाङहरुको वस्ती हो । तामाङ संस्कृति, सफा मिलेका परम्परागत शैलीका घरहरु प्राकृतिक मनोरम दृश्य, गुफा ओडार, अलैची बगैचा, अर्गानिक खाना त्यहाँंका विशेषता हुन् ।

 

 

प्रकाशित: समय: 17:25:47  470पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार