
घरि तरबारमा राखेर घरि ढालमा राखेर
कोही तिम्रो हुन सक्दैन बहालमा राखेर।।
अचेल मान्छेहरुले जे पनि बेच्न थालेछन्
हेर्नुस् त ढुङ्गा बेच्दैछन् यहाँ दालमा राखेर।।
चरित्र नउदाङ्गिएको भए, लुक्दै लुक्दै
को हिड्थ्यो? कालो सिसा गाडीको झ्यालमा राखेर।।
कमजोरहरुको शक्ति कस्तो हुन्छ,देखाउँछु
बाघ नै थुन्छ बाख्राले बाघ चालमा राखेर।।
देवताहरुले नै विभेदको थालनी गरे
आफू स्वर्ग र अरुलाई पातालमा राखेर।।
पाप नगर्ने भन्दै मन्दिर गएको मान्छेले
बोकाको टाउको चढाएछ थालमा राखेर।।
कसैको जिन्दगीसँग खेल्नु कति उचित हो ?
ऊ जुवा खेल्छ आफ्नै श्रीमती खालमा राखेर।।