
मकवानपुर । मकवानपुरमा ६९ किलो ५०० ग्राम अबैध लागु औषध गाँजा सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा कैलाश गाउँपालिका वडा नम्बर ५ कटहरे घर भइ हाल हेटौंडा ७ कमाने बस्ने ३४ वर्षीय सिताराम मोक्तान, कैलाश गाउँपालिका वडा नम्बर १ बस्ने ३३ वर्षीय अमर बहादुर गिरी र सोही स्थान बस्ने २६ वर्षीय इन्द्रबहादुर मोक्तान रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक सुरेन्द्र बहादुर गुरुङले जानकारी दिए ।
विशेष सूचनाको आधारमा सोमबार साँझ जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौंडा १ स्थित पालुङ बसपार्कमा ना १ ह ७६३८ नम्बरको अटोलाई चेकजाँच गर्दा तरकारी बोराभित्र लुकाई छिपाई ल्याएको अवस्थामा उक्त अबैध लागु औषध गाँजा सहित प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ परेका उनीहरुलाई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।