साहित्यकार योञ्जनको पहलमा तामाङ पुस्तकालय र संग्रहालय निर्माण गरिने


काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर १६ नागार्जुन चोकमा तामाङ पुस्तकालय तथा संग्रहालय बन्ने भएको छ ।

साहित्यकार तथा समाजसेवी दिलिप योञ्जन तामाङ र उनको सम्पूर्ण परिवारको पहलमा तामाङ समुदायको इतिहास, धर्म, संस्कृति साहित्य संगीत र कलालाई सङ्कलन गरी राख्न नागार्जुन चोकमा कुल–पासाङ तामाङ पुस्तकालय तथा संग्रहालय निर्माण गरिने भएको हो । प्रदेश नं ३ मा तामाङ समुदायको बाहुल्य रहेकाले पनि तामाङ पुस्तकालय तथा संग्रहालय आवश्यक भएको बताउँदै साहित्यकार तामाङले संग्रहालयमा तामाङ संस्कृति, रहनसहन र समुदायको जन्मदेखि मृत्युसम्ममा तामाङ समुदायमा हुने रितिरिवाज परम्परा, संस्कार र धार्मिक महत्व झल्कने विषयवस्तुहरु रहने पनि जानकारी दिनुभयो ।

यस्तै, सबै तामाङहरूलाई आवश्यक्ता अनुसार अध्ययन र अनुसन्धान गर्न सजिलो होस् भन्ने अभिप्रायले तामाङहरूको लेख र अनुसन्धान सङ्कलन गरी अभिलेख राख्ने अभियान सुरू गरिएको साहित्यकार योञ्जन बताउनुहुन्छ । तामाङ समुदाय भित्रको अहिलेसम्म व्यवस्थित अभिलेखीकरण नभएको हुँदा तामाङ जातिको इतिहास, संस्कार, संस्कृति, लगायत सवै कुरा प्रमाणको अभावमा आगामी पुस्ताले बिर्सदै गएकोले तामाङ संग्रहालयको निर्माण थालिएको उहाँको भनाई छ।

राज्यको अभिलेखमा पनि यी जाति बिशेष नभएको हुँदा उक्त कामको सुरूआत गरिएको बताइएको छ । तामाङहरूको साहित्य र खोजमुलक लेख रचनाहरू प्रकाशन गर्ने र आवश्यक बिधामा पुरस्कृत गरी नयाँ पुस्तालाई तामाङ जातिको सम्पूर्ण पक्षको बारेमा थप गहन अध्ययन बिश्लेषण गर्ने उत्प्रेरणाको सोचले पुस्तकालय तथा संग्रहालयको सुरूआत गरिएको छ ।

हरेक वर्ष यस पुस्तकालयले तामाङहरूले गरेका साहित्य, संस्कृति, इतिहास र अन्य कार्यको मूल्याङ्कन गरी हौसला बढाउन पुरस्कारको व्यवस्था गर्ने भएको छ । यस्तै, विश्वभरको तामाङहरूको साहित्य र खोजमुलक लेख रचनाहरू सङ्कलन गरी वार्षिक प्रकाशन गर्नुका साथै यसमा सबै बिधालाई समेटिने भएकाले पुस्तकालय तथा संग्रहालयको वार्षिक मुखपत्र बनिने बताउँदै उहाँले वार्षिक कार्यक्रम गरी सम्मान पुरस्कार र आवश्यकता अनुसारको खोजमुलक कार्यलाई सहयोग गर्ने बिश्वास समेत व्यक्त गर्नुभयो ।

यस पुस्तकालय तथा संग्रहालयको लागि तामाङहरूको पोशाक, बाजा र एैतिहासिक पहिचानसँग सम्बन्धित कुनै पनि कुरा तथा सामानहरू संकलन गरिने भएको छ । तामाङ समुदायको बारेमा भएका पुराना दस्तावेज र तामाङ समुदाय भित्रको लिपीलाई समेत संकलन गरिने साहित्यकार योञ्जनले बताउनुभयो।

उहाँले विश्वभर छरिएर रहनुभएका तामाङहरूको लेख रचना, इतिहास, साहित्य, अडियो भिडियो सीडी क्यासेट र किताबहरू पठार्इ पुस्तकालय निर्माण गर्नको लागि सहयोग गर्न समेत आग्रह गर्नुभएको छ । पुस्तकालय तथा संग्रहालय सबैको पहुँच योग्य हुने भएकाले पनि तामाङ समुदाय भित्रको कला र संस्कृतिलाई आम नागरिकसम्म पुर्याउने लक्ष्य राखिएको छ ।

साहित्यकार योञ्जनले तामाङ समुदाय भित्रका खोजमुलक एवम अनुसन्धान मुलक सामाग्री अन्य प्रकासित सबै किसिमको कृतिहरु पठाउन समेत आग्रह गर्नुभएको छ । आफनै पहलमा र व्यवस्थित ढंगबाट पुस्तकालय सञ्चालन गर्नका लागि आफ्नै व्यवस्थापन तथा खर्चमा सो कार्य गर्न लागिएको बताउँदै उहाँले कला संस्कृति र सम्पदालाई आफ्ना सन्ततिसम्म जोगाएर आम तामाङ समुदायको कलालाई स्वदेश तथा विदेश सम्म पु-याउनको लागि आफूले पुस्तकालय एवम् संग्रहालयका साथै बेव साइट समेत सञ्चालन गरेर प्रविधिको पहुँचमा समेत पुस्तकालय पुर्याउने बताउनुभयो ।

उक्त पुस्तकालयको विधिवत लोकार्पण भने १ फेब्रुअरी  २०२२ का दिन गरिने उहाँले जानकारी दिनुभयो ।

प्रकाशित: समय: 18:21:28  272पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार