जालझेल र षड्यन्त्र आवश्यक छैन,अन्तरपार्टी निर्देशन अक्षरशः पालना गरौंः अष्टलक्ष्मी शाक्य


काठमाडौं । वाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पार्टीबाट जारी १२औँ अन्तरपार्टी निर्देशन (अपानि) अक्षरशः पालना गरेर जानुपर्ने बताएकी छन् ।

बिहीबार पार्टीको काठमाडौं जिल्लास्तरीय भेलालाई सम्बोधन गर्दै मुख्यमन्त्री शाक्यले २०७५ जेठ २ मा रहेको जिम्मेवारीलाई मानेर अघि बढ्नुपर्ने बताएकी हुन् ।

उनले जालझेल र षड्यन्त्र आवश्यक नभएको भन्दै अन्तरपार्टी निर्देशनको अक्षरशः पालना गर्नुपर्ने बताइन् । उनले भनिन्, ‘अपानी १२ जारी भइसकेको छ । मेरो सम्पूर्ण कमरेडहरुलाई, खासगरी नेतृत्वलाई मेरो अनुरोध छ । जारी भएको अन्तरपार्टी निर्देशनको अक्षरशः पालना गरौँ । त्यसमा जालझेल, षड्यन्त्र आवश्यक छैन् ।’

उनले हिजोको पूर्वाग्रह, मनमुटावलाई भुलेर मन फराकिलो बनाउन आवश्यक रहेको बताइन् । उनले पार्टीलाई सुदृढ बनाउन महाधिवेशनमा प्यानल बनाएर जान नहुने पनि बताइन् । नवौं महाधिवेशनमा दुईवटा प्यानल बनाएर लडेको र एउटा जित्दा अर्कोले हारेपछि गुटबन्दी भएको शाक्यको भनाइ थियो ।

उनले भनिन्,‘नवौं महाधिवेशनपछि व्यवस्थित वैचारिक प्रशिक्षण गर्न सकेनौं । जब प्रशिक्षण र वैचारिक छलफलको अभाव भयो, कमिटी अराजकतातिर गयो । विचार शून्य भएपछि हामी गुटबन्दीको शिकार भयौं।’ जनताले झण्डै दुई तिहाईको बहुमत दिएको र केन्द्र, प्रदेश र स्थानीय तहमा पार्टीको बलियो उपस्थिति भएपनि पार्टीले जनमतको सम्मान गर्न नसकेको उनले बताइन् ।

प्रकाशित: समय: 15:38:29  70पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार