भारतीय प्रधानमन्त्रीको पुत्ला जलाउनेलाई कारबाही गर्ने गृहको चेतावनी


काठमाडौं । सरकारले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाउने सत्ता साझेदार माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीका कार्यकर्तामाथि कारबाही चेतावनी दिएको छ ।

गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले आइतवार विज्ञप्ति जारी गरी छिमेकी मित्र राष्ट्रका प्रधानमन्त्रीको प्रतिष्ठामा आँच आउने गरी नाराबाजी गर्ने, जुलुस निकाल्ने र पुत्ला जलाउनेमाथि कारबाही चेतावनी दिएका हुन्।

विज्ञप्तिमा भनिएको छ, ‘विगत केही दिनयता छिमेकी मित्रराष्ट्रका प्रधानमन्त्रीको प्रतिष्ठामा आँच आउने गरी नाराबाजी गर्ने, जुलुस प्रदर्शन गर्ने र पुत्ला दहन गर्न गतिविधिप्रति गृह मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ । यस्ता उछृंखल र निन्दनीय गतिविधिप्रति मन्त्रालय गम्भीर आपत्ति प्रकट गर्दछ।’ सरकारले सबै मित्र राष्ट्रसँग सम्बन्ध प्रगाढ बनाउन चाहेको पनि गृहले जनाएको छ । सरकारले मित्र राष्ट्रहरूसँग उत्पन्न समस्यालाई वार्ता, सम्वाद र कुटनीतिक माध्यमबाट समाधान गरिँदै आएको पनि जिकिर गरेको छ ।

यसअघि गत शुक्रबार माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठनले भारतको विरोधमा प्रदर्शन गरेको थियो। नेपाली नागरिक जयसिंह धामी प्रकरणमा भारतको रवैयालाई लिएर सत्तारुढ दलकै कार्यकर्ता सडकमा निस्किएका थिए ।

प्रकाशित: समय: 17:11:44  69पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार