नेपाल तामाङ शैक्षिक परामर्श संघद्वारा नि:शुल्क स्वास्थ्य शिविर तथा शैक्षिक सामाग्री वितरण


काठमाडौँ । नेपाल तामाङ शैक्षिक परामर्श संघ (ATEC NEPAL)ले मेलम्ची बाढीपीडितलाई नि:शुल्क स्वास्थ्य शिविर तथा शैक्षिक सामाग्री वितरण गरेको छ ।मेलम्ची नगरपालिका-११ का वडा अध्यक्ष रुद्रप्रसाद दुलालको प्रमुख आतिथ्यमा वि.स. २०७८ असार १९ गते शनिबार एक कार्यक्रमको आयोजना गरी संघले नि:शुल्क स्वास्थ्य शिविर तथा शैक्षिक सामाग्री वितरण गरेको हो ।

नेपाल तामाङ शैक्षिक परामर्श संघ (ATEC NEPAL)को विशेष पहलमा प्याब्सन काभ्रे, तामाङ चिकित्सक समाज, म्हेन्दोला फोले तामाङ टेलिभिजन कार्यक्रम र मिस तामाङ विनर्स सोसाइटी अफ नेपालको सहकार्यमा मेलम्ची बाढीपीडितलाई नि:शुल्क स्वास्थ्य शिविर र बाढीपीडित विद्यार्थीहरूलाई शैक्षिक सामाग्री र शिक्षक शिक्षिकाहरूलाई नगदसहित राहत वितरण गरिएको हो । मेलम्ची- ११ स्थित प्रगति इङलिस सेकेन्डरी स्कुलको प्राङ्गणमा भएको उक्त कार्यक्रममा मेलम्चीमा रहेको विभिन्न विद्यालयहरूका बाढीपीडित ३२० जना भन्दाबढी विद्यार्थीहरूलाई शैक्षिक सामाग्री र ७ जना शिक्षक शिक्षिकाहरूलाई नगद राहत वितरण गरिएको थियोे ।

उक्त राहत वितरण कार्यक्रम मेलम्ची नगरपालिका- ११ का वडा अध्यक्ष दुलालसहित स्थानीय विद्यालयका प्रधानाध्यापकहरू तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरूको रोहवरमा सम्पन्न गरिएको थियो ।

नेपाल तामाङ शैक्षिक परामर्श संघ (ATEC NEPAL)को सहकार्यमा तामाङ चिकित्सक समाजद्वारा नि:शुल्क स्वास्थ्य शिविरसमेत गरिएको थियो । उक्त शिविरमा नि:शुल्क स्वास्थ्य जाँच,आईसोलेसन कीट,औषधि, सेनिटाईजार, मास्क वितरण, एन्टीजेन कीट टेस्ट र स्वास्थ्य जागरण कार्यक्रम भएको थियोे । स्वास्थ्य शिविरमा २५० जना भन्दाबढी बालबालिका तथा अभिभावकहरूले स्वास्थ्य सेवाबाट लाभान्वित भएका थिए ।

कार्यक्रममा नेपाल तामाङ शैक्षिक परामर्श संघ (ATEC NEPAL)का अध्यक्ष तथा वरिष्ठ शैक्षिक परामर्शविद केडी मोक्तान, तामाङ चिकित्सक समाजका अध्यक्ष डा. दिलबहादुर थोकर, प्याब्सन काभ्रेका वरिष्ठ उपाध्यक्ष सरोज निरौला, मिस तामाङ विनर्स सोसाइटी अफ नेपालका प्रतिनिधि मिस तामाङ २०२१ का विजेता सफलता थिङ तामाङ र मेलम्ची नपा ११ का वडा अध्यक्ष दुलाल लगायतले आ-आफ्नो मन्तव्य राखेका थिए ।

मन्तव्यको क्रममा नेपाल तामाङ शैक्षिक परामर्श संघ (ATEC NEPAL)का अध्यक्ष मोक्तानले शैक्षिक सामाग्री वितरण तथा स्वास्थ्य शिविर बाढीपीडित मेलम्चीको अवलोकनको क्रममा सानो राहत प्याकेजकोरूपमा रहेको र आगामी दिनमा मेलम्ची-११ लगायत अन्य प्रभावित वडाहरूमा पनि विशेषगरी शिक्षा र स्वास्थ्यमा राहत प्याकेजहरूको व्यवस्था गर्दै जाने बाढीपहिरोबाट अत्यन्तै प्रभावित बालबालिकाहरूको लागि संघले विभिन्न सहयोगी संघसंस्थाहरूसँग सहकार्य र समन्वय गरी दीर्घकालिन छात्रवृत्तिको योजनाहरू ल्याउने जनाएका छन् ।

उनले नेपाल तामाङ शैक्षिक परामर्श संघ (ATEC NEPAL) तामाङ समुदायबाट शैक्षिक परामर्श व्यवसायमा प्रतिनिधित्व गरेका शैक्षिक परामर्श व्यवसायीहरुको छाता संगठन रहेको र यस संघले संघमा आवद्ध सदस्यहरूको हकहित र कल्याणको कार्य गर्नुको साथै सामाजिक उत्तरदायित्व वहन गर्दै जाने र पहिचानको हिसाबले तामाङहरूको संघ भएता पनि मानवीय तथा सामाजिक सेवाको हकमा तामाङ समुदाय लगायत समग्र समुदायमा समानान्तर सहयोगी हात फैलाउदै जाने र जात, धर्म, लिङ्ग, भाषा, वर्ग र भुगोलको आधारमा कुनै पनि प्रकारको विभेदकारी क्रियाकलाप नरहने बताए । उनले स्वास्थ्य शिविर तथा शैक्षिक सामाग्री वितरण अभियानको लागि सहकार्य गरेका सम्पूर्ण संस्थाहरूलाई धन्यवाद ज्ञापन गर्दै यस प्रकारको सहकार्यलाई निरन्तरता दिदै सामाजिक कार्यमा अग्रसर रहिरहने व्यक्त गरे ।

यस अभियानका सहकर्मी र अतिथिहरूलाई संघका अध्यक्ष मोक्तानद्वारा मायाको चिनो प्रदानसमेत गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि दुलाल र अन्य अतिथिहरूमा प्याब्सान सिन्धुपाल्चोकका अध्यक्ष दुर्गा थापा, केन्द्रीय प्याब्सनका सदस्य कर्म वाङगेल लामा, प्याब्सन काभ्रेका वरिष्ठ उपाध्यक्ष सरोज न्यौपाने, मिस तामाङ २०२१का विजेता सफलता थिङ तामाङ, मिस तामाङ २०१८का विजेता सिम्रन स्याङबो, मिस तामाङ २०१९का फस्ट रनर अफ सबिना दोङ तामाङ, मिस तामाङ २०२१ का सकेन्ड रनर अफ सोनिया वाईबा तामाङ, तामाङ फिल्म निर्माता तथा निर्देशक विनय दोङ तामाङ लगायतका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रम प्रगति इङलिस सेकेन्डरीका व्यवस्थापन समितिको अध्यक्ष विजय कृष्ण श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको थियो भने कार्यक्रम सञ्चालन संघका सचिव प्रेमबहादुर लामाले गरेका थिए ।

प्रकाशित: समय: 7:10:05  891पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार