गरिब देशहरूमा खोपको चरम अभाव: डब्ल्यूएचओ


विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले विश्वव्यापी साझेदारी कार्यक्रममार्फत कोभिड–१९ विरुद्धको खोप प्राप्त गरिरहेका ठूलो सङ्ख्याका गरिब देशहरूसँग आफ्नो खोप कार्यक्रमलाई निरन्तरता दिने गरी पर्याप्त मात्रामा खोप नरहेको जनाएको छ ।

डब्ल्यूएचओका वरिष्ठ सल्लाहकार डाक्टर ब्रुस एलवर्डले कोभ्याक्स कार्यक्रममार्फत ९ करोड खोप १ सय ३१ वटा देशमा वितरण भएको बताए । तर उनले विश्वभर फैलिरहेको भाइरसबाट मानिसहरूलाई संरक्षण गर्न उक्त सङ्ख्या अपर्याप्त रहेको बताए ।
सोमवार दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामापोसाले धनी देशहरूले खोपलाई जम्मा गरेर राख्ने प्रवृत्ति अन्त्य हुनुपर्ने बताएका थिए । महादेश स्तरको कुरा गर्दा हालसम्म अफ्रिकामा ४ करोड मानिसहरूलाई मात्र खोप दिइएको छ जुन त्यहाँको जनसङ्ख्याको दुई प्रतिशतभन्दा कम भएको रामापोसाको भनाइ छ ।

यसलाई सम्बोधन गर्न दक्षिण अफ्रिकामा नै थप खोपहरू उत्पादन गर्ने हिसाबमा आफ्नो सरकारले काम गरिरहेको उनले बताए । अघिल्लो वर्ष धनी देशहरूले गरिब देशहरूलाई खोपको मूल्यमा छुट सुनिश्चित गर्ने सहितको प्रतिबद्धता जनाएपछि विश्वभर खोपको पहुँच पुर्याउन कोभ्याक्स अभियान थालिएको थियो ।

डब्ल्यूएचओको नेतृत्वमा अरू सङ्गठनहरू पनि सहभागी रहेको उक्त अभियानले सन् २०२१ भित्र दुई अर्ब मात्रा खोप उपलब्ध गराउने लक्ष्य लिएको थियो । त्यस मध्ये अधिकांश गरिब देशहरूलाई चन्दा दिइने भनिएको थियो र ती देशमा कम्तीमा करिब २० प्रतिशत जनसङ्ख्यालाई खोप उपलब्ध गराउने अपेक्षा कोभ्याक्सको छ । तर खोपको वितरण उत्पादनमा भइरहेका ढिलाइ र आपूर्तिको अवरोधले प्रभावित भइरहेको छ जसले कोभ्याक्समा मात्रै निर्भर देशहरूमा सङ्कट निम्त्याएको छ। युगान्डा, जिम्बाब्वे, बाङ्ग्लादेश र ट्रिनिडाड एण्ड टोबागो हालैका दिनमा खोपको अभाव सामना गर्ने केही देशहरू हुन्।

डब्ल्यूएचओले जिनिभामा गरेको ब्रिफिङ्मा सोमवार डाक्टर एलवर्डले अहिले देखिएको खोपको अभाव गम्भीर रहेको बताए । उनले कोभ्याक्समा ८० न्यून आय भएका देशहरू आबद्ध रहेको जानकारी दिँदै उनले कम्तीमा आधा देशहरू आफ्नो खोप कार्यक्रमलाई निरन्तरता दिने अवस्थामा नरहेको बताए ।

उनले कतिपय देशहरूले अभावसँग जुझ्न बजार मूल्यभन्दा बढीमा खोपको खरिद् जस्ता कठिन विकल्प रोजिरहेको उल्लेख गरे । खोपको आपूर्तिमा असहजता देखिएसँगै कतिपय धनी देशहरूले आफूलाई बढी भएको खोपको मात्रा कोभ्याक्स र अरू माध्यमबाट वितरण गर्ने प्रयास अघि बढाउन थालेको देखिन्छ ।

सोमवार अमेरिकी राष्ट्रपति जो बाइडनको प्रशासनले ५ करोड ५० लाख खोप वितरणको योजनाबारे घोषणा गरेको छ । त्यसमध्ये ४ करोड १० लाख कोभ्याक्स अभियानमार्फत बाँडिनेछ भने बाँकी १ करोड १० लाख सिधै प्राथमिकतामा रहेका देशहरूलाई दिइनेछ ।

यो अमेरिकाले कोभ्याक्सलाई उपलब्ध गराउने भनेर घोषणा गरेको ५० करोड खोपको मात्रा भन्दा अलग्गै किसिमको सहयोग हो । धनी राष्ट्रहरू सम्मिलित जी–सेभेनको सम्मेलनमा बाइडनले अमेरिकाले आधा अर्ब खोपको मात्रा उपलब्ध गराउने बताएका थिए ।

उक्त समूहका देशहरूले कूल मिलाएर गरिब देशहरूलाई यो वर्ष भरिमा १ अर्ब खोपको मात्रा दिने घोषणा गरेका थिए । तर अभियानकर्ताहरूले उक्त प्रतिबद्धतामा कुनै महत्त्वाकांक्षा नझल्किएको र त्यो एकदम सुस्त किसिमले कार्यान्वयन भइरहेको टिप्पणी गरेका थिए । उनीहरूले एक शताब्दी यताकै खराब महामारीसँग जुझ्न विश्व नेताहरू गम्भीर नभएको पनि बताइरहेका छन्।

प्रकाशित: समय: 10:23:11  69पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार