उपप्रधानमन्त्री महतोलाई अभिव्यक्ति फिर्ता लिई माफी माग्न माधव नेपाल पक्षका १८ जनसंगठनको आग्रह


काठमाडौं । नेकपा एमालेको माधवकुमार नेपाल पक्षका १८ जनसंगठनले उपप्रधान तथा सहरी विकासमन्त्री राजेन्द्र महतोलाई संविधानविरोधी अभिव्यक्ति फिर्ता लिई नेपाली जनतासँग माफी माग्न आग्रह गरेका छन् ।

१८ जनसंगठनले शनिबार संयुक्त विज्ञप्ति जारी गरी अभिव्यक्ति फिर्ता लिई माफी माग्न महतोलाई आग्रह गरेका छन् । विज्ञप्तिमा भनिएको छ, ‘महतोको ‘बहुल राष्ट्रिय राज्यको स्थापनाका लागि राष्ट्रिय मुक्ति आन्दोलनको तयारी’ गर्ने अभिव्यक्ति नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता र स्वाभिमानविरुद्धमा छ । यो अभिव्यक्ति हाम्रो संविधानको प्रस्तावना र संविधानको धारा–३ विपरीत छ । संविधानको मर्मविपरीत कुनै पनि काम नगर्ने शपथ खाएर संविधानको कार्यान्वयन गर्ने निकायमा पुगेको जिम्मेवार व्यक्तिबाट यस प्रकारको संविधानविरोधी र अराजक अभिव्यक्ति आउनु असाध्यै विडम्बनापूर्ण छ । तसर्थ, संविधानको मूल मर्मविरुद्धमा आएको यस अभिव्यक्तिको घोर भत्र्सना गर्दै उपप्रधानमन्त्री महतोलाई तत्काल आफ्नो अभिव्यक्ति फिर्ता लिएर नेपाली जनतासँग माफी माग्न आग्रह गर्दछौँ ।’

पछिल्ला घटनाक्रम र गतिविधि हेर्दा महतोको अभिव्यक्ति ‘विविधताबीचको एकता, सहिष्णुता र सद्भाव बिथोलेर राष्ट्र विखण्डन गर्ने’ सचेत तर कुत्सित र दूषित मनसायबाट आएको उनीहरूको ठहर छ । उनीहरुले नेपालको संविधानको प्रस्तावनामा ‘बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषतालाई आत्मसात् गरी विविधताबीचको एकता, सामाजिक सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र सद्भावलाई संरक्षण एवं प्रवद्र्धन’ गर्ने उल्लेखित रहेकोे स्मरण गराएका छन् ।

विज्ञप्तिमा ‘संविधानको धारा–३ मा प्रस्ट भनिएको छ– बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायुक्त, भौगोलिक विविधतामा रहेका समान आकांक्षा र नेपालको राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय हित तथा समृद्धिप्रति आस्थावान् रही एकताको सूत्रमा आबद्ध सबै नेपाली जनता समष्टिमा राष्ट्र हो ।’भनिएको छ ।

उनीहरुले प्रधानमन्त्री यस प्रकारका अभिव्यक्ति आइरहँदा पनि मौन बसेको भन्दै आपत्ति जनाएका छन् । उनीहरुले भनेका छन्, ‘प्रधानमन्त्री यस प्रकारका अभिव्यक्ति आइरहँदा के तपाईंलाई आफ्ना पूर्वमान्यता र अडानहरूले आफैंलाई जिस्क्याइरहेको अनुभूति भएको छैन ? यसप्रति हामी खेद प्रकट गर्न चाहन्छौँ ।’ जनसंगठनहरूले नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता र स्वाभिमान रक्षाको निम्ति सचेत र जागै रहन सम्पूर्ण नेपाली जनसमुदायसँग अपीलसमेत गरेका छन् ।

महतोले शुक्रबार शपथ लिएलगत्तै आफूहरु ‘बहुल राष्ट्रिय राज्यको स्थापनाका लागि राष्ट्रिय मुक्ति आन्दोलनको तयारी’ मा रहेका बताएका थिए महतोले उक्त अभिव्यक्ति शनिबार पनि दोहोर्याएका छन् ।

प्रकाशित: समय: 20:58:59  242पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार