कविता: बंकर


हरियो नीलो विशाल पोखरी बीचको
एक चुच्चे ढुङ्गो जस्तै अडिएको टापूमा,
खोज्दै-खोज्दै -रोजिरोटी
हजारौँ हजार माईल टाढा
वेगमारी उड्दै आएको थिएँ।

दु:खलाई एकैछिन भुलेर
केही खुसीका गीतहरू गाएको थिएँ
सुनको हार झैँ सजाएको थिएँ
हृदयमा केही थान सपनाहरू।

रोबर्ट जस्तै दिनरात घोटिएर
केही उदास क्षणहरू पर पर धकेलेर
रमाएको थिएँ केही पलहरू।

अनायास,
के स्वार्थको लागि र कसको उक्साहटमा हो ?
यहाँको आकाशमा
अपशकुन मिसाइल अनि रकेटहरु
उल्कापिण्ड झैँ ओहोरदोहोर गर्न लागे
र भासिए गगनचुम्बी महलहरुमा
भासिए निर्धाहरुका मुटु कलेजामा
सुन्दर शहरहरु सम्पदाहरु क्षणभरमै
पुरिए काला काला मुस्ला भएर उडेको
धूवाँका विशाल डल्लाहरुमा
परिणत भए खग्रास खण्डहर बगरहरुमा
मच्चिए जताततै कोलाहल आर्तनाद
धुलोपिठो भए हजारौँ निर्धाहरुका जिन्दगी ।

हुन त सबै नागरिकले
फौजी तालिम पाएपछि
जस्तोसुकै हतियार चलाउने ज्ञान भएपछि
एउटा आशक्ति र उन्माद चढ्दोरहेछ
सिंगो देश नै सैनिक ब्यारेक जस्तो बन्दोरेहेछ
र, देश नै ठूलो बंकरमा परिणत हुँदोरहेछ ।

म पनि लाचार भएर
आफ्नो बढेको स्वास पनि दबाउँदै
केही थान सुनौलो सपनालाई जोगाएर
आफ्नो माटोसम्म सगर्व पुर्‍याउन
जोड जोडले धड्किरहेको
त्रासाद मुटु बोकेर
बाँचेको छु बालुवा मुनिको बंकरभित्र।

लाग्छ यो बेला सबैभन्दा बड्दा प्रेम
म यो बंकरलाई गर्छु-
जसरी एउटा नागरिकले देशलाई प्रेम गर्छ

© रचना मोक्तान यात्री

प्रकाशित: समय: 9:34:52  541पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार