कोभिडविरुद्धको खोप अभियान प्रभावकारी बनाउन सरकार प्रयासरतः प्रधानमन्त्री


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार कोभिडविरुद्धको खोप अभियान प्रभावकारी बनाउन लागिपरेको बताएका छन् । सोमबार देशवासीका नाममा सम्बोधन गर्दैै प्रधानमन्त्री ओलीले खोप खरिद प्रक्रियाका लागि चीन, रुस र कोभ्याक्ससँग समन्वय गरिरहेको बताएका हुन् ।

उनले नागरिकको जीवन रक्षा सरकारको पहिलो दायित्व भएको भन्दै त्यसका लागि सरकारको सबै संयन्त्र परिचालन गरेको बताए । उनले निषेधाज्ञामा थप कडाइ गर्न लागिएकोसमेत बताए ।

प्रधानमन्त्रीले २० गते रातिदेखि आन्तरिक र २३ गतेदेखि अन्तर्राष्ट्रिय उडान बन्द गर्ने निर्णय सरकारले गरेको बताए । उनले अन्तर्राष्ट्रिय सीमा नाकाबाट नेपाल प्रवेश गर्ने हरेकको हेल्थ डेस्कमा परीक्षण गरेर मात्र नेपाल प्रवेश गर्न दिएको बताए । प्रधानमन्त्रीले ३० जिल्लामा दुई सय कोरोना संक्रमित रहेका र १५ जिल्लामा ५०० भन्दा बढी कोरोना संक्रमित रहेका बताए ।

उनले प्रदेश केन्द्रित हुने गरी सरकारका मन्त्रीलाई एक एक जनाका दरले फोकल व्यक्ति तोकिएको पनि बताए । प्रधानमन्त्रीले स्थलमार्गबाट विदेशी नागरिकहरुको प्रवेशमा रोक लगाइएको जानकारी दिए । उनले सरकार महामारीबाट जनताले ज्यान गुमाउनु नपरोस्
भन्नेमा लागेको बताए ।

उनले २१ लाखलाई पहिलो डोज खोप लगाइएको र ३ लाख ७० हजारले दोस्रो खोप लगाएका जानकारी दिए । महामारी नियन्त्रणका लागि सरकार हरसम्भव प्रयासरत रहेको र नागरिकलाई पनि सहयोग गर्न आग्रह गरे । प्रधानमन्त्रीले भिडभाडबाट टाढै रहन र अतिआवश्यक परे मात्र बाहिर निस्कन र निस्कँदा मास्क प्रयोग गर्न आग्रह गरे ।

उनले राजनीतिक दलका नेता कार्यकर्तालाई कोभिडविरुद्ध जनचेतना जगाउन र असहायलाई सहयोग गर्न पनि आग्रह गरेका छन् ।

प्रकाशित: समय: 16:47:13  47पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार