केपी ओलीलाई हटाएर आफ्नै नेतृत्वमा केन्द्रीय कमिटी बनाउने माधव नेपालको घोषणा


पोखरा । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी केन्द्रीय कमिटीबाट केपी ओलीलाई हटाएर आफ्नै नेतृत्वमा केन्द्रीय कमिटी बनाउने बताएका छन् ।

बिहीबार पोखरामा आयोजित कास्की जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता नेपालले ओलीलाई हटाएर छिट्टै आफ्नो नेतृत्वमा केन्द्रीय कमिटी घोषणा गर्ने बताएका हुन् । उनले ओलीको कदम केशरजंग रायमाझीको जस्तै रहेको टिप्पणी गरे । ।

उनले अब रायमाझी पथको पतन हुँदै कम्युनिस्ट आन्दोलन अगाडि बढ्नेसमेत बताए । उनले ओलीलाई सुध्रन आग्रह गर्दै भने,‘ओलीलाई बा भनिन्न । सुध्रेर आए कमरेड भनौँला, नत्र श्री केपी ओली भन्छौँ । अपमान भने गर्दैनौँ ।’

यसैबीच नेता नेपालले कास्की जिल्लास्तरीय समानान्तर कमिटी बनाएका छन् । धनराज आचार्यको नेतृत्वमा गठन भएको समितिमार्फत उनले त्यहीँबाट समानान्तर कमिटी गठन अभियान सुरु भएको घोषणा गरेका हुन् ।

समानान्तर कमिटीको सचिवमा होमबहादुर नेपाली तोकिएका छन् । ७५ सदस्यीय जिल्ला कमिटीका बाँकी सदस्यसहित समानान्तर टिम घोषणा गरिएको हो । यसअघि नेपाल पक्षले युवा संघ, महिला संघ र अनेरास्ववियुको पनि समानान्तर कमिटी बनाइसकेको छ ।

प्रकाशित: समय: 15:50:56  85पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार