चौतारा साँगाचोकगढीमा ल्होछार बिशेष कार्यक्रम सम्पन्न


सिन्धुपाल्चोक । सोनाम ल्होछारको बिशेष अवसरमा सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकामा  २८५७ औँ सोनाम (लाङ ल्हो) ल्होछार कार्यक्रम गएको २९ गते सम्पन्न भएको छ । मुलखर्क तामाङ समाज र नेपाल तामाङ घेदुङ चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ९ को संयुक्त आयोजनमा  २८५७ औँ सोनाम (लाङ ल्हो) ल्होछार कार्यक्रम सम्पन्न भएको हो । लामा, झाँक्री र ताम्बा सहित य्रालिबाट सुरु गर्दै कार्यक्रममा परिणत भएको थियो।

नगरको मेयर अमानसिं तामाङको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा विशेष अतिथीका रूपमा वडा नं ९ का अध्यक्ष विष्णु लामा, वडा नं ८ का अध्यक्ष तिर्थ बहादुर श्रेष्ठ , जिल्ला  घेदुङको प्रतिनिधि र चौतारा साङ्चोक गढी नगर घेदुङ उपाध्यक्ष समीर तामाङ लगायत अन्य सदस्यहरू, विभिन्न पार्टी प्रतिनिधिहरु, जनजाति महासंघ तथा जातिय संघसंस्थाका प्रतिनिधिहरु, स्थानीय संघसंस्थाका प्रतिनिधिहरु, विद्यालयका प्र.अ.हरुको उपस्थिति रहेको थियो। लोप हुन लागेका तामाङ कला, संस्कृति र रिमठिमको जगेर्ना गर्ने दायित्व हामी सबैको हो, यस्तै तामाङ संस्कृति र पहिचान झल्किने कार्यक्रमहरु भइ राखेमा तामाङ संस्कृतिलाई जोगाउन सकिने उपस्थित अतिथिहरुले मन्तव्यका क्रममा बताएका थिए।

राष्ट्रिय गानको धुनसंगै जातिय अधिकारमा लड्दा सहादत प्राप्त सहिद र राष्ट्रका लागि ज्यानको आहुति दिएका वीर सहिदहरुप्रति मौन धारण गरी श्रद्धान्जली समेत अर्पण गरिएको थियो। लामा गुरुहरुले साङ सेर्गेम गरी ग्रह शान्ति गरिसकेपछी घोइलोमा सजिएका लामा ,झाँक्रीहरुले नाच प्रदर्शन गरेका थिए भने तामाङ चलचित्रका नायक बिजय थोकर, गायक प्रकाश तामाङ, गायिका सुमिना लो, प्रकृति थिङ साथमा नव गायिका चाँदनी थिङ र स्थानीय गायक भिम बैरागी स्याङ्तान बेजोड प्रस्तुति रहेको थियो । कार्यक्रम संचालन सुनिल तामाङले गरेका थिए।






प्रकाशित: समय: 22:44:15  315पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार