कविता ‘दलदल’ – बलराम तिमल्सिना


हामी दल दलमा छौं
हामी दलदलममा छौं
जो दलमा छौं
ती पनि दलदलमा छौं
जो दलबाहिर छौं
ती पनि दलदलमा छौं !

लाग्छ-
देशै एउटा ठूलो दलदल हो
दलहरू दलदल हुन
राजनीति दलदल हो
हामीले
अग्रगमन भनेर निकालेको जुलुस
कुन दलदलमा पुगेर फस्ने हो ?
निदाउनुअघि पनि यही चिन्ता लागिहन्छ !

कोही दक्षिणको दलदलमा
कोही उत्तरको दलदलमा
कोही पश्चिमको दलदलमा
कोही निराशाको
कोही दिशाहीनताको
कोही अकर्मण्यताको
कोही स्वनिर्मित अलगावको
हामी थरी थरीका दलदलमा छौं !

जो सोचिरहेछौं-
हामी दलदलभन्दा बाहिर छौं
ती पनि दलदलमा छौं !

दलदलको वारेमा
कविता लेखिरहेको कवि
ऊ स्वयम दलदलमा छ !

यो दलदलबाट मुक्ति पाउन
चाहिएको छ
मन्जुश्रीको नयाँ तरवार
जसले पुन: काटोस चोभारको घाँटी
र यो देशलाई दलदलबाट जोगाओस !

प्रकाशित: समय: 8:38:09  1183पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार