कट्टरपन्थतिरका कदम रोकौं


डा. गोविन्दशरण उपाध्याय ।
नेपाल सरकारले मुस्लिम सरोकारका लागि मुस्लिम आयोग गठन गरेको छ । केही दिन अगाडि मलाई संस्थागत रूपमा मुस्लिम आयोगद्वारा आयोजित “दाता”हरूको कार्यक्रममा भाग लिने मौका मिल्यो । मुस्लिम आयोगका अध्यक्षले निम्त्याएको यो कार्यक्रममा मुस्लिम समाजको प्रतिनिधित्व गरेका केही “मौलवी”हरूको उपस्थिति थियो भने त्यही मुस्लिम संस्थाहरूमा अहमादिया संघ नेपालका प्रतिनिधि पनि पुगेको देखियो । उनीहरू परिचय दिएर के मेचमा वसेका थिए मुस्लिम आयोगका अध्यक्ष आफैंले ती प्रतिनिधिहरूलाई हलबाट बाहिर बोलाएर “वैठकमा भाग लिनबाट रोके”को बुझियो । मैले यी सबै कुरा पछि थाहा पाएँ । मुस्लिम आयोग जनताले तिरेको करबाट संचालित हुने संस्था हो । मुस्लिम आयोगले खुवाएको एक कप चियामा पनि हिन्दू, बौद्ध, इसाई, मुस्लिम तथा नास्तिक नेपाली नागरिकहरूको पैसा पर्छ ।

बैठकमा आमन्त्रित गरेको जुनसुकै धर्म मान्ने प्रतिनिधिलाई बैठकबाट वाहिर निकाल्नु भनेको नेपाली जनताको अपमान गर्नु हो । अहमादिया मुस्लिम संघ नेपाल सरकारको संस्था दर्ता ऐन २०३४ अनुसार रितिपुर्वक दर्ता भएको “मुस्लिम धर्म मान्ने नेपाली नागरिकहरूको” गैरसरकारी संस्था हो । अन्य मुस्लिम संघसंस्थासरह नेपाल सरकारले यस संस्था र संस्थासँग जोडिएका सदस्यहरूलाई सम्पूर्ण नागरिक अधिकारहरूको प्रत्याभूति गर्छ । मुस्लिम आयोगले निम्तो दिएर बैठकमा बोलाउने तर बैठकमा सहभागिता गर्न नदिएर कानूनी राज्यको उपहास गरेको छ ।
असलमा, परम्परागत सिया, सुन्नी, बरेलवी, देववंदी, अलहदिसजस्ता मुस्लिम सम्प्रदायहरूले भारतीय पञ्जावको कादियानका मिर्जा गुलाम अहमदले सन् १८९० मा स्थापित गरेको “अहमदिया–मुस्लिम सम्प्रदाय”को (जुन अनेकौ पन्थमा विभाजित मुस्लिम सम्प्रदायहरू मध्ये सबैभन्दा कान्छो हो) अस्तित्वलाई स्वीकार गर्दैनन् ।

नेपालमा सिया, सुन्नी र देववन्दी सम्प्रदायका मुस्लिमहरूको जनसंख्या बढी छ र यी सम्प्रदायहरूले अहमदीहरूलाई मुस्लिम मान्दैनन् । यी सबैका दृष्टिकोणमा गुलाम अहमदले स्थापित गरेको “अहमदी पन्थ” मुस्लिम नै होइन । भारतको कादियान, पाकिस्तानको रब्बा र इंग्ल्यान्डको लन्डनमा मुख्यालय रहेको “अहमदिया” मुस्लिमहरूसंग शत्रुतापूर्ण व्यबहार गर्छन् ।

नेपालमा पनि अहमदिया मुस्लिमहरूको सानो समुदाय छ । यो समुदायले आफ्ना गुरूको (वर्तमान पाँचौं खलिफा मंसुर अहमद) सहयोगले नेपालमा अनेकौं सामाजिक कार्यहरू संचालन गरिरहेका छन् । अन्य मुस्लिमहरूका तुलनामा अन्य धर्म र धार्मिकता प्रति उदार विचार राख्ने र पैगम्वर मोहम्मदको आदेशलाई सर्वोपरी मान्दै कुरानको पाठ गर्ने, नमाज पढ्ने यो सानो समुदायप्रति अन्य कट्टरपन्थी मुस्लिमहरूले निकै शत्रुतापूर्ण व्यबहार गरेको पाइन्छ । दुर्भाग्यवस अन्य देशहरूको तुलनामा धार्मिक सद्भाव रहेको नेपालमा कट्टरपन्थी मुस्लिमहरूले सबैभन्दा कान्छो अहमदी सम्प्रदाय विरुद्ध शत्रुतापूर्ण व्यबहार प्रस्तुत गर्न थालेका छन् । जनताको राजस्वबाट चल्ने मुस्लिम आयोगले यस्तो शत्रुतापूर्ण व्यबहारलाई सघाउने किसिमको व्यबहार गर्नु निन्दनीय कुरा हो ।

मिर्जा गुलाम अहमद भारतीय थिए । १९४७ मा पाकिस्तान निर्माण हुँदा अहमदी समुदायले पाकिस्तान रोजेको भए पनि तानाशाह जिन्नाले यो समुदायलाई देखि सहेनन् र कानुन नै बनाएर “अहमदी मुस्लिम होइनन्, जसले अहमदी भन्दै कुरान पाठ गर्छ, नमाज पढ्छ, रोजा (एक महिना चल्ने मुस्लिमहरूको उपवास) राख्छ र जसले कदियानी अर्थात् गुलाम अहमदलाई आफ्नो गुरू मान्छ, तिनले ३ बर्षको कैदसजाय हुने छ” भन्ने व्यवस्था गरेपछि त्यहाँबाट अहमदी सम्प्रदायका प्रमुख धर्मगुरू इंग्ल्यान्डमा शरणार्थी बने । आजका मितिमा पाकिस्तानमा अन्य धर्मावलम्बी सहित अहमदी मुसलमानको हत्या गर्ने कामलाई “पाक” अर्थात् असल काम ठानिन्छ । हिन्दू, इसाई र बौद्धहरूझैं यो समुदाय पनि कट्टरपन्थी मुसलमानहरूको आक्रमणमा परेर मारिन्छन् । नेपालमा पनि सोही किसिमको कट्टरता फैलाएर अहमदी विरुद्ध घृणा फैलाउने प्रयत्न गरिंदै छ ।

नेपालको संबिधानले हरेल नेपाली नागरिकलाई स्वधर्म पालनको स्वतन्त्रता दिएको छ । धर्मपरिवर्तन गराउन रोक लगाएको छ । आफ्नो धर्म–संस्कृति पालन गर्ने अधिकारमा कसैले हस्तक्षेप गर्न मिल्दैन । मैले केही कट्टरपन्थी मुस्लिमहरुले सङ्गठित रूपमा अहमदीहरूको मस्जिदमा जाने (कट्टरपन्थीहरुले अहमदीहरूले आफ्नो पूजास्थललाई मस्जिद भन्न मिल्दैन भन्दै मन्दिर भनेको विवरण मसंग सुरक्षित छ), तिनका गतिविधिहरूको चियोचर्चो गर्ने, निजहरू विरुद्ध सामाजिक संचारमा वक्तव्य निकाल्ने, निजहरू विरुद्ध मुस्लिम होइनन् भन्दै सरकारी निकायहरूमा उजुरी हाल्ने र सर्वसाधारण मुस्लिमहरूका बीचमा “कादियानी नक्कली मुसलमान हुन्” भनेर घृणा फैलाउने काम गरिरहेका तत्थ्यहरू सामाजिक संजालमा भेटिन्छन् ।

कादियानी मुस्लिम हुन् कि हिन्दू ? यो कुराको निर्धारण गर्ने अधिकार स्वयं अभ्यासकर्ता वाहेक अरू कसैलाई हुँदैन । यदि कसैले व्यक्तिगतरुपमा आफैंलाई र आफ्नो समाजलाई मुस्लिम वा हिन्दू भनिरहेको छ भने त्यो उसको निजी अधिकार हो । कुनै अन्य व्यक्ति वा समाजले अथवा कुनै कट्टरपन्थीले कोकोहलो गर्दैमा नेपाली संविधानले दिएको “उपासनामा निजी अधिकार” कुण्ठित हुँदैन । यदि कसैले यस्तो अधिकारमा प्रहार गर्ने प्रयत्न गर्छ भने राज्यले निजउपर न्यायिक प्रक्रिया आरम्भ गर्न सक्छ । यदि अहमदियाहरूले गुलाम अहमदलाई आफ्नो मेहंदी मान्छन्, इस्लामका मान्यताहरु पुनःस्थापित गर्न आएको भनि विश्वास गर्छन् । त्यसलाई चुनौती बौद्धिक रूपमा दिन सकिन्छ तर सम्बन्धित व्यक्ति वा समुदायको उपासना गृह तथा घरघर चहारेर रेकी गर्नु अपराधी मानसिकता हो ।

नेपाल सरकारले रेकी गर्ने व्यक्तिउपर समय मै प्रतिवन्ध लगाउनु पर्छ । वि.स. २०६३ राजनैतिक परिवर्तनपछि नेपालमा मुस्लिम कट्टरपन्थीहरूले आफ्ना गतिविधिहरू भारतीय, पाकिस्तानी र साउदी कट्टरपन्थीहरूको आर्थिक सहयोगमा संचालन भैरहेको खुलासा सुरक्षा निकायका रिपोर्टले प्रमाणित गरेका छन् । घण्टाघर नजिक रहेको जामा–मस्जिदको नाममा निकालिएको विज्ञप्तिमा “कदियानीहरू मुस्लिम होइनन् भन्दै जनतासंग निजहरूको वहिस्कार गर्न आह्वान गरिएको छ ।” एउटा धार्मिक संस्थाले संस्थागत रूपमा आफूभन्दा भिन्न विचार संस्था विरुद्ध विज्ञप्ति निकाल्नु गलत हो । यस्तो विज्ञप्तिले पाकिस्तानी कट्टरपन्थी चिन्तनलाई प्रश्रय दिन्छ । यस्ता विज्ञप्तिहरूले नेपालमा रहेका अहमदीहरू विरुद्ध भौतिक आक्रमण गर्न (पाकिस्तानमा हिन्दू, बौद्ध, इसाई र अहमदी विरुद्ध एस्तै विज्ञप्तिहरू निकालेर कट्टरपन्थीहरूले आक्रमण गर्न प्रेरित गर्छन्) प्रेरणा मिल्छ ।

धर्मनिरपेक्षताको अभ्यास गरिरहेको नेपालका लागि अल्पसङ्ख्यामा रहेका अहमदीहरूको धार्मिक अधिकारको संरक्षण गर्नु पनि दायित्व भित्र नै पर्छ । विश्वलाई थाहा छ अन्य धर्मका तुलनामा मुस्लिमहरू बढी नै कट्टर छन् । नेपालजस्तो बहुधर्म तथा संस्कृति भएको देशमा कट्टरपन्थी कदम समय नै रोक्नुपर्छ भने अन्य धर्महरूसंग सअस्तित्वमा रहनरबस्न सक्ने अहमदी मुस्लिमजस्ता समुदायहरूलाई प्रोत्साहित गर्नुपर्छ । आजका मितिसम्म अन्य मुस्लिमहरूका तुलनामा अहमदी उदारवादी चिन्तन उपयुक्त देखिन्छ ।

नेपालका रैथाने मुस्लिमहरू पाकिस्तान, साउदी वा अन्य मुस्लिमहरूका तुलनामा धेरै उदार र सहकार्यवादी मानिन्छन् । यो उदारता विश्वका लागि उदारहणीय बन्न सक्छ । सहअस्तित्वको लागि प्रेरक बन्न सक्छ । केही कट्टरपन्थीहरूका लागि नेपालीहरूले आफ्नो मौलिकता अर्थात् सहृदयता र सहकार्यको संस्कृति त्याग्न हुँदैन । विषालु सर्पको फणा कुल्चिनुपर्छ, मुल्ह उठाउन दिनुहुँदैन । आफ्नो धर्म÷संस्कृति मान्ने अधिकार सबैलाई छ तर अर्काको आस्थामा प्रहार गर्ने अधिकार कसैलाई छैन । केही कट्टरपन्थी मुस्लिमहरूले साउदी र पाकिस्थानी मोडेलको इस्लाम नेपाली मुसलमानहरूमा पस्किरहेका छन्, तिनका कदमहरूमा राज्यस्तरबाट नै हस्तक्षेप आवश्यक परिसकेको छ ्र कट्टरपन्थीहरूको बर्चश्व पढ्दै गएपछि पछुतो मात्र रहने छ ।

प्रकाशित: समय: 10:41:27  1281पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार