सम्झनामा हेड सर


जानुका धमला

पराइको देशमा आप्रवासी भएर जीवन यापन गरिरहदा पनि बिगतको त्यो त्याग समपर्णको सुन्दर सपनाहरुले हिर्काउन भने कहिल्यै छोडेन मष्तिकमा । कामको समय त्यो सुन्दर यादहरुसँग सोच्न रमाउने फुर्सद नै मिल्दैन । मेसिनले जसरी काम गर्नु पर्ने यो परदेशको पनि आफनै नियमहरु छन् । भोगेका हरेक पीडाहरु सुन्दर हुनै पर्छ भन्ने छैन र सुख भनिएका सबै खुशीहरुले आनन्दता वा सुन्दरता प्रदान गर्छन् भन्ने पनि नहुँदो रहेछ ।

वर्गीय मुक्तिको खातिर देखिएको जल्जलायमान सपनामा मैले पनि अरु सह योद्धाहरुले जस्तै जीवनमा धेरै असल राम्रा मान्छेहरुको संगत असल मानिसले जहिल्यै अरुलाई पनि असल र सत्मार्ग प्रशस्त गरेका हुन्छन् । म बारबार लेख्ने गर्छु जो सत्कर्म गरेर संसारबाट भौतिक रुपमा विदा भएका छन् उनीहरुले दिएको असल शिक्षाको कारण युगौ युगसम्म पनि असल गुरु चेलाहरुको मन मष्तिकमा सधैं बाँचिरहेकै हुन्छन् । तेस्तै मेरो यो पटकको मानस पटलमा बस्ने मेरो आदरणीय गुरु मेरो सैन्य जीवनको राजनैतिक कमिसार कमाण्डर हुनुहुन्छ । मैले अध्यापन गरेको क्रान्तिकारी विश्व बिद्यालयको हेडसर कुष्ण प्रसाद दहाल क.कृपाश्वर ।

आम्दानीको कुनै स्रोत र खाने, सुत्ने, बस्ने ठेगान नहुँदा पनि आफ्नो क्रान्तिकारी कार्यकर्ताहरुको बिचमा रही पार्टी नै मैरो लागि सबथोक हो भनी त्यसमा समर्पित र क्रियाशील भइ आफूलाई अनि आफ्नो जीवनको बाँकी भागलाई पनि क्रान्तिको सपनामा बाँचेर हिँडिराख्नु भएको क कृपाश्वर साँच्चिकै लडाकु संघर्षशील, क्रान्तिकारी, लेखक, कुशल संगठक र असल शिक्षक र गौरबशाली इतिहास कायम गर्ने जनमुक्ति सेना नेपालको राजनैतिक कमिसार असल नेता हुनहुन्थ्यो । उहाँले पूर्वी नेपालमा माओवादी आन्दोलन र जनमुक्ति सेनाको फर्मेशनमा महत्वपूर्ण योजगदान पुर्याउनु भएको छ ।

जीवनको यो बिन्दु जहाँ आँशु हर्षका मनोभावहरुले पुल्लित छ । विगतमा भएको माओवादी आन्दोलनले साच्चै लालगद्दार लालदासहरु पनि जन्मायो । आज तपाईको सम्झनामा अक्षरहरु कोरिदै गर्दा लाग्छ साच्चै तपाई जीवित रहनु भएको भए कसलाई पो नेता मान्नुहुन्थ्यो होला ? तपाईको अभाब हामीलाई पलपल महशुस हुँदोरहेछ । कति सरल बिनम्र थियो तपाईको जीबनशैली । अकुतमा बाँचेका आफूलाई क्रान्तिकारी भन्न मनपराउनेहरुले तपाईको जीवनबाट कहिल्यै पनि सिक्ने इच्छा नै राखेनन्।

माली गा.वि स. हालको जिरी नगरपालिका अन्तर्गत यलुङ नि.मा.बि.को प्रधान अध्यापक एउटा शिक्षक देशलाई अग्रगमन दिनको लागि गाउँ समाजको जिम्मेवारी त छदै थियो देश र दुनियाँ बदल्ने सपना सहित अखिल नेपाल शिक्षक संगठनमा पनि आबद्ध हुनुहुन्थ्यो । संसार बदल्ने सपना देख्ने मान्छेको लागि साँच्चै ब्यक्तिगत सपनाहरु नै हुदैनन् । संसार बदल्ने सपनाले सताए पछि उहाँले पनि आफूले अध्यापन गराउदै आउनु भएको सम्मानित शिक्षक पेशालाई समेत राजीनामा दिएर वर्गीय मुक्ति आन्दोलनमा वि.स. २०५४ सालमा पूर्णकालिन हुनुभयो ।
परिवर्तनकारीहरु ठाउँ र भुगोल विशेषमा मात्रै सिमित रहदैनन् । तेही जिम्मेवारीलाई बहन गर्ने क्रममा उहाँ सोलु ओखलढुंगाको जिल्ला समिती सचिवालय सदस्य एरिया सेक्रेटरी हुनभयो । उहाँले कयौ युद्धमोर्चाहरु आफैले कमाण्डमा सम्हाल्नु भएको छ । वि.स. २०५७ सालमा मंसिर १५ गते भएको मैलुङ मोर्चामा उहाँकै कमाण्डमा राष्ट्रिय बाणिज्य बैंक कब्जा भएको थियो । वि.स. २०५९ साल चैत १९ गते दोलखाको मैना पोखरी मोर्चामा सहभागी हुनुहुन्थ्यो । वि.स. २०५८ सालमा भएको जनसरकार घोषणा सभामा जनसरकार सदस्य समेत हुनुहुन्थ्यो ।

जब जनमुक्ति सेनालाई ७ वटा मुख्य शिविर र २८ वटा सहायक शिविरमा थन्काइयो त्यो भन्दा पछि जनमुक्ति सेनालाई राजनैतिक कमिसारको आवश्यकता रहेन क्यारे केही कमाण्डर सहित जसले जनयुद्धको बेलामा राजनैतिक प्रशिक्षण दिएर जनमुक्ति सेनालाई लाल र निपूर्ण बनायो क्यान्ट्रोमेन्ट बसाई पछि वाइसियल गठन गर्ने र संगठनसंग जोडेर उत्पादन ब्रिगेड स्थापन गर्न उदेश्यले सम्बन्धीत जिल्लाहरुमा पठाउने काम भयो । अर्काे महत्वपूर्ण जिम्मेवारी लिएर सांगठनीक क्षेत्रमा जानु भए पछि तपाईसंग फेरी भेटने अवसर मिलेन । आजको परिवेश नियाल्छु यदी तपाई मात्रै पनि जिवित रहनु भएको भए विगतको इतिहास सम्झेर असल अभिभावकको अगाडी मनभरीको बेदनाहरु पोख्ने थिए असल र कुशल नेतृत्वको अभावमा तितरवितर भएको जनमुक्ति सेनालाई तपाईले पो एकताबद्ध गर्नु हुन्थ्यो की आसाको सुनाखरीले अझै पनि मीठो सुवास छरेको आभाष हुन्छ । तपाईहरुको भौतिक शरिर बलिदानले सिर्जन भएको गणतन्त्रमा मन फुकाएर रुन सक्ने अवस्था समेत छैन । चिच्चहाट, कोलाहाल र अशान्तीको भयको त्रासदी छाएको छ ।

यातनाका हरेक दस्तावेजहरुमा हस्ताक्षर गर्न सक्ने क्रान्तिकारी महान योद्धा तपाई जीवनमा मैलाउदै गएको भयानक रोगसंग भने पटक्कै लडन सक्नु भएन । तपाईको ठाउँमा अहिलेका नवधनाद्ययहरु भएको भए तपाई त्यो अवस्थामा पक्कै पनि बाँच्न सफल हुनुहुन्थ्यो तर तपाईलाई त्यो अकुतको मोह पनि थिएन । नेपालमा पनि तपाईलाई सताएको रोगको उपचार सम्भब थियो जुन अवस्थामा तपाईले उपचारको ब्यवस्था पाउनु भयो त्यो बेला अबेला भैसकेको थियो उपचार । आफूलाई बडेमानको क्रान्तिकारी पाटीले बेलैमा तपाईको उपचारमा ध्यान दिएको भए अवश्य तपाईले जित्नु हुन्थ्यो रोगसंग । जीवनभर क्रान्तिकारी बनेको एउटा इमान्दार क्रान्तिकारी सिपाही पैसाको अभावमा उपचार नपाएर जीवनलाई बिसर्जन गर्नु पर्यो यो भन्दा बिडम्बना के होला परिवर्तनकारी योद्धाको जीबनमा

शान्ति प्रकिया पछि सबै इमान्दार कार्यकताको यही नै थियो आर्थिक अवस्था त्यही आर्थिक जजरतामा तपाई पनि पर्नु भयो अन्तमा गरिएको उपचारले निको हुने सम्भब कम भयो । वि.स. २०६६ साल पुष २७ गते तपाईले नेपाली समाज देश दुनियाँ सर्वहारा वर्गको लागि दिनु भएको महत्वपूर्ण योगदानलाई बिसाएर सदाको लागि यो स्वाथी दुनियाँबाट हराउनु भयो । दोष रहित तपाईको सम्मानजनक अन्त्येष्टिले मैले एउटा कुशल हेड सर गुमाए सर्वहारा वर्गले एउटा इमान्दार नेता गुमायो ।

उहाँ सर्वसाधारण जनमानसका सामु जति सिधासादा र सरल हुनुहुन्थ्यो, त्यति नै आफ्ना विपक्षी र दुश्मनहरुका सामु कठोर हुुनुहुन्थ्यो अझै पनि बेजेडका यादहरु मानस पटलमा दगुरीरहेका छन् त्यो बर्गदुश्मनसंगको लडाईमा सर्लाहीको मोथे तोरीबारी नारायण खोलाको वि.स. २०६१ पुष १५ गते अम्लेखगन्ज फायरिङ एम्वुस नम्बर ३ बारा, वि.स. २०६० चैत २२ गते यदुकुवा इलाका प्रहरी कार्यालयमा आक्रमण, वि.स. २०६१ बैशाख २५ मैना पोखरी लगायतका भिडन्तहरु महत्वपूर्ण भिडन्त र मोर्चाबद्ध लडाईमा तपाईले पूर्वी कमाण्ड अन्तर्गत बेथान स्मृति व्रिगेड र जनमुक्ति सेनाको सैन्य फर्मेशन तेस्रो डिभिजन अन्तर्गत भएको सम्पूर्ण मोर्चाहरुमा कमिसारको भूमिकामा भए पनि अन्तत कमाण्डले गर्ने सम्पूर्ण जिम्मेवारी सम्हाल्नु भएको थियो । तपाईले सम्हाल्नु भएको हरेक फौजी कारवाहीमा समाहित एक सिपाहीले यो कुरा निर्धक्क साथ भन्न सक्छु ।

वि.स. २०६१ पुस १५, अमलेखगञ्ज फायरिङ एम्बुस ३ नं पूल, बारा चौतार, बन्दीपुर लगायत मोर्चामा तपाईले लिनु भएको पहल कदमी बाँच्न सफल सयौ कार्यकताले अहिले पनि तपाईलाई विर्सेका छैनन् त्यही भएर त देशका सम्पूर्ण भागका क्रान्तिकारी, न्यायप्रेमी जनताले तपाईको नाममा श्रद्धा सुमन अपर्ण गर्छन् । तपाईको भौतिक शरीर बिलिन भएको यति लामो समय वितिसक्दा पनि उहाँप्रति भावपूर्ण क्रान्तिकारी श्रद्धाञ्जली अर्पण गर्दैछन्, उहाँप्रति अत्याधिक माया, स्नेह, श्रद्धा राख्छन् र भावपूर्ण श्रद्धाञ्जलीहरु अर्पण गर्दै आइरहेका छन् ।

मैले उहाँसंगको सहकार्य र चिनारीबाट बुझ्न पाएको हृदयस्पर्शी कुरा के थियो भने हामी जहिले पनि राज्यसत्ता र प्रतिक्रियावादीहरुको षड्यन्त्रमा परी आफ्नो ज्यान गुमाउन नपर्ला भन्ने स्थिति कसैले नसोचे पनि हुन्छ । हामी राजनीतिमा पर्सिएका व्यक्ति हौँ , आज हामी सबै सँगसँगै छौं, उठबस, खानपिन, गम्भीर छलफल, मनोरञ्जन गरिराखेका छौं हुन सक्दछ हामीमध्ये कोही पनि कहिले पनि स्वाभाविक मृत्यु दुर्घटना र हत्याको शिकार हुन सक्दछौँ मृत्यु सामान्य मान्छेका लागि अशुभ संकेत हो तर हाम्रो मृत्य भनेको तपाईं हामी राजनीतिक कार्यकर्ताहरुको लागि क्रान्तिको आगो बाल्ने एउटा सुकेको सलाइएको काँटी हो क्रान्तिकारी पाटीको बौद्धिक राजनैतिक कमिसारमा हुनुपर्ने उर्जा र बौद्धिकत्व थियो उहाँमा । यस्तो कुराहरु उहाँले जनमुक्ति सेनाको रोलकलको बेलामा भन्नु हुन्थ्यो । अलि जिज्ञासु थिए एक पटक सर्लाहीको नारायणी खोलामा सेल्टर लिएर बसिरहेको घरमा सामुहिक छलफल सोधे उहाँसंग क्रान्ति किन आवश्यक छ अहिलेको अवस्थामा ? त्यो शब्दहरु याद छन् अहिले पनि आफ्नो स्वतन्त्रता र स्वाभिमानको लागि चीन, भारत, कोरिया, भियतनाम, अमेरिका, टर्की, फ्रान्स, मिश्रका असंख्य जनता र क्रान्तिकारीहरुले लडेको, ठूल्ठूलो आहुती प्राप्त गरेको, त्याग र बलिदानको उच्चतम उदाहरणहरु प्रस्तुत गर्नु भएको थियो उच्च बौद्धिकत्व थियो उहाँमा । जटिल परिस्थितिलाई पनि आफू अनुकुल बनाएर सधैं जनमुक्ति सेनाको मनोबल उच्च राख्नेमा र उनीहरुको देखभालमा नै निकै समय बेतित भएका छन् तपाईको ।

क.कुपाश्वरले यो कुरा जब जनमुक्ति सेनाको फर्मेशनमा कमिसारका भूमिका निर्वाह गर्दे जाँदा पहिलोपल्टको परिचय भइ उठबस हुँदा क्रान्तिकारीहरु कसरी के गरी वामपन्थी राजनीतितिर आकर्षित हुन्छन् र स्थापित हुन पुग्छन् भनी कुरा चल्दा उहाँले सुरुमा नकल्ली हामी सबैले विश्वमा भएका ठूला ठूला क्रान्तिहरुलाई आफनो देशको सापेक्षतामा अनुसार सिक्न हो नक्कलै गरेर सिकेका हुन्छन् . जुनसकै क्षेत्र पनि प्रारम्भिक अवस्थामा नक्कलै सेम्बोलिक हुन्छ पछि जबजब उनीहरुको अध्ययन र अनुभव तिखारिदै जान्छ, बुझ्दै, सिक्दै, ठक्कर खाँदै जान्छन् परिपक्व हुन पुग्छन् नेपालको जनयुद्ध पनि संझौतामा पुगेर टुंगियो ।

क.कृपाश्वर पत्नी, चित्रमाया दहाल छोरा, छोरीहरु छोडेर जनयुद्धमा लाग्नु भएको थियो । उहाँको जेठो छोरा दिपक दहाल क.विश्वासले आफनो जिम्मेवारी बहन गर्दे गर्दा युद्धकै क्रममा चितवनको दारेचोक भिडन्तमा सहादत प्राप्त गर्नु भयो कमरेड कृपाश्वरबाट मैले सिकेको कुरा र उहाँ सँगको सहकार्यको समयको विभिन्न बेलाको सद्भावबाट मैले पाएको प्रेरणा भनेको के हो भने क्रान्तिप्रति अगाध आस्था र विश्वास राखी त्यसमा निरन्तररुपमा आफूलाई परिचालन गरिराख्नु हो ।

क.कुपाश्वर क्रान्तिकारी राजनीतिमा आफूलाई होमेर कहिल्यै पनि आफूलाई न त अपराधीको रुपमा प्रस्तुत गर्नुभयो, न त कुनै प्रकारको अपराध नै गरेको अनुभुती । मृत्यु शैयामा बसेको बेलामा समेत अर्थचेत अवस्थमा उहाँले बरवराउदै भन्नु भएको थियो नेतागणहरु हाम्रो क्रान्ति सकिएको छैन देश र जनतालाई कहिल्यै धोका नदिनुहोला यही अन्तिम बाणी थियो उहाँको खै यो अवस्थालाई नियाल्दा धोका भयो या गद्दारी ? तपाईको विद्यार्थी भएको नाताले पनि यो भन्छु हिजोको बलिदान र उपलब्धी माथी उपहास गद्दारी भयो । उहाँको जीवनकार्य भनेको जनता र पार्टीप्रति समर्पित जीवनै थियो । १२ औं स्मृति दिवसको अवसरमा कृष्ण प्रसाद दहाल क.कृपाश्वर प्रति भावपूर्ण श्रद्धाञ्जली हार्दिक श्रद्धासुमन ।

 

प्रकाशित: समय: 21:09:11  178पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार