पार्टीभित्रको बहस पद प्राप्तीका लागि नभएको अध्यक्ष दाहालको दाबी


सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीभित्र चलिरहेको बहस पद प्राप्तिका लागि नभएको बताएका छन् ।

कम्युनिष्ट नेता तुलसीलाल अमात्यको २३ औं स्मृति दिवसका अवसरमा च्यासलमा शनिबार आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले पार्टीभित्र चलेको बहस पद प्राप्तिका लागि भएको भनेर गलत प्रचार गरिएको बताएका हुन् ।

उनले पार्टीभित्रको बहसलाई अस्वस्थ बनाइएकाले बाहिर नकारात्मक प्रभाव परेको पनि बताए । आफूले पार्टी एकता गर्नुपूर्व नै राष्ट्रका लागि भनेर पद त्याग गरेर अगाडि बढेको भन्दै उनले अहिले नेकपाले स्थायित्व दिनुपर्ने बेला आएको बताए ।

उनले भने, ‘पद होइन राष्ट्रको सेवा मुख्य कुरा हो । पार्टीभित्र चलेको बहसलाई नेतृत्वको पद प्राप्तिका लागि छिनाझपटी हो भन्ने प्रचार गरिएको छ पदको छिनाझपटी होइन । यो पार्टीलाई कसरी अगाडि बढाउने ? पार्टीको विचार, मान्यता, विधि, पद्दति कस्तो हुनुपर्छ भन्ने बहस हो।’

पार्टीलाई विचार र विधिबाट चलाउनुपर्ने भनेर अहिले बहस भइरहेको उनको भनाइ थियो । प्रचण्डले पार्टी एकताका नाममा मुलुकका विभिन्न मुद्दा र पार्टीको विचारबारे बहस गर्नै हुन्न भन्ने मान्यता राख्न नहुने बताए । उनले एकता कायम राख्ने नाममा गलत विचार र प्रवृतिको ढाकछोप गर्न नसकिने बताए ।

प्रकाशित: समय: 16:04:21  11पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार