कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलालको ४२ औँ स्मृति दिवस,योगदानको स्मरण गरिंदै


नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४२ औँ स्मृति दिवसका दिन उहाँको योगदानको चर्चा गर्दे स्मरण गरिंदैछ  ।

नेपालमा कम्युनिष्ट पार्टीमार्फत जनताका पक्षमा अधिकार स्थापित गर्ने लक्ष्यसाथ नेकपा स्थापना गर्नुभएका श्रेष्ठको ०३५ साल साउन ७ गते भारतको नयाँदिल्लीस्थित गोविन्दबल्लभ पन्त अस्पतालमा उपचारका क्रममा निधन भएको थियो । नेपाली क्रान्तिका सिद्धान्तकारका रुपमा परिचित पुष्पलालले आफ्नो जीवनभर जनताको स्वतन्त्रताका लागि संघर्ष गर्नुभयो ।

रामेछापको भंगेरीमा विसं १९८१ असार १५ मा उहाँको जन्म भएको थियो । पिता भक्तलाल रामेछापमा मालका सुब्बा हुनुहुन्थ्यो, पछि छोराका कारणले बुबाको जागिर खोसिएको थियो ।  आफ्नो जीवनभर सङ्गठन विस्तारमा लाग्नुभएका उहाँले विश्व कम्युनिस्ट घोषणापत्रलाई २००५ सालमा नेपालीमा अनुवाद गरी प्रकाशन गर्नुभयो ।  पुष्पलाल राणा विरोधी आन्दोलनका अगुवा शहीद गङ्गालाल श्रेष्ठका माइला भाइसमेत हुनुहुन्छ । पञ्चायती निरङ्कुशताको अन्त्यका लागि ‘संयुक्त जनआन्दोलनको कार्यदिशा’ २०२५ सालमा अगाडि सार्ने उहाँ पहिलो नेता हुनुहुन्छ ।

उहाँले नेकपा स्थापना गर्दा घोषणापत्रमा सामन्ती एकतन्त्रीय शासनको अन्त्य गर्ने, वैदेशिक शोषण र दमन समाप्त पारी राष्ट्रियता, स्वाधीनता हासिल गर्ने, वालिग मताधिकार कायम गर्ने, संविधानको आधारमा जनताका लागि पूर्ण स्वतन्त्रता तथा प्रजातन्त्र सुरक्षण गर्ने, मजदूर किसान श्रमजीवी जनताको हितलाई प्राथमिकता दिने उल्लेख थियो ।

घोषणापत्रमा सामन्तवाद, साम्राज्यवाद विरोधी शक्तिहरूको सरकार स्थापना गर्ने तथा क्रान्तिकारी भूमिसुधार लागू गर्नेसमेत समावेश थियो । पुष्पलालको नेतृत्वमा नेपालमा पहिलोपटक विसं २००६ वैशाख १० गते नेकपा स्थापना भएको थियो । पार्टी स्थापना गर्दा कोलकाताको श्यामबजारस्थित एक भवनमा पुष्पलाल, नरबहादुर कर्माचार्य, निरञ्जन गोविन्द वैद्य, नारायणविलास जोशी र मोतीदेवी श्रेष्ठ रहनुभएको थियो ।

उहाँले स्थापना गर्नुभएको नेकपा विभिन्न चरणमा फुटेर विभिन्न कम्युनिष्ट पार्टी बनेका छन् । २०७५ जेठ ३ गते भने नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) मिली पुनः अहिले त्यही नेकपा पार्टी बनेको छ । उहाँको विचार र दर्शनका आधारमा आज नेकपाले आर्थिक समृद्धिको नारासहित दुई तिहाइ जनमत प्राप्त सरकारको नेतृत्व गरिरहेको छ ।
कोरोना भाइरस संक्रमणको जोखिमका कारण आज कुनै औपचारिक कार्यक्रम भने आयोजना नगरिएको पुष्पलाल स्मृति प्रतिष्ठानले जनाएको छ । केहि अनौपचारिक कार्यक्रम भने हुने छन् ।

प्रकाशित: समय: 9:13:30  195पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार