धेरै हतियार कब्जा भएको मोर्चा ठोकर्पा रेड


तूफानी वर्गसंघर्षका अस्मेल यादहरू अनगिन्ती छन् ,असीमित छन् , अपरजय र अदिव्तीय पनि । शिलशिलाबद्ध ढंगले लेख्ने हो भने रामायण बन्ला , महाभारत बन्ला । यी ठेलीहरूमा त पौराणिक, काल्पनिक कथाहरू समाविष्ट छन् तर हाम्रा कथाहरू त साँचो-साँचो कथाहरू हुन् । जीवन भोगाइका वीरताका गाथाहरू हुन् । परिवर्तनको निम्ति रक्ताश्रुमिश्रीत झन्झावाततिर हुत्तिएका कहानीहरू हुन् । भर्भराउँदो बैंसमै अनयासै रित्तिएका जवानीहरू हुन् । यी जीवन कहानीहरू हिमालबाट झरेको झरना झैं अविरल बगिरहन्छन् । हिमालमा हिउँ पर्न छोडेको दिन झरना पनि नबग्ला । त्यस्तै म मरेको दिन मात्र मेरा सम्झनाहरू रोकिएलान् । नभए मेरा स्मृतिहरू निरन्तर बगिरहन्छन् । निरन्तर पोखिइरहन्छन् । स्मृतिहरू पनि विभिन्न किसिमका हुँदा रहेछन् , सकारात्मक र नकारात्मक । यिनै सम्झनाहरूलाई उनेर केही क्रान्तिका मालाहरू तयार गर्दैछु । कहिले भियतनामी इतिहास पल्टाएर त कहिले चिनियाँ, कहिले जर्मनी त कहिले रुसी, कहिले कोरिया त कहिले पेरुभियाली । यस्ता सफल-असफल अनगिन्ती इतिहासका पाठहरू छन् । यसलाई गहिरो गरी आत्मसात गरेमा मात्र क्रान्तिको भविष्य उज्ज्वल होला । नत्र जति कराए पनि क्रान्ति लमतन्न सुतिरहन्छ । क्रान्तिको मेलो एक पाइला पनि अघि सर्दैन । क्रान्तिको रथलाई अघि बढाउन पक्कै पनि क्रान्तिकारी भइरहनु पर्ने रहेछ । यस्तै-यस्तै क्रान्तिभित्रको एउटा वीरताको गाथा कोर्न गइरहेको छु । त्यो हो अलि ठूलो परिमाणमा हतियार कब्जा भएको सिन्धुपाल्चोकको ठोकर्पा लडाइँ ।
किराँतीछाप डमी आक्रमणपछि हाम्रो टोली रामेछापतिर लाग्यो । दोलखा+सिन्धु जिल्ला पार्टी र काभ्रे+रामेछाप जिल्ला पार्टीसँग एस.टि.एफ. हेडक्वाटरको विशेष बैठक बस्यो । मेरो जिम्मेवारी पनि दुई प्रकारको थियो । राजनैतिक रूपमा सिन्धु+दोलखा जिल्ला संगठन समितिको सदस्य र फौजी रूपमा सेक्सन कमान्डर । (आफूलाई धूरीमा राख्यो नभन्नुहोला । कमै मान्छेले मात्र फौजी र राजनीतिक हैसियत राख्थे त्यतिबेला त्यस अन्तर्गत म पनि परेछु । गर्वानुभूति भएको थियो) त्यही भएर मैले प्रायस: पार्टी संगठनका बैठकहरूमा पनि सहभागी हुन पाउँथे तर “बन्दुकले पार्टी नचलाएर पार्टीले बन्दुक चलाउँछ” भन्ने मान्यता थियो । जिल्ला पार्टीहरू र एस. टि. एफ. हेडक्वाटरको बैठकपछि ठोकर्पा ई.प्र.का. रेड (Raid) गर्ने तात्कालिन योजना बन्यो र कमान्डर टोली रेक्कीमा लागिहाल्यो तर यो रेड सफल पार्नको लागि थप चुनौतीहरू पनि थिए । एउटा मोर्चा खोल्दा अरू थुप्रै सानातिना मोर्चाहरू खोल्नु पर्ने जरुरी थियो । थुप्रै (Stop group) हरु बनाउनु पर्ने जरुरी थियो । (यो कुरा दोहोरिएर आयो भन्नुहोला । यो पनि मोर्चाभित्रको एउटा महत्त्वपूर्ण फौजी ट्याक्टिस हो । यसलाई पनि उजागर गर्नुपर्ने बाध्यता छ नै) नभए उपलब्धिको रक्षा गर्न कठिन थियो । बैठकमा यो चुनौतीबारे पनि व्यापक छलफल भयो । जिल्ला पार्टीका जिम्मेवार कमरेडहरूको कमान्डमा स्क्वायड टोलीहरूलाई यसको जिम्मा दिने निर्णय भयो । त्यतिबेला पूर्वको फौजी कार्वाहीलाई अलि माथि उठाउनको लागि । मोर्चाबन्दी लडाइँलाई एकरूपतामा ल्याउनको लागि क. बरुण सैन्य सल्लाहकारको रूपमा पश्चिम कमाण्डबाट पूर्व आएका थिए । (हरिमान पुन [क. बरुण] एक कुशल कमान्डर र कुशल प्राविधिक पनि थिए । उनैले एम. जी.-५४ ग्रिनेडको आविष्कार गरेका थिए । विशेष गरी दाङको चिरागघाट रेडदेखि यो ग्रिनेडको प्रयोग भएको थियो र नेपालभरिको पहिलो डिभिजनको सह-कमान्डर पनि भएका थिए । पूर्वको फौजी आक्रमणहरूमा पनि उनको धेरै महत्त्वपूर्ण भूमिका रह्यो) यसरी हरेक हिसाबले हाम्रो फौजी क्षमता उच्च हुँदै गइरहेको थियो । त्यतिबेला उज्यालोको लागि (TFG टि.एन.टि. फायर ग्रिनेडको पनि आविष्कार भएको थियो । काठको धूलो बोतलमा खाँदेर एसिड र टि.एन.टि. को सहायताले यो ग्रिनेड विष्फोट हुन्थ्यो र धेरै बेरसम्म बलेर उज्यालो भइरहन्थ्यो अनि दुश्मनको पोजिशन एक्सपोज हुन्थ्यो । यो नयाँ प्रविधिको विकास भएको थियो)

यसरी हाम्रो टोली थप मजबुत हुँदै गइरहेको थियो । नियमित शारीरिक व्यायाम पिटी, परेड, ड्रीलहरू हुन्थ्यो । क्याम्प आक्रमणका डमी रिहर्सलहरू भइरहन्थ्यो । पिटी परेड र ड्रीलमा एकरूपता ल्याउने काममा पनि क. बरुणकै योगदान थियो । यसरी हामीमा नयाँ रक्तसंचार भएको महसुस हुन्थ्यो । हाम्रो अन्तिम तयारी काभ्रे जिल्लाको नांग्रे गगर्चेको एउटा गाउँमा भयो । (त्यो गाउँ हाम्रो आधार ईलाका जतिकै थियो । दुतीको पहिरोले यो गाउँलाई चिनिन्छ) म्याप ब्रीफिङ र एसाल्टहरूको कोचिङ भयो । दुश्मनको नफ्री र हतियार अनि फोर्टीफिकेशनको हिसाबले पनि टार्गेट अलि मजबुत नै थियो । तर पनि फौजी हमला प्रभावकारी बनाउने सबै एसाल्टहरूले संकल्प गरेका थिए । किराँतीछाप मोर्चाको ग्यापिङ पूरा गर्नुपर्ने थियो । यो मोर्चामा भने क. सन्जीवको एसाल्टमा परिएन । क. मुक्तिको दोस्रो एसाल्टमा परियो तर पनि मन बुझाईयो । सबै तयारी पूरा भएपछि हाम्रो टोली फेरि सिन्धुपाल्चोक जिल्लाको वाफल गाउँको दोभानमा पुग्यो । (यो गाउँ पनि हाम्रो आधार ईलाका जत्तिकै थियो । हाम्रो दोलखा जिल्ला सुनखानीको एक जना दिदी यो गाउँमा पुग्नुभएको रहेछ । दिदीले असाध्यै माया गर्नुहुन्थ्यो। वहाँको श्रीमानको चाहिँ शिक्षण पेशा थियो) यो मोर्चा तयारीको अन्तिम सेल्टर थियो । स्टप ग्रुपहरू अगाडि नै मुभ भइसकेका थिए । यो मोर्चाको लागि चारवटा प्रभावकारी एसाल्टहरू बनाईएको थियो । (एउटा नयाँ कुरा के थियो भने चौकीको छानाबाट पनि माइन विष्फोट गर्ने र चारैतिरबाट प्रभावकारी हमला गर्ने । मोर्चा विजयमा पुर्‍याउने मुख्य मक्सद नै यही थियो । हुन त काभ्रेको भीमखोरी मोर्चामा पनि यो विधि अपनाईएको थियो तर क. धर्मले छतमा माइन चढाउँदा चढाउँदै मृत्युवरण गरेका थिए) हामीलाई सल्लाहकार क. बरुण, कमिशार क.सन्तोष, कमान्डर क. परवाना, सह-कमान्डर क. सन्जीवको अन्तिम निर्देशन जारी भयो । साथै जिल्ला सेक्रेटरीहरू क. प्रताप र क. ललितको पनि विशेष योगदान थियो ।
यसरी हाम्रो टोली २०५७ साल असार ३० गते साँझ दोभानबाट मुभ भयो । वर्षायामको समय भएकोले झमझम पानी परिरहेको थियो । हामी आ-आफ्नो आर्क विभाजन अनुसार अगाडि बढीरहेका थियौं तर पानी पर्नु मोर्चाको लागि उपयुक्त थियो । युद्धशास्त्री सुन जुले भने झैं “प्रतिकूल मौसममा हमला गर” भन्ने सिद्धान्तलाई अंगीकार गरे झैं लाग्थ्यो । यसरी हाम्रो टोली एक रफ्तारमा आ-आफ्नो आर्क विभाजन अनुसार अगाडि बढ्दै गयो । चौकी नजिक-नजिक पुगियो । चारैतिर झलमल्ल बत्तीहरू बलिरहेका थिए । कुकुरहरू एकोहोरो भुकिरहेका थिए तर हाम्रो टोलीहरू भूतको चालमा टार्गेटतिर बढीरहेको थियो । जब घडीको सुईले एघार बजेको संकेत गर्छ तब बिजुली बत्ती झ्याप्पै निभ्छ । वातावरण अन्धकार हुन्छ र कोलाहल मच्चिन्छ । (बिजुली बत्ती ट्रान्समिटरमा गएर निभाउने एउटा टोली थियो । त्यही टोलीले बत्तीको लाईन काटेको थियो । यो लाइन काट्ने अनुभव क. राजेश थामीलाई रहेछ । उनैको कमान्डमा बत्तीको लाईन काट्ने काम भयो । हामी क्रान्तिका पेचकिला हौं भनेको यही रहेछ) बत्ती निभ्नु र एक नम्बर एसाल्टले फायर खोल्नु एकैपटक भयो । एक नं एसाल्ट क. सन्जीवको थियो । उनको एसाल्टमा क. कविता पनि थिइन् । (क. कविता फौजी क्षेत्रकी एक साहसिक महिला योद्धा हुन । उनको ओखलढुंगा जिल्लाको रुम्जाटार मोर्चामा शहादत भयो) अनि चौकीमाथि वर्षिन थाले बम र गोलीहरू । चारैतिरबाट एसाल्ट ग्रुपहरूले प्रभावकारी फायर गरे । क. दीपशिखाको टोलीले छतबाट माइन चार्ज गर्‍यो । क. बरुणको कासन जारी भयो ” पुलिस दाजुभाइहरू हो ! शक्तिशाली जनमुक्ति सेनाको घेरामा परिसकेका छौ । हतियार फालेर आत्मसमर्पण गर” तर कासनको केही वास्ता नगरी पुलिसहरूले एकोहोरो फायरिङ गरिरहे । युद्ध घमासान भयो । असिना वर्षे झैं गोलीहरू वर्षिरहे । हामीले पनि प्रभावकारी हमला गर्‍यौं । त्यही बीचमा क. उत्तम गम्भीर घाइते भए । उनको शरीरमा एउटा सिँगै ग्रिनेड पड्केको थियो र उनको पेट र छातीमा गम्भीर चोट लागेको थियो । उनले पनि एउटा एसाल्ट कमान्ड गरेका थिए । उनलाई मेडिकल टोलीमा जिम्मा लगाएपछि आक्रमण झन कडा भयो । त्यतिकैमा चौकी ईन्चार्जले “ओइ ध्रुवे नहान, ओइ झम्के नहान” भन्दै पेस्तोल फायरिङ गर्दै भाग्यो । उ भाग्ने ठाउँतिर हाम्रो कमजोर घेरा रहेछ । त्यसको फाइदा लियरै छाड्यो । (ध्रुव पराजुली कमिशार कमरेड सन्तोषको नाम थियो । झम्क पराजुली एरिया सेक्रेटरी क. हिमालको नाम थियो । रमाइलो कुरा त के रहेछ भने उनीहरू साँगाचोक एउटै गाउँका रहेछन् र एउटै स्कुल पढेका रहेछन् । युद्धमा संयोग पनि कहिलेकाही कस्तो पर्न जान्छ) यसरी आक्रमण भएको करिब दुई घन्टामा लडाईं फाईनल भयो ।

लडाईं फाईनल भएपछि क. सन्जीव र म सर्च गर्दै अगाडि बढ्यौं । चौकीमा हाम्रै टि.एफ. जि. पड्किएर आगो लागिसकेको थियो । पुलिसहरू एउटा कुनामा चाङमाथि चाङ लागेर बसेका रहेछन् । उनीहरूबाट राइफल खोसियो र हेड्क्वार्टरलाई बुझाईयो । त्यसपछि म चौकीभित्र पसें । चौकीमा आगो लागिसकेको कारणले ग्रिनेड र गोलीहरू पड्कीरहेका थिए । मैले आगोको ज्वाला दन्किरहेकै कोठाबाट एउटा हेन्डसेट निकालेर ल्याएँ । कोठामा हेन्डसेट एकोहोरो बोलीरहेको रहेछ । (पछि हेन्डसेटले पनि ठूलो काम गर्‍यो । दुश्मनको मुभिङ बारेमा सबै कुरा थाहा पाइयो) हेन्डसेट निकाल्ने बित्तिकै कोठामा एउटा ग्रिनेड ठूलो आवाजमा पड्कियो । म बालबाल बचें । अरु एम्युनेशनहरू निकाल्न पाइएन । लगातार गोली र ग्रिनेडहरू पड्किरहे । सबै युद्ध सामग्रीहरू कब्जा गर्न नसके पनि ९ थान राइफल, १ थान सटगन र ७०० राउन्ड गोलीहरू कब्जा भयो । यो हतियार कब्जा त्यतिबेलसम्मकै धेरै थियो । किनकि पूर्वका लडाइँहरूमा बेथान मोर्चादेखि जूनीबेंशी मोर्चासम्म आइपुग्दा चार-चार थानको दरले मात्र हतियार कब्जा भएको थियो । यसरी हामीले बिना क्षति यो मोर्चालाई विजयको शिखरमा पुर्‍यायौं । भोलिपल्ट बिहान सिन्धुपाल्चोक जिल्लाकै सिक्रे भञ्ज्याङमा क. भिमसेनको टोलीले घटनास्थलतर्फ आएको टोलीलाई पनि एम्बुसमा पार्‍यो । (यदि यो टोलीलाई रोक्न नसकेको भए क. उत्तम र जिल्ला पार्टी संगठनका साथीहरूलाई गुमाउनु पर्ने रहेछ) यो एम्बुसले ठूलो काम गर्‍यो र अर्को मोर्चा पनि खुल्यो ।
निचोड : यो मोर्चाबाट ठूलो उपलब्धि हाँसिल भयो र छापामार कार्वाहीले दक्षता पनि हाँसिल गर्‍यो । हतियार पनि धेरै कब्जा भयो । राजनीति रुपमा पनि त्यो कार्वाहीको विषेश महत्त्व रह्यो ।
पुनःश्च : सो कार्वाहीका एसाल्ट कमान्डर क. सन्जीव (पदम लामा ) अहिले नेपाली सेनाका कर्णेल छन् । क. उत्तम (गोपाल पाण्डे) नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दोलखा जिल्ला सचिव छन् । क. दीपशिखा (रामप्रसाद सापकोटा) युवा संघको केन्द्रीय संयोजक छन् । क. मुक्ति (चिन बहादुर तामाङ) गुमनाम छन् । सल्लाहकार क. बरुणलाई कहिलेकाही यूटुब च्यानलमा अन्तर्वार्ता दिएको देख्छु । यसरी इतिहासको एक पटाक्षेप अन्त भएको अनुभूति भइरहेको छ । अरू अनगिन्ती युद्धानुभूतिहरू किताबको पाना झैं क्रमशः आउने नै छन् ।

डम्बर थामी ‘अनुपम’
कालिन्चोक गाउँपालिका-६, दोलखा
हाल: पराईभूमी

प्रकाशित: समय: 6:37:47  447पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार