फिप्ना अमेरिकाले आजदेखि नेपालमा राहत वितरण गर्ने:अध्यक्ष लोक चेम्जुङ


अमेरिका । नेपाल आदिवासी जनजाति महासंघ(फिप्ना)अमेरिकाले शनिबार एक प्रेस विज्ञप्ति जारी गरेका छन् ।

फिप्ना अमेरिका अध्यक्ष लोक चेम्जुङद्धारा जारी प्रेस विज्ञप्ति यहाँ जस्ताको तस्तै प्रस्तुत गरिएको छ।
“विश्वजगतमा महामारी रोगको रूपमा विगत ७/८ महिना यतादेखी फैलिएको कोरोना भाईरस (Covid-19) संक्रमणले मानव जिवन अस्तव्यस्त वनाएको छ ।

हाम्रो देश नेपाललाई पनि यसले अछुतो राखेन , यतिवेला नेपालमा दिन दुई गुणा रात चौगुणाका दरले संक्रमितहरूको संख्या बढ्दो अवस्थामा छ ।

सरकारले यतिवेला आवश्यक राहत,उद्दार तथा सुरक्षाका लागी पहलकदमीहरू गर्नु पर्दछ । तर सरकारको निरीह उपस्थितिले जनताहरू रोग सँगै भोगले पनि आक्रान्त छ।
कोरोना संक्रमणकोकारण विभिन्न उद्योग धन्दा वन्द छ,व्यापार व्यावसाय सबै रोकिएको छ ।

दिनानुदिन काम गरेर जीविकोपार्जन गर्ने मजदुरहरूको रोजगारी गुमेको छ ।

त्यसकारण हाम्रो उदेश्य कमसेकम कोही पनि भोकै मर्न नपरोस भन्ने हो । हामी परदेशमा जस्तोसुकै दु:ख पिडामा रहेपनि मातृभूमि प्रती हाम्रो कर्तव्य सम्झेर हामीले नेपाल आदिवासी जनजाति महासंघ अमेरिका(फिप्ना)को आर्थिक सहयोगमा देशको विभिन्न ठाउँमा असार २१ देखि असार ३१ गतेसम्म प्रथम चरणमा खाद्यान्न तथा राहत वितरण गर्ने योजना रहेको जानकारी गराउन पाउँदा गर्वले छाती फुलेको छ । यो मातृभूमि प्रतिको हाम्रो कर्तव्य हो भन्ने हाम्रो ठम्याई छ ।

प्रथम चरणमा राहत वितरणका क्षेत्रहरू निम्नानुसार रहने छ:-

१.असार २१ गते देखी २९ गतेसम्म काठमाडौं उपत्यकाभित्रका विभिन्न अनाथालयहरू , वृद्धहरु, सडक वालवालिकाहरू, असाहय वालवालिकाहरू, घरबार विहिनहरू, बटुवाहरू  र  मजदुरहरूलाई लक्षित गरी पहिलो चरणमा कम्तिमा दश दिन लगातार विभिन्न ठाउँहरूमा खाना वितरण गर्ने , त्यसका लागि पशुपती क्षेत्र,रत्नपार्क,नयाँ वसपार्क , हनुमानढोका परिसर  तथा विभिन्न वृद्धाश्रम  तथा  अनाथालयहरूमा वितरण गरिने छ ।

एक पटकमा ३ सय जनालाई स्वास्थ्य खाना वितरण गरिने छ र साथै उपत्यकामा रहेका कम्तीमा दस समूह घरबिहिनहरूलाई त्रिपाल समेत वितरण गरिने छ ।

२.उपत्यकाभन्दा बाहिरको जिल्लाहरूमा दलित तथा सिल्पी समुदाय,सिमान्तकृत समुदाय,अति विपन्न समुदाय र सुकुम्बासी क्षेत्रहरूमा राहत वितरण गरिने छ । पहिलो चरण अन्तर्गत टुंगो लागेका योजनाहरूमा असार २२ गते सिरहा जिल्लाको कल्याणपुर नगरपालिका वडा नं.१ को मुसहर समुदायलाई, असार २५ गते दैलेख जिल्लाको गुराँस गाउँपालिका वडा नं. ५ मा राउटे समुदायलाई,असार २६ गते धनकुटा जिल्लाको तमोर कोरीडोरको लेउती बगर क्षेत्रका मजदुरहरूलाई खाद्यान्न सामग्री वितरण गरिदैछ ।

साथै मिति टुंगो लाग्न बाँकी क्षेत्रहरूमा तमोर कोरीडोरका माँझी समुदाय तथा मकवानपुरका चेपाङ समुदायलाई प्रथम चरण अन्तर्गत राहत वितरण गरीने छ ।

खाद्यान्न सामग्रीहरूमा प्रत्येक परिवारलाई चामल २५ केजी, दाल २ केजी, नुन १ पोका र तेल १ लिटर का दरले वितरण गर्नुका साथै राउटे समुदायलाई प्रति परिवार १/१ प्रतिको दरले टेन्टसमेत वितरण गरिने कार्यक्रम रहेको छ।

राहत वितरणको सम्पूर्ण आर्थिक व्यवस्थापन नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाद्धारा हुनेछ । देशभरीको राहत वितरणको लागी योजनाहरूको समन्वयात्मक भूमिकाको लागि नेपाल आदिवासी जनजाति महासंघ,संघीय परिषद् सचिवालय काठमाडौं नेपालले गर्ने छ ।

साथै , स्थानिय आयोजक / व्यवस्थापकको जिम्मेवारीमा स्थानिय निकायहरू , नेफिनको प्रदेश , जिल्ला तथा नगरपालिका / गाउँपालिका स्तरीय नेफिन समितिहरू तथा यस बाहिर अन्य सहकार्य गर्ने संस्थाहरू नेपाल आदिवासी जनजाति पत्रकार महासंघ नेपाल, PA NEPAL Prisoners Assistance Nepal,दलित जागरण केन्द्र नेपाल,लेउती जलाधार प्राकृतिक सांस्कृतिक प्रबर्द्धन समिति लगायतको सहकार्यमा उक्त कार्य सम्पन्न गरिने छ ।

यस बाहेक आवश्यक क्षेत्रहरूको पहिचान,समन्वय र छनौटहरू भईरहेको छ । राहत वितरण कार्यलाई सम्पन्न गर्न हामीलाई विश्वास गरेर आर्थिक सहयोग गरिरहनुभएका अमेरिकास्थित विभिन्न संघ संस्थाहरू,मनकारी महानुभावहरू र विभिन्न संचारकर्मीहरू साथै सम्पूर्ण सहयोगीहरूमा हार्दिक धन्यवाद व्यक्त गर्दछौ ।

स्मरण रहोस गत मार्च महिना देखी जुन महिना सम्म कोरोना भाईरसको केन्द्रविन्दु बनेको न्यूयोर्कमा फिप्नाले संस्थागतरूपमा करिब टाईनल २६ हजारप्रति,माक्स ११ हजारप्रति,ग्लब्स १७ हजार ६ सय ५० प्रति तथा हेण्ड सेनिटाईजर २ सय ३७ प्रति PPE सामग्री वितरण गरेको थियो ।

जसमा प्रत्यक्ष १ हजार ५ सय भन्दा बढी परिवारलाई उक्त सामग्री वितरण गरिएको थियो भने २४ वटा संघसंस्थाहरूलाई समेत विभिन्न चरणमा PPE सामग्री हस्तान्तरण गरिएका थिए।

अबको हाम्रो उद्धेश्य नेपालको विभिन्न ठाउँमा रहेका अति विपन्न परिवारलाई रोजगारी गुमेकै कारण खानाबाट बन्चित नहोस भन्ने हो ।

यो अभियानमा साथ,सहयोग र सहकार्य गरिदिनुहुन सबैमा हार्दिक अनुरोध गर्दछौं भनेर नेपाल आदिवासी जनजाति महासंघ(फिप्ना) अमेरिका अध्यक्ष चेम्जुङद्धारा हस्ताक्षरित प्रेस विज्ञप्ति जारी गरेको छ ।

 

प्रकाशित: समय: 16:38:09  293पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार