कोरोना महामारी र सलहको त्रासका बीच ललितपुरको खुमलटारमा यसरी मनाईयो रोपाईं महोत्सव


प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवस आज खेतमा काम गरी दही चिउरा खाएर मनाइएको छ ।

विसं २०६१ मङ्सिर २९ गते मन्त्रिस्तरीय निर्णय गरी २०६२ असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो ।

ललितपुरको खुमलटारमा पनि कृषि विभाग, कृषि अनुसन्धान परिषद्ले औपचारिक कार्यक्रम आयोजना गरी रोपाईं महोत्सब मनाएको छ ।

कोरोना भाइरसको महामारी र सलह किराको त्रासका बीच पनि किसानलाई प्रोत्साहन गर्न कार्यक्रम आयोजना गरिएको आयोजकले बताएको छ ।

कार्यक्रममा उपस्थित भएका राष्ट्रिय किसान आयोगका अध्यक्ष चित्रबहादुर श्रेष्ठले धान खेतिको विकासका लागि उन्नत जातको धानको बीउ प्रयोग गर्ने वातावरण अझैपनि बन्न नसकेको बताए । अझै पनि तराईको ८० प्रतिशत भूभागमा पुराना जातहरुको रोपाई भइरहेको उनको भनाई छ ।

 

कार्यक्रममा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव राजेन्द्र प्रसाद भारीले कृषिमा अनुदानको मोडालिटी परिवर्तन गरी बैंकबाट ५ प्रतिशत ब्याजमा ऋण पाउने, मल तथा बीउमा अनुदान दिने व्यवस्था गरिएको बताए । उनले जोखिम न्यूनीकरणका लागि बाली तथा पशुपन्छी बीमा प्रिमियममा ७५ प्रतिशत अनुदान दिइएको बताए ।

नेपाल कृषि अनुसन्धान परिषद्का कार्यकारी निर्देशक दिपक भण्डारीले नेपालमा परम्परागत रुपमा धान दिवस मनाउँदै आएको र यसले किसानहरुको आत्मबल बढाउने बताए ।

असार १५ लाई नेपाली समाजमा दही चिउरा खाने पर्वका रुपमा पनि लिइन्छ ।

प्रकाशित: समय: 16:25:15  645पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार