आफ्नै मृत्युको खबर आएको नयाँ पूल भिडन्त


हिजो वर्षाको भेल झैं उर्लिएको र आज लमतन्न सुतेको क्रान्तिको कुरा गर्दैछु याने कि लेख्दैछु । किनकि जिन्दगीको मेरो आर्जन सुनका थैलाहरू नै यही हो, जो शरीरभरि छर्रा भएर बिझिरहेछन् । शरीर चल्मलाउँदा काँडाले झैं घोचिरहेछन् । माफ गर्नुहोला टेढा कुरा गर्‍यो नभन्नुहोला । मेरो कलमको नीब विगतभन्दा आगतमा झन् तीखो हुन थालेछ । यसले पनि बिझायो नभन्नुहोला । (क्रान्तिलाई बीच भंगालोमा छाड्ने ठेकेदारहरूलाई बिझाउनु पनि पर्छ) । चिहानमा बिहान खोज्नेहरूको कर्म यस्तै रहेछ, आफैंलाई खाल्डो खनेर पुर्नको लागि कोदाली बोकेर हिंड्नेहरूको मर्म यस्तै रहेछ , क्रान्ति लमतन्न पर्दा तक.. सहयोद्धाको चिहानमाथि सुसेल्ने धर्म यस्तै रहेछ ।
अँ ! विगत अलिकति कोट्याउँछु । कुटोले कमेरो माटो कोट्याए झैं खाटा बसिसकेको घाउ कोट्याउँदा त उकुच पल्टेला उकुच पल्टेर आउने भोगाइहरू र वेदनाहरू सपना जस्तै आनन्ददायक नहुँदो रहेछ तर सहन गर्ने साहस गर्दैछु । नयाँ जोश बोकेर हिंडेको लक्का ठिटो छापामार गुरिल्ला बन्न हिंडेको एक वर्ष पनि नबित्दै तत्कालीन सरकारले चलाएको “किलो सेरा टू” नामक ज्यानमारा अप्रेसनको बिगबिगी मृत्यु नाचेको प्रत्येक पल । सिन्धुपाल्चोकको राम्चेमा क. किरण र क.क्षीतिजको हत्या भएको बखत , जहाँ क. रामजी बालबाल बाँचेका थिए, (उनको पनि सिराहाको बन्दीपूर मोर्चामा शहादत भईसकेको छ । जो पछिल्ला दिनहरूमा एम्बुस टाईगरको रूपमा कहलिए ।) यही चुनौतीलाई चिर्ने नयाँ रणनीतिक सामर्थ्य जुटाउने जिल्ला पार्टीको प्रयास , नयाँ शिराबाट टुंगिएको बैठकको भाव जुन बैठक सिन्धुपाल्चोकको ईर्खुमा भएको थियो । दावा दाइ र प्रविणा दिदीको गाउँमा भएको त्यो बैठकको आवेगाभाव, फौजी प्रतिरोधको ढोकाहरू खोल्ने मुख्य रणनीतिक मक्सद, नयाँ रक्त सन्चार भएको अनुभूति अनि सहयोद्धाहरूको हत्याको बदलाभाव बोकेको सिन्धु-दोलखाको एउटा टुकडी , नयाँ फौजी रणनीति अंगालेको लाल दस्ता , ईर्खु , कुबिण्डे हुँदै नौबीसेमा एक छिन सुस्ताउँछ जहाँ क. क्षितिजको शहादतको आलो घाउ बोकेर आमा विह्वल अबस्थामा हुनुहुन्थ्यो । आफ्नो सन्तान गुमाउनु पर्दाको पीडा कुन आमालाई हुँदैन र ? तर आमा अदम्य साहस बोकेर सम्हालिनु भएको थियो । आमासँग एकछिन कुराकानी गरेपछि हाम्रो यात्रा सोझिन्छ । नयाँ योजनाको दस्तावेज बोकेर टुकडीको कमान्ड गरेका छन् गंगा कार्की (क. विश्व) ले टोलीमा अरू हामी छौं क. भीमसेन, क. हिमाल, क. अस्मिता, क. अजित, क. विशाल, क. प्रभात, क. निशा, क. झिल्को, क. शरद र म जम्मा एघार जनाको टोली (त्यति बेलासम्म दोलखाको पूर्णकालिन कार्यकर्ता जम्मा १० जना मात्रै थियौं । त्यसमा पनि क. प्रताप, क. पूर्ण र क. हेम जेलमा हुनुहुन्थ्यो) भर्खरै आएको हरियो छापामार ड्रेस रातो तारा अंकित टोपी सबैले लगाएका थियौं । प्राविधिक ज्ञानमा अब्बल दख्खल राख्ने क. अजितले बोकेका थिए १२ किलोको सिलिन्डर माइन । भर्खरै आएको नयाँ प्रविधिले आकाशमा उचालेको थियो हामीलाई , त्यसले कत्तिको प्रभावकारी काम गर्छ परीक्षण गर्न बाँकी नै थियो व्यबहारमा । किसानहरूको कृषि उत्सव लाग्ने त्यो समयमा घाम निकै चर्किएको थियो तर किसानहरू मानो खाएर मूरी उब्जाउने बेला भएकोले खेतबारीमा काम गरिरहेका भेटिन्थे ।
दुश्मनका कयौं बार बन्देजलाई छिचोल्दै , घेराहरू तोड्दै आईपुगियो सिन्धुपाल्चोकको डाँसे (डाँसे सिन्धुको एउटा गाउँ, पेमा लामा क. झिल्कोको गाउँ तत्कालीन हाम्रो आधार ईलाका जस्तै) एक रात त्यहीँ विश्राम लिएपछि झरियो चौंरीखोला (जहाँ चार जिल्ला सिन्धुपाल्चोक ,काभ्रेपलान्चोक ,रामेछाप र दोलखाको सिमाना पर्छ ) । जिलेटिन हानेर माछा मारियो अनि उकालो लागियो र कल्लेरी माया मिसको घरमा गएर माछा पकाएर खाईयो । त्यो रात त्यहीँ सुस्तायौं । त्यसपछि हाम्रो यात्रा ठेकालाघ्यू-सासिम-ढुंगे हुँदै बेरोकटोक अघि बढ्यो अनि पुगियो फस्कु मीत बुबाको घर । (मीत बुबा-आमाले औधी माया गर्नुहुन्थ्यो । जाने बित्तिकै गाला सुमसुम्याउनु हुन्थ्यो । भोक लाग्यो होला भनेर खाना बनाई हाल्नुहुन्थ्यो । आफ्नो वर्गप्रति अगाध प्रेम थियो । वहाँहरूको गुणलाई पनि जिन्दगीभर बिर्सन सक्दिन । व्यबस्था त केहीको लागि फेरियो । वहाँहरूको लागि कहिल्यै फेरिएन ।) बुबा-आमासँग एकछिन भलाकुसारी गरेपछि लाग्यो हाम्रो टोली फस्कुको ओरालो । ओरालो झर्दै गर्दा पानी पर्‍यो । चिप्लो बाटो चूक घोप्ट्याए जस्तो अँधेरी रात अनि थकाईले लखतरान परेको ज्यान बाटामा चिप्लिँदै-निदाउँदै हिंडियो । रातभरिको हिंडाइपछि बल्ल पुगियो पवटी एक समर्थकको घरमा ।
दिनभरि सेन्ट्रीको व्यबस्था मिलाएर पालैपालो सुतियो । किन हो किन शरीरमा पटक्कै जाँगर उम्रेको थिएन । कैयौं दिन कैयौं रात हिंडियो । भोकै, प्यासै हिंडियो । यस्तो कहिल्यै भएको थिएन तर पनि निश्चित गन्तव्यमा पुग्नु नै पर्ने थियो । आफ्नो जिम्मेवारी पूरा गर्नुपर्ने नै थियो । समयले हामीलाई बेस्सरी धकेलीरहेको थियो । २०५५ साल असार ५ गते , बेलुकीको खाना खाएर धर्तीलाई अँध्यारोको साम्राज्यले छोपेपछि बाटो लागियो । सबभन्दा अगाडि मै हिंडेको थिएँ एवं रीतले चरंगे खोला तर्दै तामाकोशी नयाँ पूलतिर लागियो । पूरानो बजार नजिकै टोली अडियो । म नयाँपूल बजार चेक गर्न अघि लागें । एक दुई पसल बाहेक सबै बन्द भईसकेका थिए । जिरीका बसहरू रहस्यमयी ढंगले पार्किङ गरिएका थिए । तर खतराको संकेत तत्काललाई केही नदेखिए जस्तै लाग्यो । फौजी ज्ञान र सर्वीलेन्सको तर्तीबको अभाव पनि हुन सक्ला । मेरो नांगो आँखाले केही पत्ता लगाउन सकिन अनि अरू टोली लिन फर्किएँ । जब बजार कटेर पूल तर्न लागेका मात्र के थियौं । म पूलको बीचौंबीच मात्र के पुगेको थिएँ । गोली बर्सिन थाल्यो असिना बर्सिएसरि । एक प्रकारको भीषण रणसंग्राम मच्चियो । वातावरण कोलाहलमय भयो । कान कानबाट गोलीहरू आगोको फिलिंगा झैं सुईँकिए । जीउभरी बारुदको गन्ध आउन थाल्यो । त्यतिकैमा क. विश्वले कटुवा पेस्तोलबाट फायरिङ गर्नुभयो र फायरिङ कासन गर्नुभयो । क. अस्मिताले झोला फाल्नुभयो । क. अजितले माइन विछ्याउँदै हुनुहुन्थ्यो तर तार चुँडिएको हुँदा काम गरेन । मैले सँधै एउटा टूटू राइफल बोक्थें । त्यतिबेला क. विशालको हातमा थियो । त्यसको प्रभावकारी फायर हुन सकेन । उनीहरूले खैलाबैला गर्दै अश्लील गाली गलौज गर्दै हजारौं गोलीहरू बर्साइरहे । हजारौं गोलीका राता-राता, ताता-ताता पर्राहरू बीच हाम्रो टोली छिन्नभिन्न भयो । हामी माथि डाँडामा नपुग्दासम्म गोली चलिरह्यो । सालका पातहरू झरिरहे । सालका सुकेका पातहरू स्यारस्यार कराइरहे । को को साथी ढले थाहा भएन । गोलीहरू अझै पड्कीरहेका थिए । अन्यौलताको भूमरीमा लपेटिँदै लागियो सुरक्षित स्थानतिर ।
हिंड्दा-हिंड्दा उज्यालो हुने बेलामा भीरकोट कृपाश्वर सरको घरमा पुग्यौं । उज्यालो भईसकेपछि वहाँलाई बुझ्न पठाउँदा एक जना ढलेको खबर ल्याए । छोटोमोटो साथी ढलेको र पुलिसले अनुहार नचिन्ने गरी जिल्साएको खबर आयो । हामी झन् अकर्मण्यतामा पर्‍यौं । पछि थाहा भयो क. भीम प्रसाद शर्मा (शरद) को शहादत भएछ । एक जना साथी मात्रै ढलेको खबर आयो । अरू साथीहरू कता लागे केही पत्तो भएन । सम्पर्क माध्यम पनि केही भएन । तर मेरो घरमा चाहिँ म आफैं मरेको खबर गएछ । बुबा-आमा, भाइ-बहिनी सार्‍है पीडामा परेछन् । केही जोरीपारीहरू हाँस्दै हिंडेछन् । तर बुबा-आमा क्रान्तिलाई बुझ्ने , बलिदानको अर्थ बुझ्ने हुनु भएकोले पार्टीको आधिकारिक जानकारीको प्रतीक्षामा हुनुहुँदो रहेछ । साथीभाइ, ईष्टमित्र, आफन्तजन सबैले सहिदको कोटामा नाम चढाईसकेछन् । क. हिमालले एउटा चिट्ठी लेखेका रहेछन् । ” डम्बरको शहादत भएको खबर घरमा पठाउनु र क्रीया खर्च रू.३०००/- हजार पनि पठाउनु ।” यो चिट्ठीले साथीहरूमा पनि अर्को तरंग पैदा भएछ । यसरी हामी छिन्नभिन्न हुँदा क. भीमसेन र क. हिमालको एउटा टोली । क. अजित र क. अस्मिताको एउटा टोली । क. झिल्को एक्लैको टोली । क. विश्व, क. विशाल, क. प्रभात, क. निशा र मेरो एउटा टोली । हामी यसरी छिन्नभिन्न भयौं । त्यसपछि क. विश्व पूर्वतिरै लागे । हामी ओखलढुंगा जिल्ला पार्टीका साथीहरूसँग केही समय रह्यौं । क. वसन्त (उनको उदयपुरको तावाश्रीमा शहादत भईसकेको छ) क. बीनीता, क. महेन्द्र श्रेष्ठ (उनी फौजी र प्राविधिक रूपमा धेरै प्रतिभाशाली थिए पछि उनको पनि ओखलढुंगामै शहादत भयो) लगायत कमरेडहरूसँग रह्यौं र पछि पार्टी सम्पर्कमा आयौं । पछि सुक्ष्म ढंगले बुझ्दा थाहा भयो कि हाम्रो जनशक्ति , हतियारको अबस्था , हाम्रो नफ्री , दोलखाको मुख्य नेतृत्व सहित सम्पूर्ण फोर्स सबै थाहा भएर एम्बुसको योजना बनेको रहेछ । दोलखा जिल्ला पार्टीलाई नै सखाप बनाउने योजना रहेछ । अझ हामी त कमजोर घेरामा परेछौं । मुख्य एम्बुस त पूरानो बस्ती सत्तरी गोलाईमा रहेछ किनकि हामीले प्रयोग गर्ने पूरानो मुख्य बाटो त्यही थियो । केही फटाहाहरू गंगा कार्की र शंकर लामाको लास हेर्न नयाँ पूल बजारमै बसेका रहेछन् ।
पुनः स्मरण :
यो घटनामा जीवित कमरेडहरू मध्ये क. विश्व नेकपाका पोलिट ब्यूरो सदस्य छन् । क. भीमसेन पनि नेकपाका केन्द्रीय नेता छन् । २०७२ सालको संविधान सभाको चुनावको प्रत्यक्ष उम्मेदवार हुन् । क. अस्मिता दुई पटक सांसद र राज्य मन्त्री समेत भईसकेकीछन् । क. विशाल पनि प्रदेश सांसद छन् । क. अजित पनि २०६४ सालको संविधान सभाको चुनावमा सांसद भईसकेकाछन् । क. झिल्कोको शहादत भईसकेको छ । क. प्रभात निर्माण व्यबसायी हुन । क. निशा (लक्ष्मी थामी) निङ्लेनी र फलेक बिसौनीको खस्रु बोक्दाबोक्दै परिवर्तनको निम्ति हिंडेकी ,थामी समुदायकी साहसी छोरी हुन् । बि.स.२०५४ फाल्गुनमा पूर्णकालिन भएकी दोलखा जिल्लाको पहिलो महिला छापामार हुन् । अहिले उनी गुमनाम जस्तै छिन् । म अहिले आफ्नो गर्जो टार्न विदेशी भूमीमा जोतिंदैछु । आखिर मुक्ति त सीमित मालिकहरूको लागि मात्रै आयो । हामी त घुम्दै फिर्दै रुम्जाटार न हो ।
हाम्रो मूल्यांकन इतिहासले गर्छ भन्ने विश्वास थियो । तर त्यो इतिहास कहिले र कसरी कुन रूपमा आउँछ हेर्न बाँकी नै छ । त्यो एक भुल्को इतिहास र आङमा लागेको एक झुल्को घामले बताउला….. ।

डम्बर थामी ‘अनुपम’
दिनाङ्क : २५ मई २०२०
पराईभूमी

प्रकाशित: समय: 20:45:11  565पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार