संसदीय समितिले काठजन्य वस्तुको आयात प्रतिस्थापन गर्ने कार्यक्रम ल्याउन वन तथा वातावरण मन्त्रालयलाई निर्देशन दिएको छ ।
प्रतिनिधि सभाको कृषि, सहकारी तथा प्रकृतिक समितिको बिहीबारको बैठकले काठ तथा काठजन्य सामग्रीहरुको कानून विपरित कारोबार गर्ने तस्करहरुलाई कारबाही गरी पुराना तथा ढलेका र मरेका रुखहरुको पूर्ण क्षमतामा उपयोग गरी आयात प्रतिस्थापन गर्न मन्त्रालयलाई निर्देशन दिएको हो ।
सभापति पूर्णकुमारी सुवेदीले वनलाई नेपालको समृद्धिसँग जोडन र हरियो बन नेपालको धनको नारालाई व्यवहारमा चरितार्थ गर्ने गरी पुराना तथा ढलेका र मरेका रुखहरुको अधिकतम उपयोग गर्ने व्यवस्था मिलाउन निर्देशन दिने र कानून विपरित कारोबार गर्नेलाई कारबाही गर्न मन्त्रालयको ध्यानाकर्षण गराउने निर्णय भएको बताईन् ।
बैठकमा वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले वन तस्करी घट्दै गएको बताए । उनले वैज्ञानिक वन व्यवस्थापनको नाउँमा वन फडानीको काम भइराखेको भन्ने विषय उठेको र त्यसमा मन्त्रालयको ध्यानाकर्षण भएको स्पस्ट पारे ।