लद्दाख घटनाप्रति राष्ट्रसंघद्वारा चिन्ता व्यक्त,प्रधानमन्त्री मोदीद्वारा सर्वदलीय बैठक आव्हान


भारतीय र चिनियाँ सेनाबीच सोमबार लद्दाख क्षेत्रमा भएको हिंसात्मक झडपप्रति संयुक्त राष्ट्र संघले चिन्ता व्यक्त गरेको छ ।

संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरसका तर्फबाट सहप्रवक्ता एरी कानेकोद्वारा जारी विज्ञप्तिमा सोमबारको घटनाप्रति चिन्ता व्यक्त गर्दै भारत र चीन दुवैलाई अधिकतम संयम अपनाउन आग्रह गरिएको छ ।

साथै दुई देशबीच तनावलाई कम गर्न प्रयास सुरु हुनुलाई सकारात्मक रुपमा लिएको समेत विज्ञप्तिमा उल्लेख छ । भारत र चीनबीच विगत एक महिनादेखि कायम रहेको तनाव बढ्दै गएर सोमबार साँझ हिंसात्मक झडपको रुप लिएको हो ।

पूर्व लद्दाखको गलवन उपत्यकामा भएको झडपमा परी एक अधिकृतसहित बीस भारतीय सैनिकको मृत्यु भएको छ । चिनियाँ पक्षतर्फ भएको हताहतको विवरण अझै आएको छैन । भारतीय पक्षले चीनतर्फ पनि ठूलो क्षति भएको दाबी गरेको छ । घटनालाई लिएर भारत र चीन दुवैले एकअर्कालाई दोषारोपण गरेका छन् ।

यसैबिच, चीनका उप विदेशमन्त्री लुओ जाहोइ र चीनका लागि भारतका राजदूत विक्रम मिश्रीबीच बुधबार चीनको राजधानी बेइजिङमा भेटवार्ता भएको बताइएको छ । कालापानी क्षेत्रको सीमा विवादलाई लिएर नेपालसँगको सम्बन्धमा तनाव खेपिरहेको भारतको सिमाकै विषयलाई लिएर अर्को छिमेकी चीनसँगको सम्बन्ध पनि तनावपूर्ण बनेको हो ।

भारत र चीनबिच विवादित सीमा क्षेत्रलाई लिएर पछिल्लो ४५ वर्षमा पहिलोपटक मानवीय क्षति हुने गरी भिडन्त भएको हो । यसअघि २० अक्टुबर १९७५ मा अरुणाञ्चल प्रदेशको तुलुङ लामा असम राइफलको गस्तीमाथि चीनले हमला गर्दा भारतका चारजना सैनिक मारिएका थिए ।

यसैबीच चीनसँग सीमामा उत्पन्न पछिल्लो तनावको अवस्थाबारे छलफल गर्न भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीले सर्वदलीय बैठक आव्हान गरेका छन्। भारतको प्रधानमन्त्री कार्यालयले शुक्रबार साँझ पाँच बजे बैठक बोलाइएको बताएको छ ।

प्रकाशित: समय: 15:10:47  711पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार