फर्कूँ कसरी घर ?


✍️ कविता

अनायास !
कोरोनारुपी महामारी
भूसको आगो झैं
संसारभर फैलिएपछि
परदेशीको आशा-भरोसा
एकाएक ओइलिएपछि
जताततै बन्दाबन्दी भएपछि
मैले काम गर्ने
पसिनाको धारा छुटाउने
कम्पनीको मूल गेटमा
पाँच किलोको ढक जत्रो
ताला लागेपछि
भएको हुँ साँघुरो कोठाभित्रै
अघोषित बन्दी
” काम छैन, माम छैन
जाउँ भने कतै पनि ठाम छैन ”
भने झैं
कोचिँदै आएको छु
भेडा बाख्रा झैं साँघुरो कोठामा
बिताईरहेछु समय
पूर्पूरोमा हात राख्दै
फलामे खाटको डन्डीमा अढेस लगाउँदै
आफ्नो घरको अनि परिवारको
तीन बीस हिउँद काटिसकेका
वृद्ध बाबा-आमाको
जीवनसंगिनी अनि मुटुको टुक्रा झैं
लालाबालाहरूको
आफ्नो मातृभूमि
अनि गुराँस फुल्ने पाखा-पखेराको
असीमित याद मुटुभरि साँचेर
घर फर्कने दिनको प्रतीक्षा गर्दै
पिउँदै आएको छु आँसुसँगै
आँसु जस्तै जाउलो
जिउँदै आएको छु बन्दी जस्तो
नारकीय जिन्दगी
सिउँदै आएको छु फाटेका मनहरू
खल्तीहरू धमीराले खाएको
धोद्रे काठ झैं रित्ता-रित्ता छन
मरूभूमीमा बँचेखुचेको एकमुट्ठी स्वास
बल्लतल्ल धानेको मात्र छु
यो विषम परिवेशमा
मेरो देशको दुई तिहाईको
खम्बा जस्तै बलियो सरकारले
आफ्नो देशको नागरिक
फर्काउने समाचार सुन्दा
खुशीले फुरुंग हुन्छु
चरी जस्तै कत्तिखेर भुरुंग उडूँ झैं हुन्छु
तर बिडम्बना,
तिम्रो जहाजको भाडा सुन्दा
मेरो दुई महिनाको कमाई लाग्ने रहेछ
म जस्तै साँघुरो कोठामा
भिसा सकिएका कैदी आँखाहरू
तिम्रो निर्णयले लोलाइरहेकाछन्
एकोहोरो टोलाइरहेकाछन्
फेरि पनि
” तावाबाट उफ्रेको माछा
भूंग्रोमा परे झैं ” हुन्छु
फेरि पनि जताततै कोलाहल
चिच्याहट सुन्छु
ए सरकार !
मेरो टाउकोलाई सिंढी बनाएर
तिमीलाई सत्ताको भर्‍याङ
चढाउने बित्तिकै
औंठामा चुनावको मसी पनि नसुक्दै
लागेको हुँ परदेश
मैले तिमीलाई महिना मर्ने बित्तिकै
ठेला उठेको खस्रो हातले
रगत पसिनाले
कट्कटीएका विदेशी नोटहरू सुम्सुम्याउँदै
पठाएको हुँ लगातार रेमिटेन्स
थोत्रे घर झैं खल्ती रित्तिसकेको
कम्पनीले दिने टिकट कुरी बसेको
म निर्धोले/म असहायले
कसरी काटूँ तिम्रो टिकट
फर्कूँ कसरी घर ?
ए ! मेरो सरकार
मलाई तुरुन्तै जवाफ चाहियो !!!!

रचनाकार : डम्बर थामी ‘अनुपम’
१३ जून, २०२०, पराईभूमी

प्रकाशित: समय: 11:43:07  1477पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार