काठमाडौं । सर्वोच्च अदालतले म्याच फिक्सिङको अभियोग लागेका नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान सागर थापालगायत ६ जनालाई सफाइ दिएको छ ।
न्यायाधीशहरू डा आनन्दमोहन भट्टराई र बमकुमार श्रेष्ठको इजलाशले विशेष अदालतले २०७५ जेठमा सफाइ दिने फैसलालाई मंगलबार सदर गरेको हो ।
इजलासले पूर्वकप्तान सागर थापा र खेलाडीहरू सन्दीप राई, रितेश थापा, विकाससिंह क्षेत्री, प्रशिक्षक अन्जन केसी र चिकित्सक डेजिव थापालाई विशेष अदालतको फैसला सदरगर्दै सफाई दिएको हो । विशेष अदालतले २४ जेठ २०७५ मा उनीहरुलाई निर्दोष ठहरगर्दै फैसला गरेको थियो । जसका बिरुद्ध सरकारी वकिल कार्यालय काठमाडौं सर्वोच्च अदालत गएको थियो ।
विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा ‘म्याच फिक्सिङ’ गरेको आरोपमा उनीहरुलाई २०७२ असोजमा प्रहरीले पक्राउ गरेको थियो । उनीहरुमाथि इराक, फिलिपिन्स, अफगानिस्तान, कुवेत लगायतका राष्ट्रमा भएका प्रतियोगितामा मिलेमतोमा खेल खेलेको आरोप लागेको थियो।