क्वारेन्टाइन भित्रै बलात्कृत


✍️ कविता

अहो! महोदय!
बडो अचम्म !!
बडो दुखित!
बडो क्रोधित !!
अनि अति निकृष्ट कार्य
दर्दनाक पीडा
क्वारेन्टाइनको नाउँमा
एउटा यौन क्रीडा
खै बुझ्नै सकिन !
खै कसरी सुन्न सकुला र म
कसरी लेख्न सकुला र म
तिम्रो क्वारेन्टाइनबाट चिच्याहट
नारीका निहिर आवाजहरू
भन के? तिम्रो क्वारेन्टाइनमा
पुरुषलाई मात्रै सुरक्षित
अनि महिलालाई चाहिँ
जबर्जस्त बलात्कार गरी
अश्लील भिडियो बनाउने पार्क हो ?
म सोध्दै छु , तिमीलाई
भोक, रोग, शोक र झोंकमा
बाँचिरहेका हामी नारीहरू
लकडाउन दोहोरी रहँदा
प्रत्येक क्वारेन्टाइनहरुमा
प्रत्येक आइसोलेनहरूमा
उन्माद, उत्तेजना र मोहले मातिएका
तिम्रा नर पिचासु जस्ता मतियारहरुद्वारा
स्वास्थ्यकर्मी अनि स्वयंसेवकहरुबाट
म पटक पटक
सामुहिक बलात्कृत भइरहें
खै तिम्रो कुनै अखबारको
हेटलाईनहरुमा छापिएन मेरो समचार
लेखिएन खोसिएको अस्मिता
उनिएन कुनै कविले
आफ्नो शब्दहरुमा
कस्तो हुन्छ सामुहिक
बलात्कारको पीडा
हुन त,
देश दुख्दा समेत नदुख्ने तिमीहरूको मुटु
अनुभुत गर्न नसक्ने तिमीहरूको मन
एउटी नाथे नारी बलात्कृत हुँदा
के दुख्थे र खै !!
के आँसु झार्थे र
त्यसैले अब म,
यी सबै सजिलै सहन सक्छु
आउनोस !!
एकपटक मेरो सामु तिमी
पूर्ण बलात्कार गरेर जानोस
यही क्वारेटाइनमा
जहाँ तिमीले निर्माण गरी राखेको
एउटा अँध्यारो बन्दी गृहभित्र
तिम्रो अगामनमा मेरो यौवनका
रंगहरु बिछ्याइ रहेछु
बलि दिन तयार भइरहेछु
ढिलो नगर्नु !
फेरि तिमीलाई कुर्न मसँग
कुनै निश्चित समय छैन
सक्नु हुन्छ मलाई बलात्कार गर्न?
मेरो नारीत्व माथि हात लगाउन ?
होइन भने जवाफ दिनोस !!
सबैलाई सुरक्षितको नाउँमा
एउटै क्वारेन्टाइन भित्र
किन तिमीले म एउटी नारीलाई
पूर्ण रुपमा सुरक्षा दिन सकेनौं
एउटी नारीलाई सुरक्षा दिन नसक्नेले
सिङ्गै देशको सुरक्षाको
जिम्मेवारी कसरी गर्न सक्छौं तिमी
अहाँ मलाई फिटिक्कै बिश्वास छैन
त्यसैले आजैबाट म
यी असहज कुन्ठाहरुको चाङलाई
तिम्रै खोरहरुमा छोड्दै
तिम्रो काँचो व्यबस्थाको निम्ति
तिम्रो असहज वातावरणको निम्ति
मेरो यौवनको गन्धले भिजेको
तिम्रो देशमा उन्मुक्तिकोआँधी बोकी
एउटा नारी विद्रोहको शिर
उचालेर
अब म लड्न तयार छु
प्रत्येक बलात्कारहरुको
छुट्टै अनुभुतहरु बटुलेर
अब तिम्रै शिरमाथी एउटा
अस्मिताको ज्वालामुखि पड्काउन
तयार भएकी छु !!

सजना गोले तामाङ

प्रकाशित: समय: 15:07:40  1054पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार