बेलायत र फ्रान्सको जनजीवन सामान्य बन्दै, मुख्य सडकका पसलहरु खुल्ला


कोरोना भाइरस कोभिड–१९ को संक्रमण रोकथाम तथा नियन्त्रणका लागी जारी लकडाउनका कारण प्रभावित भएको बेलायत र फ्रान्सवासीको जनजीवन सामान्य बन्दै गएको छ ।

बेलायतका मुख्य सडकका पसलहरु खुलेका छन् भने फ्रान्समा बार, रेस्टुराँ र पौडी पोखरी खुलेका छन् । कोरोना भाइरसको संक्रमण फैलिएसँगै बेलायतमा मार्च २३ देखि गरिएको लकडाउन सोमबारदेखि मुख्य सडकका पसलहरु खुलेका छन् ।

लकडाउन चरणबद्ध रूपमा खुकुलो बनाउँदै जाने बेलायत सरकारको योजनाअनुरूप अत्यावश्यक सेवाबाहेकका व्यवसायहरु पनि सञ्चालनमा आएका हुन् ।

सरकारले इंग्ल्यान्डभरका खुद्रा पसलहरुलाई कोरोना भाइरस रोकथामका लागि आवश्यक सतर्कता कायम गरेर मात्रै खोल्न अनुमति दिएको हो । लकडाउनका क्रममा यसअघि खाद्यान्न, औषधिजस्ता अत्यावश्यक सामग्रीका पसल, सुपरस्टोर, बैंक खुला गरिएको थियो ।

रेस्टुरेन्ट, पब, क्याफे, हेयर ड्रेसर, सिनेमालगायत व्यवसाय भने जुलाई पहिलो सातादेखि खुला गरिने सरकारको योजना छ ।

सोमबारदेखि कोभिड–१९ का लागि ‘हरित क्षेत्र’ घोषणा भएसँगै फ्रान्सको राजधानी पेरिसलगायत स्थानामा जनजीवन सामान्य बनेको हो ।

कोभिड–१९ को संक्रमण फैलिँदै गएपछि फ्रान्समा मे ११ मा लकडाउन घोषणा गरिएको थियो । त्यसयता संक्रमणको अवस्थाअनुसार विभिन्न क्षेत्रलाई हरियो, पहेंलो, सुन्तला र रातो रंगमा विभाजन गरिएको थियो ।

पेरिसको प्रान्तीय क्षेत्र इल द फासलाई रातो क्षेत्रबाट हरियो निर्धारण गरिएको छ । फ्रान्सका राष्ट्रपति एमानुयल माक्रोंले सोमबार देशवासीका नाममा सम्बोधन गर्दै अझै पनि सबै क्षेत्र खुला गरिनु जोखिमपूर्ण हुने बताएका छन् ।

लकडाउन खोलिए पनि वृद्ध र जोखिममा परेका व्यक्तिहरूले भने घरमै बस्नुपर्ने उनले सुझावसमेत दिएका छन् ।

यसैबिच बेलायतमा लकडाउन छिटो खुकुलो पारिएको भन्दै आलोचना भइरहँदा दोस्रो संक्रमण फैलने चेतावनी आएका छन् । बेलायती वरिष्ठ चिकित्सक तथा वैज्ञानिकहरुले जाडो याममा भाइरसको दोस्रो लहर आउन सक्ने खतरासँग जुध्ने तयारीका लागि सार्वजनिक छानबिन गराउन प्रधानमन्त्री बोरिस जोनसनलाई आह्वानसमेत गरेका छन् ।

२७ जना विशेषज्ञहरुले भाइरसको संक्रमण नियन्त्रण गर्न ब्रिटिस सरकारले अपनाएका कदमहरुमा कमजोरीका कारण ज्यान गुमाउनेको संख्या बढी भएको दाबी गरेका छन् ।

प्रकाशित: समय: 9:25:04  325पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार