हिजो अर्थात् २०७७ साल जेष्ठ ३२ गते आईतबारका दिन मेरो मोबाइलको म्यासेन्जरमा अचानक मित्र गोपालजीमार्फत यो फोटो प्राप्त भयो । वहाँले यो फोटो कहिलेको हो रामकृष्णजी याद छ ? भनेर लेख्नु पनि भएको रहेछ !तस्वीरमा रहेका हामी तीनजना(रामचन्द्र दहाल,गोपाल सन्जेल र म रामकृष्ण हुमागाई)एउटा कुनै कार्यक्रमको सन्दर्भमा छलफल गरिरहेको त देखियो तर कुन सन्दर्भमा र कहिलेको हो भनेर प्रष्ट छुट्याउन भने मलाई गाह्रो पर्यो ।
म अलमलमा परेर त्यसबारे सोच्दै गरेकोे बेलामा गोपालजीले फोन गर्नुभयो । अनि हामी बीच केहिबेर भलाकुसारी भएपछि त्यो फोटोको सन्दर्भ र समयबारे गोपालजीले सम्झएपछि बल्ल मलाई याद भयो ।
समय २०५५ साल कार्तिक महिनाको अन्तिमतिर हुनुपर्छ जिविस ललितपुर,युनिसेफ र गाविस महासङ्घ ललितपुर बिच ललितपुरका सबै गाविसहरुमा विकेन्द्रीकृत सामुदायिक स्वास्थ्य कार्यक्रम(Decentralized Community Health Programme,DCHP)अन्तर्गत मातृशिशु स्वाथ्य प्रवर्द्धन कार्यक्रम सन्चालन गर्न एक सम्झौता भएको थियो।
उक्त कार्यक्रम सन्चालन गर्नको लागि जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुर अन्तर्गतका स्वास्थ्यकर्मीहरु,ललितपुर जिविसका इलाका सदस्यहरु,कार्यक्रम हेर्ने जिविसका केही कर्मचारीहरु तथा सिङ्गै ललितपुर जिल्लाका गाविस अध्यक्ष र उपाध्यक्षहरुलाई कार्यक्रम सम्बन्धि एक हप्ते प्रशिक्षक प्रशिक्षण तालिमको आयोजना गरिएको थियो ।
सो प्रशिक्षण कार्यक्रम लेले गाविस,टिकाभैरवस्थित लेप्रोसी मिसन हस्पिटलको तालिम केन्द्रको हलमा सम्पन्न भएको थियो।
त्यही कार्यक्रमको समापनको अवस्थातिर हामीहरु-गोटिखेल गाविसका अध्यक्ष रामचन्द्र दहाल,इकुडोल गाविसका अध्यक्ष गोपाल सन्जेल र बुखेल गाविसका अध्यक्ष म रामकृष्ण हुमागाई आपसी छलफल गरिरहेको बेलाको फोटो थियो त्यो !
उक्त प्रशिक्षण कार्यक्रम सम्पन्न भएपछि प्रशिक्षकहरुको ४/५ वटा टीम बनाईयो र प्रत्येक टीममा एकजना स्वास्थ्यकर्मी,एकजना जनप्रतिनिधि तथा एकजना जिविसको कर्मचारी समावेश गरी जिल्लाव्यापी रुपमा कार्यक्रम सम्पन्न गरिएको थियो ।
प्रत्येक गाविसमा गाविसका सबै जनप्रतिनिधिहरु,महिला स्वास्थ्य स्वयंसेविका,सुडेनी र केही शिक्षकहरुलाई समेत पाँचदिने मातृशिशु स्वास्थ्य एवम् जनस्वास्थ्य सम्बन्धी तालिम सम्पन्न गरिएको थियो । करिव तीन महिनासम्म सन्चालित सो तालिम कार्यक्रममा म पनि १३ वटाजति गाविसहरुका कार्यक्रममा सहभागी भएको थिए । सो तालिम कार्यक्रमपश्चात् ललितपुर जिल्लाको मातृशिशु स्वास्थ्य एवम् जनस्वास्थ्यको क्षेत्रमा उल्लेखनीय सकारात्मक परिवर्तन आएको थियो ।
त्यस्तो महत्त्वपूर्ण सन्दर्भको फोटो पठाएर विगतको घटनाको संस्मरण गराई दिनुभएकोमा गोपाल सन्जेलजीलाई हार्दिक आभार समेत व्यक्त गर्न चाहन्छु भनेर ललितपुर जिल्ला,महाँकाल गाउँपालिका वडा नं.१ बुखेलमा जन्मनु भएका बुखेल गाविसका पूर्वगाविस अध्यक्ष रामकृष्ण हुमागाईले आफ्नो सामाजिक संजालमा उक्त संस्मरण कोरेका थिए,सो संस्मरणलाई तामाङपेज डट.कम.अनलाइनमा समावेश गरिएको हो।
– डेस्क सम्पादक ।