✍️ कविता
उमेरले सिँढी चढ्दै गर्दा
तिमीले चिन्ता गर्नै पर्दैन
उमेर त केवल अङ्क न हो
यहाँ सम्बन्धलाई अङ्कले कहाँ छेक्न सक्छ ?
जीवनकाे अंकगणित थपिँदा
अंकगणितसँगै याैवनकाे ऐकिक नियम घट्दा
जीवन कहाँ उनिउँ हुन्छ र ??
जीवन फुलेकै छ
अझै याैवनहरू हुर्कँन बाँकी छँदै
यसरी हरेक बर्ष फेरिँदै गयाे भने
सिरानीमाथि झुन्डिएको क्यालेन्डर
कसरी मुस्कुराउला तिमी जस्तै ?
प्रेमिल गीतहरु रच्दै
लोकगीत गुनगुनाउने
हृदयस्पर्शी अनि दमदार
गजलका शेरहरू
सुमधुर स्वरमा मन्त्र मुग्ध
अनि दुनियाँलाई लठ्ठा पार्ने
लेखक अनि साहित्य पारखी
राष्ट्र सेवक अनि भविष्य निर्माता
असिम पीडा हुनेलाई
जून जस्तै शितललता प्रदान गर्ने
जीवन जिउनु पर्छ भनी प्रेरणा दिने
जीवनमा रिसाउन नजान्ने
रिसाएको नाटक गर्न सिपालु
मेरो प्रिय मान्छेलाई
जन्मदिनको अनगिन्ती शुभकामना ।
उन्नति र प्रगतिले सँधै
विजयको मन्जिल चुमोस ।।
शब्द शुभेच्छाको कामना ।।।
रचनाकार : रचना मोक्तान “यात्री”
दिनाङ्क : १ असार २०७७, काभ्रे।