✍️ कविता
ओ मेरो प्रिय सखी
प्रिय प्रेमिल जोडी
यो सुखद संयोगान्त पावन्दीमा
वियोगान्त समयलाई पर-पर धकेल्दै
ज्योमोगाङ झैं अग्लिएका
ती चम्किला मन, मुटुहरु
एक चिम्टी मुस्कान फैलाएर
प्रेमिल उमंग लिएर
म जीवनको दशकौसम्म
तिमीहरुको प्रेमको तपस्याको
सफलताको प्रतीक्षामा थिएँ
जो आज पूरा भएको छ
तिमीहरुको प्रेम
अनि,
बनेको छ संसारमै
एक सुनौलो प्रेमिल जोडी
यतिखेर!
मेरो मन खुसीले चंगा भएको छ
ढोकामा सगुन पोङ राखी
प्रेमकै को म्हेन्दो लिदै
मनको दैलोमा तिमीहरुलाई
डेन गर्न आउँदैछु
प्रेमिल जोडीको सामिप्यमा
असीम मायाको पहाड चढाउन
मेरो प्रिय सखी
मेरो प्रिय प्रेमिल जोडी
जुन दिनदेखि
तिमीहरुले यो प्रेमको बतासलाई
मायाको संसारमा फैलाउदै गयौ
मेरो हृदयको
फराकिलो फाँटहरूमा
असीमित प्रेमिल वीज रोप्दै छु
मेरो मुटुको कन्दरामा
तिमीहरुले बास गर्यौ
जसरी तिमीहरु एकाअर्काको
मन मुटुमा बास बस्न कुनै दूरी नापेनौ
तिमी दुई जोडीका
ती चिम्से दुई आँखाहरु
आज देखि एक भएको छ
एकैश्वास फेर्नेछौ
त्यही दिनदेखि
तिमी दुई
मायाको रंगिन दुनियामा
ढकमक्क फूल्दै गएको
अनुभूति भइरहेछ
मेरो प्रिय सखी
मेरो प्रिय प्रेमिल जोडी
अब तिमीहरुले छिट्टै आँट गर्नु
सामाजिक परिबन्धहरु तोड्दै
संकीर्णताका बारहरू भत्काउँदै
कुरीतिका पर्खालहरू नाघ्दै
ताम्बा र गान्बालाई साक्षी राख्दै
आफ्नै मौलिक रिमठिम अनुसार
को म्हेन्दोले ग्यान्सी
जोर सगुन र पोङ राख्दै
यी प्रेमिल जोडी परेवालाई स्वतन्त्र उडाउदै
जोडी तर्ङालाइ स्योङ गान्दीमा छोड्दै
चारताम राखी
तिमी दुईलाई चिनाउन,
मायाको संसार रम्ने छौ
मेरो यही मोलम
यी मेरा आँखाका
प्रिय दुई प्रेमिल जोडीहरुलाई !!
मेरो प्रिय सखीलाई
रचनाकार : रचना मोक्तान “यात्री”
दिनाङ्क : ३२ जेठ २०७७, काभ्रे।