पोल्टाबाट नोकिया ११०० फोन निकालिन् !


भर्खर किनेर ल्याएको एक किलो चिनीलाई आमाले ‘चिनी राख्ने गरेको भाँडो’मा खन्याइन् र प्लाष्टिक टक्टक्याइन् । मनमनै सोचिन् –“दाल पोको पारेर राख्न काम लाग्छ ।”

केही दिनपछि,खेततिर जान लागेकी आमाले यसो आकाशतिर हेरिन् –“पानी पो पर्ला जस्तो छ,फोन भिज्ने हो कि?” पोल्टाबाट नोकिया ११०० फोन निकालिन् र त्यहि चिनी किन्दा आएको प्लाष्टिकमा पोको पारिन् अनि फेरी पोल्टामा हालिन् ।

अर्को दिन,घाँस काट्न जाने बेलामा अलिकति मकै-भटमास ठीक पारिन्,त्यहि चिनी ल्याएको प्लाष्टिकमा पोको पारिन् …।

“जाँतोमा अलिकति दाल पिंधेर ल्याउँछु।”अर्को दिन दुई माना जति मास त्यहि प्लाष्टिकमा पोको पारिन् र पल्लोघरको जाँतोतिर लागिन् ।

“कान्छा,यो खाजा बालाई पुर्याइदे त”–एक दिन तीन चार ओटा पुरी र एक कचौरा तरकारी त्यहि प्लाष्टिकमा हालिन् र बालाई खेतमा खाजा पुर्याउन मलाई अह्राइन् ।

थोत्रो हुँदै गएको प्लाष्टिक,अनि मेरो अलि उरन्ठेउलो स्वभाव; खेतबाट फर्कँदा रित्तो कचौरा हालेको प्लाष्टिक हल्लाउँदै हिंड्दै थिए,कता बुटोतिर अल्झेर प्लाष्टिक च्याँतियो ।

“आमा प्लाष्टिक नै च्यातियो ।”

“गधा !आफूलाई यहाँ कत्ति सजिलो भा’थ्यो । जतन भन्ने त कैल्यै जान्या छैन ।”एकपटक आमा मुर्मुरिइन् अनि प्लाष्टिकलाई खोपा तिर खाँदिन् ।

एकदिन आमाको चप्पलको लोता चुँडियो । खोपाबाट त्यहि च्यातिएको प्लाष्टिक निकालिन्,त्यसलाई बटारेर डोरी जस्तो बनाईन् अनि चुँडिएको लोता गाँसिन् ।

वातावरण दिवस मनाउन भनेर गाउँका थरिथरि अफिसका मान्छेहरु जम्मा भए । वातावरण दिवस मनाउनकै लागि यहि क्षेत्रबाट चुनाव जितेका मन्त्रि पनि आए ।

प्लाष्टिकको जस्तै (ठ्याक्कै के को हो चाहिँ खुट्याउन नसके पनि त्यो कपडाको होइन भन्ने आमालाई पक्का थियो) ठूलो तुल (ब्यानर) बोकेर मूलबाटोमा मन्त्रीसँगै एकहुल मान्छेहरु हिंडिरहेका थिए,जहाँ लेखिएको थियो –

‘प्लाष्टिक प्रदुषण निर्मूल पारौँ,पुनःप्रयोग गर्न नसके बहिष्कार गरौँ’
विश्व वातावरण दिवस २०२० (जुन ५,सन् २०२०),आदि आदि….“प्लाष्टिकलाई सकेसम्म पुनःप्रयोग गर्नुपर्छ है आमा। अझ सके त प्रयोग नगरेकै राम्रो”बाटो छेउमा उभिईरहेकी आमालाई त्यहि ब्यानर देखाउँदै तिनीहरुले भने ।

घर आउँदै गर्दा,आमाले चप्पलको लोता जोडेको डोरी नै चुँडिएछ । चुँडिएको प्लास्टिकको डोरी आमाको हातमै थियो । पर्खालको ढुँङ्गामा बसेर आमाले अराइन् –“कान्छा,हँसिया फुक्लेको फुक्लेइ गर्ने भा’छ । यो प्लाष्टिक बालेर त्यो हँसियाको बिडमा हालेर राम्रो सँग ठोक्देन लु त ।”

मैले हँसियालाई बिंडमा ठोक्दै गर्दा आमा भन्दै थिइन् – “कस्तो मज्जाको,ठूलो तुल बनाका र’छन् । बर्खा आउन लाग्या छ,काम सक्केपछी हाम्लाई दिए नि त भैंसीको माच माथि हाल्न हुन्थ्यो 🙂 …।” “तर के दिन्थे होला र !” आमाले आफैं संशय ब्यक्त गरिन् –“अर्को वर्षलाई पनि चाहिँने होला नि !”

आमालाई के हेक्का त्यहाँ लेखिएका तिथीमितीका कुरा !

(साभार: ललितपुरका प्रचण्ड सिलवालको फेशबुकमा पोष्ट गरिएको यो सन्देशमुलक लेख जुन ५ तारिख २०२० अर्थात शुक्रबार विश्वभर मनाईएको ४६ औं विश्व वातावरण दिवसको सन्दर्भमा “Fb Govinda pandey को सामाजिक संजालबाट लिइएको हो ।)
-डेस्क सम्पादक,तामाङपेज डट.कम.

प्रकाशित: समय: 14:13:24  1038पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार