“सिमाना” – उपा शंकर , काभ्रे


✍️ उपा शंकर

मानो रोपेर मुरी फलाउने चपेटामा
आमा सिकिस्त परिन्
तुलसीको मोठमा सिरानपारी
ठाउँ सारियो आमालाई
दाजु आलाप गर्दै आमा छेउ बस्नु भो
भाइ अंश भाग नमिलेर घर छोडेर हिडेको आएन आजसम्म

छिमेकी आयो हेर्यो घरको माहोल र दौडिदै गयो
मेरा जलमग्न आँखाले
आमा छोडी छिमेकी पछ्यायो

उ हाम्रो र उसैको खेतको आलीमा उभियो कुलो आफ्नाे खेतमा मर्कायो
साँधको ढुङ्गो उखेलेर एक हातबित्ता हाम्रोतिर सारेको देखेँ

आमाको प्राण गयो
क्रियाकर्म सकियो उहीँ छिमेकीको सहयोगमै
दाजु खेत हेर्न जानुु भो
आलीको माटोमा टेक्नासाथ
टाउकोमा हात राख्दै भन्नु भो
“फेरि साँध मिचिएछ”
गाउँले जोडिए गहभरी आँसु पार्दै भन्नुभो दाजुले मलिन स्वरमा  “आमा बितेकै आलो घाउमाथी नुन छर्कियो, माटोमाथी खेलबाड भो मेरो”

चुक्क कोहि बोलेनन्
देख्ने जति बोल्दै बोलेनन्
कमजोर थिए सत्यको साथ दिन नसक्ने थिए
नदेख्ने बोले साँध त्यही थियो
वर्षाैदेखि त्यही थियो

मलाई बोल्ने अधिकार दिएनन्
म अन्मिसकेकी चेली रे
मलाई पश्चताप लाग्यो
किन अन्धि भइन म
सत्य बोल्न नपाउने म किन लाटी भइन
पश्चताप त सिमानाको ढुङ्गाले पनि मान्यो होला आफूजस्तै मान्छेपनि निर्जीव भएको देखेर !!

प्रकाशित: समय: 19:11:42  203पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार