
✍️ “ज्योज्योको मरण”
भोको पेटमा पटुकी कसेर
फुटेका पैताला टेक्दै
दुई गोडाहरू थर्थरी कमाउदै
एक हातमा लठ्ठी पनि समाउँदै
तीन बीस हिउँद काटेका
बोक्दै आएका हुन्
तामाङ ज्योज्योले
दुखको अजंगको भारी
साथै बोकेका हुन् थाप्लोमा
मौसमी-बेमौसमी खेती बनेर
आउने सत्ताधारीहरूलाई पनि
कुच्याएका हुन् थाप्लो
अन्डा कुच्याए सरि
काठमाडौंका लमतन्न सडकहरूमा
भारी बोक्दै अनि धर्मराउँदै हिंड्दा
दुखीहरूको पक्षमा भनेर
लामो-लामो साङ्ले जुलुस
जिन्दावाद र मुर्दावादको नारा लगाउँदै
उनकै अगाडि हिंडेनन् कि !
ठूलाठूला आवाज आउने गरी
बमहरू पड्कीएनन् कि !
दुखीको सरकार आएको
कसैले रुन नपर्ने
कसैले भोकै बस्नु नपर्ने
चर्को भाषण सुनेनन् कि !
यी सबै कुराहरू सुनिरहे पनि
मनमा अनेकौं तर्कनाहरू
बुनीरहे पनि
छाडेन उनलाई दुखको भारीले
देश बन्दाबन्दी भएको बखतमा पनि
टुटाएनन् थाप्लोमा नाम्लो
त्यही अबस्थामा गुजुल्टीएर
सिंहदरबारको अगाडि
नाम्लो भिरिरहेको
फूटपाथमा ढलिरहेको अमूक लास
कसैको नभएर
सिंहदरबार मास्तिरको गाउँबाट
अर्को राजधानीमा
काम र मामको खोजीमा झरेका
सूर्य बहादुर तामाङ
ज्योज्योको कथा हो यो
जो ओत लाग्ने झुपडी पनि नभएर
खुल्ला पाटी पौवामा बस्दै आएका थिए
रचनाकार : रचना मोक्तान “यात्री”
दिनाङ्क : १३ जेठ २०७७
“धादिङको भरिया सूर्य बहादुर तामाङको मृत्यु २०७७/०२/११ गते सडकको पेटीमै भएको थियो । उहाँको सम्झनामा श्रद्धाञ्जली शब्दहरु”