“सपनाको जिन्दगी” – सजना गोले तामाङ , काभ्रे


✍️ सजना गोले तामाङ

भनिन्छ यहाँ जिन्दगी छोटो छ
समय लामो छ
खोज्न मन लागेको छ मलाई
अचेल यी दुई बिचको अन्तर
उस्ता उस्तै लाग्न थालेको छ अचेल
समय र जिन्दगी
समयले जिन्दगीलाई घुमाइ रहेछ
उसैगरी घुमाइ रहेछ
जिन्दगीले समयलाई
चरीको चिरबिर, उग्रिन लागेको घाम
झिसमिसे छायासंगै सुरु हुन्थ्यो
जिन्दगीको दैनिकी
छोरा छोरीको स्कुल जान तयार पार्नु
कार्यालयमा नियमित हस्ताक्षर गर्नु
बेलामा टिफिन पुर्याउनु
दिनभरीको गृहकार्यको बोझलाई हल गर्नु
फेरि दिनभरीको भोको पेटको कुरा नि सुन्नु
छोरा छोरी निदाइ सकेपछि
अलि कति बचेको समयलाई
किताबसंगै आफैंलाई पढ्नु
दैनिकी र जिन्दगीलाई नियालेर
एकै छिन निदाउनु
यसरी नै चलिरहेथ्यो
जिन्दगी, दैनिकी
खै अचेल कतातिर मोडिदै छ जिन्दगी
कसरी चलिरहेछ दैनिकी
म आफैं अनविज्ञ छु
यतिखेर,
पहिलेको जस्तो कुनै
समय तालिका छैन
न त चटारो नै छ कार्यालयमा पुग्नु
प्रत्येक दिन जिन्दगीको
एउटा डायरी पल्टाउनु
कुनै हतारो छैन मसंग
छोरा, छोरीको स्कुलको
बेल बज्ला कि भन्ने हतार नि छैन
कलिलो मष्तिकहरुले थाम्न नसक्ने
गृहकार्यको भारी नि छैन
एउटा सिंगै उपन्यास भित्र डुलिरहदा नि
एउटा सिंगाे जीवनको कथा
भित्रको पात्रहरुसंग बातचित मारिरहदा नि
एउटा सिंगै चोमोलुङमाको कविता सुनाइ रहे नि
खै त अचेल !!
जिन्दगी र समय उहि रेखामा समान्तर भइरहन्छ
समय र जिन्दगी यतिखेर परिपुरक भएर बाँचिरहेछ
र हामी एउटा
भयावह जिन्दगी जिइरहेछौ
एउटा पर्दामा देखिएको
सिनेमाको पार्ट पार्ट जस्तै गरि
सपनाको नि हरेक पार्ट पार्ट देखिदो रहेछ
जबर्जस्त देखिएको सपना होइन यो
वर्षौ देखि देख्न खोजिएको
एउटा सपना हो यो
यतिखेर,
हामीले देखेका सपनाहरुले
सिंगाे देशको कथाको अनुभुत गराइरहेछ
सग्लै सगरमाथाको इतिहास सुनाइरहेछ
त्यसैगरी,
हरेक उत्पीडित, दमित जिन्दगीहरुको
उन्मुक्तिको एउटा यादगर सपना बनिरहेछ
हो यतिखेर,
निदाइ रहेछ हरेक क्षण
हरेक पल पलमा
सपनासंगै एउटा
अनिदो जिन्दगी

प्रकाशित: समय: 19:59:01  963पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार