नयाँ जीवन पाएँ-मानछिरिङ तामाङ,न्यूयोर्क,अमेरिका ।


गत मार्च २२ तारिखका दिन आइतबार एक्कासी मलाई रुघाखोकीले च्याप्यो । साथसाथै टाउको दुःख्ने र पुरा शरीर नै दुख्ने हुन लाग्यो । म विगत ४ वर्षदेखि अमेरिकाको न्यूजर्सीस्थित एक रेष्टुरेष्टमा कार्यरत छु । यसरी रुघाखोकीले च्यापेपछि मैले न्यूयोर्कमा रहनुभएका मेरा बहिनी ज्वाँई एवं चर्चित सामाजिक अभियन्ता लुइसाङ वाइवाज्यूलाई सबै जानकारी गराएँ । उहाँ आफै मलाई लिन मार्च २४ तारिख न्यूजर्सी आउनु भयो । उहॉसँगै म न्यूयोर्क आएँ । न्यूयोर्क आएपछि झन मलाई ज्वरोपनि आउन थाल्यो।खानाको स्वादपनि थिएन । आफुलाई निकै कमजोर महसुस गरेको थिएँ ।

बहिनी ज्वाँईपनि निकै चिन्तित हुनुहुन्थ्यो । २६ तारिखका दिन ज्वाँईले मलाई अर्जेन्ट केयर लगेर कोभिड टेष्ट गराउनु भयो। तर त्यसको रिपार्ट आउन ढिला भयो । ज्वाँईले मलाई धेरै सम्झाउनु भयो । सकारात्मक आत्मबल दिनु भयो। त्यसपछि २७ तारिखका दिनदेखि अमर भाइको अपार्टमेन्टमा सेल्फ क्वारेन्टाइनको लागि सरें । मलाई त्यहाँ बहिनी दावा शेर्पाले विहानदेखि साँझसम्म हरेक दिन खानेकुरादेखि सबै कुरा धेरै सहयोग गर्नु भयो ।

एवंरीतले मेरो रुघाखोकी र ज्वरो ठीक हुन गयो । खाना खानपनि मन लाग्न थाल्यो । हल्का खोकी थियो , त्यो तातोपानी पिउँदै गरेर आफसेआफ ठीक भयो । कोभिड टेष्टको १५ औं दिनपछि बल्ल मेरो रिपोर्ट आयो । ज्वाँईले रिपोर्ट नतिजा मलाई सुनाउँदा साह्रै दुःख लाग्यो । आफुलाई सम्हालें । आत्मबल उच्च बनाएँ । त्यसो त रुघाखोकी, ज्वरो ठीक भइसकेको थियो ।

आज विरामी भएको २८ दिन पुरा भएको छ । मलाई अस्पतालमा भर्ना हुनु पर्ने अवस्था समेत भएन । आफू एकदम ठीक भएको महशुस भइरहेको छ । अहिले भने छुट्टैरुपमा बसिरहेको छु । यतिखेर मलाई कोरोना भारसदेखि बाँचेर नयाँ जीवन पाएको अनुभूति भएको छ । यस्का लागि मेरो बहिनी ज्वाँई लुइसाङ वाइवा र दावा शेर्पा बहिनीको साथ सहयोगको जीवनभरि ऋणी हुनेछु । तपाईहरुले यस्तो जटिल परिस्थितिमा पनि मलाई सहयोग गर्नु भएकोमा ह्रदयदेखि आभार प्रकट गर्दै यस्तैगरी हरेक साँझ – बिहान मलाई सम्पर्क गरेर सम्झाईबुझाई गर्नुहुने,सकारात्मक आत्मबल दिनुहुने कुमारी नाना,टेक दाई, रञ्जु भाउज्यू,काशी बहिनी,गंगा भेना,राजन गौली सर,स्मृति बहिनी,विमला बहिनी,नारायण परियार भाई,आस घर्ती मगर भाई,भाञ्जीज्वाँई रुबी-कर्मा,कान्छा भाइलाई ह्रदयदेखि धन्यवाद दिन चाहन्छु । हरेक साँझ विहान मलाई खानपिनको व्यवस्था गरिदिनुहुने टेकदाई,रञ्जु भाउज्यू र काशी बहिनीलाई दुई हात जोडेर नमन गर्न चाहन्छु ।

यस्तैगरी मलाई प्रोत्साहन,हौसला र आत्मबल बढाउन बारम्बार फोनबाट आवश्यक सल्लाह र सुझाव दिनुहुने तामाङ समाज अमेरिकाको अध्यक्ष सानुमाया तामाङ,समाजसेवी भरत मोक्तान, इन्द्र तामाङ,नेपाली जन सम्पर्क समितिका महासचिव मुनिन्द्र नेम्वाङ,एनआरएनए अमेरिका न्यूयोर्क च्याप्टरका अध्यक्ष रामहरि अधिकारी,धादिङ नेपाली समाज अमेरिकाका अध्यक्ष दीवाकर पाण्डे,उपाध्यक्ष भक्त गुरुङलगायत मलाई प्रत्यक्ष र परोक्षरुपमा सु:स्वास्थ्यको कामना गर्नु हुने सबैप्रति नमन गर्दछु । साथै कोभिड – १९ महामारीबाट बच्न हेलचक्र्याईं नगरी सचेत रहन पनि बिनम्रतापूर्क अनुरोध गर्दछु ।

(नोट : नेपालको धादिङ जिल्लाका वासिन्दा,संचारकर्मीसमेत रहनु भएका मानछिरिङ तामाङ,हाल अमेरिकाको न्यूजर्सिस्थित एक रेष्टुरेन्टमा कार्यरत तामाङले कोरोना भाइरसको संक्रमणबाट जित्नु भएर आफ्नो सामाजिक संजाल फेशबुकमा पोष्ट गरेको अनुभुति ,नयाँ जीवन प्राप्तिको अनुभवलाई केही सम्पादन गरेर सम्प्रेषण गरिएको छ-डेस्क सम्पादक ।)

प्रकाशित: समय: 16:51:48  570पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार