१४ अक्टोवर,टोकियो जापान
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जापान शाखाले नेपालीहरुको दोस्रो ठूलो पर्व तिहारको अवसर पारेर जापानको दुई ठूला शहरमा बृहत देउसीभैलो कार्यक्रमको आयोजना गर्ने बताएको छ |
कलाकार अक्षय कोष स्थापना गर्ने उद्देश्यले प्रतिष्ठानको अधिवेशनपछि बनेको नयाँ कार्यसमितिले गर्न लागेको यो पहिलो कार्यक्रम हो । देउसी भैलो कार्यक्रममा प्रतिष्ठानका निवर्तमान अध्यक्ष तथा चर्चित गायक चन्द्र शर्माको विशेष उपस्थिति रहनेछ भने साथमा रामकृष्ण वम मल्ल, सूर्य खड्का, माधव सिग्देल, सोना केसी, दिलेन्द्र जोसी, पुरुषोत्तम सिग्देल लगायतका कलाकारहरुको पनि प्रस्तुति रहने कार्यक्रम संयोजक तथा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जापान शाखाका प्रवक्ता केशब पौडेलले जानकारी दिए ।
प्रतिष्ठानको देउसी भैलो कार्यक्रम जापानको मुख्य दुई शहर फुकुओका र टोकियोमा आयोजना हुने भएको हो । आउँदो अक्टोबर २७ तारिख आइतबार साँझ ५ बजे देखी नाना हाउस इथिनिक रेष्टुरेण्ट एण्ड बार फुकुओका र २८ तारिख सोमबार ५ बजेदेखी अजिवाई टोकियो रेष्टुरेण्ट टोकियोमा हुनेछ । उक्त कार्यक्रममा प्रतिष्ठान जापान शाखाका कलाकारहरुको संयुक्त तथा एकल प्रस्तुति रहने आयोजकले जानकारी दिएको छ ।
साथै देउसी भैलो कार्यक्रममा उपस्थित हुन जापानवासी नेपाली समुदाय, विभिन्न संघ संस्थाहरु, पत्रकार सबैलाई प्रतिष्ठानले अनुरोध समेत गरेका छन् ।