तामाङ समाज जापानले डम्फू साँझलाई एक साँस्कृतिक उत्सवको रुपमा मनाउने

साथमा डम्फूको तालमा तम्बा गीत तथा नृत्यको प्रस्तुति पनि रहनेछ

सजिना मोक्तान,            

अगस्ट २३, टोकियो 

हरेक वर्षझैँ यसपाली पनि प्रवासी तामाङहरुको साझा संस्था नेपाल तामाङ समाज जापानले आफ्नो स्थापनाको १०औँ बर्ष प्रवेशको अवसर पारेर साँगीतिक कार्यक्रम गर्दै डम्फू साँझको आयोजना गर्ने भएको छ ।

सोनाम ल्होछारलाई नयाँ वर्षको रुपमा मनाउने तामाङ समुदायले डम्फूसंग जोडिएको आफ्नो इतिहाँस र संस्कृतिलाई डम्फू साँझ मार्फत् संस्कृतिको जगेर्ना गर्दै आइरहेको छ ।  

यहि आउँदो अगस्ट २५ तारिख आइतवार टोक्योको सिन ओकुवो स्थित टोकियो रोधी क्लवमा डम्फू साँझ भव्य रूपमा मनाउने समाजका अध्यक्ष कुमार मोक्तानले जानकारी दिए।  

डम्फू तामाङ जातिको चिनारीसँग जोडिएको बाजा हो । ठेट तामाङ भाषामा यसको नाम डाम्बा भएपनि डम्फू यसको नेपालीकरण भएको नाम हो । डम्फूको आकार गोलो हुन्छ । अनुमानित एक हातको गोलाकार डम्फू काठको घेराको एकापट्टी भेडा-बाख्रा या मृगको छालाले बेरेर खील मारेको हुन्छ भने अर्कापट्टी खुला रहन्छ । यो देब्रे हातले समाती दाहिने हातका औंलाले पिटेर बजाउने बाजा हो । विशेषतः तामाङ जातिमा लोकप्रिय त छँदैछ तर झाम्रे नाच तथा गीतमा गुरुङ र मगरहरूले पनि डम्फुको प्रयोग गर्ने गर्दछन् । 

कतिपय ठाउँका तामाङहरूले अहिले पनि डाम्बा नै भन्ने गर्दछन् । प्राचीन कालमा पेङ दोर्जेले आफ्नो प्रेमिकालाई खुसी बनाउनका लागि कोइरालोको रूखको घेरामा मृगको छालाले मोडेर ३२ किला ठोकेर डाम्बा बनाएका हुन भन्ने किंवदन्ती तामाङ समाजमा प्रचलित छ । त्यसैले हरेक डाम्बामा ३२ किला ठोकेमा मात्र राम्रो स्वर दिन्छ भन्ने मान्यता अहिले प्रचलित पनि छ । तामाङ जातिहरु डम्फूको साथमा आफ्ना दुख सुख व्यक्त गर्दछन् । पूर्खालाई सम्झेर गीत मार्फत् इतिहाँस सुनाउँछन । डम्फूलाई वुद्ध र वोधीसत्वको प्रतीक पनि मानिन्छ । डम्फूको घेरामा रहेको ३२ वटा किलाले वुद्धको ३२ लक्षण झल्किन्छ भन्ने मान्यता छ । 

तामाङ जातिको संस्कार र संस्कृति डम्फू विना अधुरो मानिन्छ । पछिल्लो समय पश्चिमा संस्कृतिको आगमन संगै डिस्कोमा रम्ने युवा पुस्ता र आफ्नो भाषा संस्कृति विर्सिदै जाने परिपाटीलाई विस्थापित गर्न र आफ्नो पुर्खाले वचाएर राखेको संस्कार संस्कृति र इतिहाँसलाई कालान्तरसम्म जोगाई राख्न अनि भावी पुस्तालाई हस्तान्तरण गर्न सकियोस र आफ्नो इतिहाँस युगौ रहिरहोस भन्ने हेतुले तामाङ जातिहरु जहाँ गए पनि जता रहेपनि विभिन्न संघ संस्था मार्फत आफ्नो संस्कारलाई जोगाइराख्ने गरेका छन् । 

यसपालीको डम्फू साँझलाई अझ प्रभावकारी बनाउन नेपालबाट जापान आइपुगेका सेलो गायिका मिङमार लामा (मिङ्स), उदघोषिका तथा मोडल लक्ष्मी तामाङ, हाँस्य कलाकार हर्के हवल्दारका इन्द्र दोङ (खम्बे) का साथमा जापानमै क्रियाशील सेलो गायक गायिका तथा नृत्याङ्गानाहरुको भव्य प्रस्तुति रहनेछ । साथै सवै क्षेत्र, पेशा,व्यवसाय गरेर वस्ने हरेक तामाङ एवं गैर तामाङहरुलाई पनि उपस्थितीको लागि अनुरोध गरिएको छ । त्यसैले हरेक चाडपर्व जस्तै डम्फू साँझलाई पनि एक भव्य साँस्कृतिक महोत्सवको रुपमा मनाउनुपर्ने समाजका महासचिव हिमाल लामा वाईबाले वताए ।

प्रकाशित: समय: 3:52:47  831पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार