जापानमा बिश्व आदिवासी जनजाति दिवस सम्पन्न


तामाङपेज संवाददाता,
टोकियो,जापान।

जापानमा रहेको आदिवासी जनजाति समुदायले राजधानी टोकियो स्थित रोधीघरमा एक कार्यक्रमको आयोजना गरी बिश्व आदिवासी जनजाति दिवस मनाएका छन्।
कार्यक्रम नेपालबाट आमन्त्रित नेपाल आदिवासी जनजाति महासंघका केन्द्रीय उपाध्यक्ष तथा नेपाल मगर संघका अध्यक्ष नवीन रोका मगरको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो।

कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख अतिथि मगरले आदिवासी जनजातिहरुको लडाई बाहुन क्षेत्री या जाति बिशेष विरुद्ध नभई हिजोदेखि आजसम्म आदिवासी जनजाति, वर्ग तथा क्षेत्र समुदायको विरुद्धमा शासन व्यवस्था संचालन छ त्यस राज्य नीतिको विरुद्धमा भएको बताएका छन् । आज आदिवासी जनजातिले समानुपातिक समावेशी पहिचानको मुद्दाको सवालको जवाफ कुनै पार्टी वा जातिले दिने नभई शासन सत्ता सहितको राज्यले दिनु पर्ने उनले बताए। भाषिक,धार्मिक,आर्थिक तथा सांस्कृतिक उत्पीडनको कुरा उठाउँदा वाहुन क्षेत्री साथीहरुको बुझाईमा गलत अर्थ लाग्न जाने र जातको कुरा उठायो भन्ने भ्रम सिर्जना हुने गरेकाले यो गलत सन्देश भएको जिकिर गरे । हामी हाम्रो देशलाई जापान भन्दा विकसित बनाउन चाहेको भन्दै देशलाई समृद्ध बनाउन सामाजिक न्याय सहितको समानुपातिक व्यवस्था हुपर्नेमा जोड दिदै हिजोको आन्दोलनको दौरान आदिवासी नेताले आफ्नो कर्तव्यलाई पालना गर्न चुक्नु र नेतृत्वको मर्यादालाई कुल्चिदिंदा क्षति भएको कुरा सत्य भएको स्वीकार गर्नु परेको बताए । आजपनि मुलुकमा छुवाछुत ज्युँदै रहेको भन्दै राजनीतिक पार्टी र दलका कारण सामाजिक न्याय सहितको राज्यको पुनरसंरचना ओझेलमा परेकोले सामाजिक चेतना सहितको राजनीतिक आन्दोलन र राजनीतिक चेतना सहितको सामाजिक आन्दोलनको समायोजन विना उत्पीडित वर्ग क्षेत्र र आदिवासीको पहिचान स्थापना असंभव हुने बताएका छन्।
कार्यक्रममा नेपाल तामाङ समाज जापानका अध्यक्ष कुमार मोक्तान, नेपाल आदिवासी जनजाति महासंघ फोनीजका सचिव फुर्वा शेर्पा,नेवा अन्तर्राष्ट्रिय फोरम जापानका महासचिव शिव तण्डुकार,किँरात याक्थुंग चुम्लुंग जापानका अध्यक्ष चन्द्र बहादुर लिम्बु,व्यवसायी संघ जापानका सचिव बावुराम पौडेल, पत्रकार महासंघ जापानका अध्यक्ष मोहन घले, नेपाल आदिवासी जनजाति पत्रकार महासंघका सल्लाहकार सन्जिव राई, तमुधीँ जापानका अध्यक्ष अनिता गुरुङ, बिशेष अतिथि ओम गुरुङ, अतिथि बेलकाजी थापा लगायतका ब्यक्तिहरुले आ-आफ्ना धारण व्यक्त गरेका थिए।
कार्यक्रममा नेपाल तामाङ समाज तमुधीँ जापान, नेवा मोर्चा फोरम, थामी समाज शेर्पा संघ लगायतका संस्थाहरुलाई सम्बन्धन प्राप्त सहित प्रशंसापत्र प्रदान गरिएको थियो । साथै गायिका काजल गुरुङ, फूर्वा शेर्पा, प्रेमिला गौचनलाई पनि प्रसंसापत्र सहित सम्मान गरिएको थियो ।
नेफिनका अध्यक्ष सुमन लिम्वुको अध्यक्षता र महासचिव शान्त पहरीको संचालनमा सम्पन्न भएको कार्यक्रमलाई स्वागत मन्तव्य भने कार्यक्रम संयोजक तथा नेफिनका उपाध्यक्ष पेम्वा शेर्पाले राखेका थिए।

प्रकाशित: समय: 21:13:59  569पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार