श्याम तामाङ ,तामाङपेज,काठमाडौं ।
रसुवा। हिन्दु तथा बौंद्धधर्मलम्बिहरुको आस्थाको केन्द्र गोसाइँकुण्डमा यो वर्षको मेला सोमबार नागपन्चमीको दिनदेखि शुरु भएको छ । गोसाइँ बाबा भगवान् शिवको दर्शन,गोसाइँकुण्डमा स्नान तथा पितृहरुको नाममा पुजाआजा सहित विविध धार्मिक कार्यहरु भक्तजनहरुले गर्ने गर्छन् ।
विशेष गरि प्रत्येक वर्ष गोसाइँकुण्डमा गंगा दशहरा र श्रावण शुक्ल पुर्णिमाको दिन पर्ने जनैपूर्णिमाकादिन वर्षमा ठूलो मेला लाग्ने गर्दछ । हिन्दु धर्मका पण्डित ,बौद्धधर्मका लामा ,त्यस्तै गरि बोन संस्कार अन्तर्गत विभिन्न जिल्लाका बोम्बोहरु अत्याधिक मात्रामा गोसाइँकुण्ड विशेष गरि जनैंपुर्णिमाको दिन पुग्ने गर्छन् । पण्डित ,लामा र बोम्बोहरुद्वारा पुजापाठ गर्ने धार्मिक नित्य कर्म गर्ने परम्परा प्राचीन कालदेखि रहँदै आएको छ ।
समुन्द्री सतहबाट ४ हजार ३ सय ८० मिटरको उचाईमा रहेको पवित्रस्थल गोसाइँकुण्डमा १ सय ८ वटा कुण्ड रहेको मौखिक भनाईहरु गोसाइँकुण्डको बारेमा जाने बुझेकाहरु बताउँछन् जस्मध्ये भैरवकुण्ड,आमाकुण्ड,रक्तकुण्ड,सुर्यकुण्ड,नागकुण्ड,कालीकुण्ड,चन्द्रकुण्ड,दुधकुण्ड,सरस्वतीकुण्ड लगायत रहेका छन् ।
उच्च स्थानमा रहेको गोसाइँकुण्डमा जाने भक्तजनहरुले अक्सिजन कमि हुने भएकाले औषधि,लसुन,कागती,तातोपानी,भिक्स लेक लागेर वाकवाकी लाग्ने,रिंगटा लाग्ने,बान्ता लाग्ने भएकाले साथमा नैं बोकेर लानु पर्दछ ।
रसुवा जिल्लाको गोसाइँकुण्ड गाउँपालिका वडा नं.५ को लाङटाङ राष्ट्रिय निकुन्ज भित्र रहेको गोसाइँकुण्डमा काठमाडौं ,नुवाकोट,सिन्धुपाल्चोक र रसुवाका ४ नाकाबाट पुग्न सकिन्छ।
जस्तो: काठमाडौं- नुवाकोट- धुन्चे हुँदैं गोसाइँकुण्ड ,सिन्धुपाल्चोक-मेलम्ची- ठाडेपाटी हुँदै गोसाइँकुण्ड,काठमाडौं-सुन्दरीजल-कुटुमसाङा हुँदै गोसाइँकुण्ड र अर्को नुवाकोट घ्याङफेदी – यार्सा हुँदै गोसाइँकुण्ड स्थलमार्ग,पैदल यात्रा ,यातयातका साधन तथा हेलिकप्टरबाट यात्रा गर्न सकिन्छ।
गोसाइँकुण्डमा जाँदा विशेष गरि यात्रुहरुले केही बाक्लो लुगा,लत्ताकपडा,लठ्ठी,औंषधी जन्य सामग्री,तुमलेट,स्लिपिङ ब्याग,सुख्खा खानेकुराहरु,आवस्यक सामग्री ब्यवस्था गर्नु पर्ने हुन्छ । यात्रुहरुको सुविधालाई मध्यनजर गरेर व्यवसायीहरुले सुविधा सम्पन्न होटेल,लज,अस्थायी टहरा,बासस्थानहरु श:शुल्क पाईन्छ ।
यो वर्ष गोसाइँकुण्डको मेला श्रावण ३० गते जनैंपुर्णिमाको दिन ठुलो मेला लाग्दछ । यस पवित्रस्थलको यात्रा गर्नाले आफुले मनले चिताएको पूरा हुने ,पितृहरुको आत्माको मोक्क्ष प्राप्तिहुने ,ग्रह दशा फाल्ने ,पुण्य कर्म हुने जस्ता मनले आँटेको पुर्ण हुने जनविश्वाश रहेको छ ।