यही धर्तिमा !
********
हरेक रात रुँदै रुँदै
भोकै निदाउँनु
हर बिहान भात भन्दै
रुँदै विताउँनु
यस्तो पनि कथा हुन्छ ।
मान्छेहरूकै
आकासमा हैन पातालमा हैन
यही धर्तिमा
अपच भएर मान्छे मर्ने
यही धर्तिमा !
फोहोरका थुप्रा थुप्रा
खाना कोट्याउँनु
सास धान्नु तत्काल तर
आयु छोट्याउँनु
यस्तो पनि जीवन हुन्छ ।
मान्छेहरूकै
जङ्गलमा हैन मरुस्थलमा हैन
भव्य सहरमा !
कुकुरहरूले भत्ता बुझ्ने
यही सहरमा !
आमा भन्दै वावा भन्दै
रुनु कराउँनु
मरिन्छ कि वाँचिन्छ भन्दै
हरपल डराउँनु
यस्तो पनि कहर अझै छ ।
दिदी-बहिनीको
ओढारमा हैन भीरमा हैन ।
भव्य महलमा
एका थरीले स्वर्ग हो भन्ने
सुनका महलमा !
प्रगतिशील धाराका लेखक एवं कवि बलराम तिमल्सिना
२०७६|०४|०१ भक्तपुर