बौद्ध घ्याङ गुठीका पुजारी भुपति बज्र लामाको ज्यादती विरुद्ध बौद्धवासी आन्दोलित

असार १५ गतेदेखि २० गतेसम्म चरणवद्ध आन्दोलन घोषणा गरेको बौद्ध बचाउ संघर्ष समितिका सचिव एवं प्रबक्ता सम्पुर्णकुमार लामाले जानकारी गराएका छन् ।

तामाङपेज संवाददाता ।

काठमाडौं ।

महास्तुपाको कोरजोन भित्र तीन वटा वोधिचित्तको बोट मध्ये दुई वटा बोटको माला बेच्ने निहुँमा बौद्ध घ्याङ गुठी र बौद्धनाथ क्षेत्र विकास समितिबीच चर्केको विवादले आन्दोलनको स्वरुप लिएको छ ।

विवादको चुरो तत्कालिन चिनियाँ लामा शेरबदोर्जे लामाको निधनपछि जब भुपतिबज्र लामालाई बौद्ध घ्याङ गुठीको चिनियाँ लामा तथा पुजारीमा गुठी संस्थानले नियुक्ति गरेपछि बौद्धवासी भुपतिबज्रको नियुक्तिलाई विरोध गर्दै आएका थिए ।

बौद्ध घ्याङ गुठीको चिनियाँ लामा तथा पुजारी भुपतिबज्र लामाको ज्यादती विरुद्ध  सबैको साझा धरोहर बौद्ध बचाऔं अभियानमा सहभागी बनौं भन्ने मुल नारासहित गठित बौद्ध बचाउ संघर्ष समितिले असार ९ गतेदेखि चरणवद्ध आन्दोलनमा होमिएको छ ।

आन्दोलनको क्रममा धर्ना ,तालाबन्दी ,विभिन्न सभा,समारोह बौद्ध घ्याङ गुठी परिसरमा समेत गर्दै आएका छन् ।

स्थानियवासीको व्यापक जनसहभागिता रहेको बौद्ध बचाउ संघर्ष समितिले शुक्रबार श्री बौद्ध तामाङ कल्याण गुठीको सभा हल,बौद्ध ,फुलबारीमा आन्दोलनको थप कार्यक्रम घोषणा गरेको छ ।

आन्दोलनको अग्रपंक्तिमा श्री बौद्धनाथ क्षेत्र विकास समिति ,श्री बौद्ध तामाङ कल्याण गुठी,बौद्ध फुटबल क्लब ,छोरङान महिला समाज,श्री बौद्धनाथ क्षेत्र विकास समितिका पुर्व अध्यक्षहरु ,पुर्व कार्यकारी निर्देशकहरु,पुर्व कामनपा -६ बौद्धका वडाअध्यक्षहरु,सामुदायिक सेवा समिति ,बौद्ध ,ओम तामाङ शुख दुख सेवा गुठी ,बौद्धिक ब्यक्तित्वहरु ,बौद्धबासीहरुको समर्थनमा गठित बौद्ध बचाउ संघर्ष समितिका सचिव,प्रबक्ता एवं श्री बौद्धनाथ क्षेत्र विकास समितिका पुर्व अध्यक्ष सम्पुर्णकुमार लामाले बौद्ध घ्याङ गुठीका चिनियाँ लामा तथा पुजारी भुपतिबज्र लामाले राजिनामा कि बर्खास्त बाहेक अरु विकल्प नरहेको तामाङपेजसङ्गको सम्पर्कमा बताएका छन् ।

समितिका सचिव लामाले भोलि असार १५ गते गुठी संस्थान धर्ना ,असार १६ गते संस्कृति ,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय धर्ना,असार १७ गते पुरातत्व विभागमा धर्ना,असार १८ गते जिल्ला प्रशासन कार्यालय बबरमहलमा ताकेता ,असार १९ गते बौद्ध घ्याङ गुठी कार्यालय बौद्ध परिसरमा धर्ना  र असार २० गते गुठी संस्थान र बौद्ध घ्याङ गुठी परिसरमा धर्ना गर्ने कार्यक्रम रहेको जनाउनु भएको छ।

बौद्ध घ्याङ गुठीका चिनियाँ लामा तथा पुजारी भुपतिबज्र लामाको ज्यादती विरुद्ध बौद्ध बचाउ संघर्ष समितिले असार ३ गतेदेखि आन्दोलन गरि रहेको छ भने यता बौद्ध घ्याङ गुठीका चिनियाँ लामा तथा पुजारी भुपतिबज्र लामा भने शनिबार छिमेकी राष्ट्र चिनतर्फ प्रस्थान गरेका छन् ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

प्रकाशित: समय: 22:45:40  1184पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार