तामाङपेज संवाददाता
काठमाडौं ।
काव्य स्कुल नयाँबानेश्वरका ४० जना विद्यार्थी बुधबार प्रहरी प्रधान कार्यालय नक्सालस्थित प्रहरी महानिरीक्षक तथा गीतकार सर्वेन्द्र खनाललाई भेट्न पुगे ।
नेपाल प्रहरीले गत मंसीर ११ देखि मुलुकका ७७ वटै जिल्लामा एकसाथ लागु गरेको समुदाय—प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत ‘प्रहरीसंग एकदिन’ कार्यक्रममा सहभागी हुन काव्य स्कुलमा गठित प्रहरी—विद्यालय समन्वय समितिका पदाधिकारी र अरु विद्यार्थी प्रहरी संगठनका प्रमुख, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल भेट्न त्यहाँ पुगेका थिए ।
विद्यालयका संस्थापक प्रिन्सिपल नवराज बास्कोटा तथा संस्थापक निर्देशक रिजन खड्का, नेपाली शिक्षक ठमनाथ लम्साल र संगीता कर्णको साथमा काव्य स्कुल प्रहरी—विद्यालय समन्वय समितिका पदाधिकारी र काव्यकै नृत्यकार अरु २० विद्यार्थी पनि नृत्य निर्देशक एवम् कोरियोग्राफर रीता महर्जन नक्साल पुगेका थिए ।
सामुदायीक प्रहरी सेवा केन्द्र नयाँबानेश्वर १० का इन्चार्ज प्र.ह ताराराम दयालले संयोजनकारी भूमिका निभाएका थिए । समुदाय—प्रहरी साझेदारी कार्यक्रम लागु गरिएका राजधानीका विभिन्न ८ वटा विद्यालयका दुईसय विद्यार्थी प्रहरीसंग एकदिन कार्यक्रममा सहभागी हुन त्यहाँ पुगेका थिए । सामुदायीक प्रहरी सेवा केन्द्रहरुले कार्यक्रम संयोजन गरेको थियो ।
त्यस अवसरमा प्रहरी महानिरीक्षक खनालद्वारा लिखीत ‘नेपाली जनजनको मनमनमा नेपाल प्रहरी’ बोलको प्रहरी गीतमा काव्य स्कुलका २० जना विद्यार्थीले नाटकसहित नृत्य प्रस्तुत गर्दा महानिरीक्षक खनालले खुलेर त्यसको प्रशंसा गरेका थिए । सो गीतमा काव्य स्कुलकी नृत्य निर्देशक÷नृत्य शिक्षिका रीता महर्जनले कोरियोग्राफी गरेकी थिइन् ।
कार्यक्रममा काव्य स्कुलको साथै ग्यालेक्सी पब्लिक स्कुल, हिमरश्मी हाइस्कुल, जोसेफ स्कुल, नन्दी स्कुल नारायणचौर, शान्ति विद्यागृह, युलेन्स स्कुल र सेन्ट जेभियर्स स्कुल जावलाखेलका विद्यार्थी र प्रिन्सिपलहरुको सहभागिता थियो ।
कार्यक्रममा प्रहरी महानिरीक्षक खनालले विद्यार्थीहरुसंगको भेट तथा अन्तरक्रिया कार्यक्रममा कानुनको नजरमा सबै नागरिक समान हुने बताउँदै कानुन कार्यान्वयन गर्न नेपाल प्रहरी हरदम तयार रहेको बताए ।
कानुन कार्यान्वयनको सिलसिलामा नियम पालना गराउँदा वा प्रतिवन्धित काम गर्न नदिँदा प्रहरीलाई दोष दिनु राम्रो होइन भन्दै उनले शिक्षाको गुणस्तर राम्रो बनाउन र समाजमा शान्ति सुरक्षा कायम गर्न प्रहरी, विद्यालय र समाज एकसाथ मिलेर अगाडि बढ्नुपर्ने उल्लेख गरे ।
के काम गरे अपराध हुन्छ भन्ने जानकारी नभए पनि अपराधमा फस्ने भएकोले सबैले अनुशासनमा बसेर अगाडि बढेमा समस्या नआउने बताउँदै महानिरीक्षक खनालले यही कुरा हरेक स्कुल र समाजमा बुझाउनुपर्छ भन्ने अवधारणाले नै प्रहरीले विद्यालय सम्पर्क कार्यक्रम अघि सारेको बताए ।
भूकम्प, प्राकृतिक प्रकोप, सडक सुरक्षा लगायतका सुरक्षामा स्कुलले समेत सामान्य नियम बनाई लागू गर्नुपर्नेतर्फ जोड दिँदै महानिरीक्षक खनालले प्रहरी सबै नागरिकको साझा संगठन हो भन्ने भावना जागृत हुनुपर्नेमा जोड दिए ।
प्रहरी के हो, के काम गर्छ, प्रहरी र समाजप्रति हाम्रो दायित्व के हो भन्ने बुझ्ने वातावरण बनाउन यस भेटघाट कार्यक्रमले सहयोग र्पुयाउने विश्वास उनले व्यक्त गरे ।
प्रहरी सेवामा देश, नागरिक, युएन मिसन समेत राष्ट्रिय अन्तर्रा्ष्ट्रिय स्तरको सेवा गर्न पाइने चर्चा गर्दै प्रहरी महानिरीक्षक खनालले अब म पनि प्रहरी बन्छु भन्ने सोच्न समेत विद्यार्थीहरुलाई आग्रह गरे । सबैले चाहेजस्तो इमानदार, कानून कार्यान्वयन गर्न सक्ने, सेवामा समर्पित कर्मठ प्रहरी बन्दै काम गर्न आफू उद्दत रहेको विचार उनले व्यक्त गरे ।
उक्त अवसरमा प्रहरी महानिरीक्षक खनालले कार्यक्रममा सहभागी काव्य स्कुलका संस्थापक प्रिन्सिपल नवराज बास्कोटा लगायत सहभागी प्रिन्सिपल र प्रतिनिधिलाई उपहार प्रदान गरेका थिए ।
कार्यक्रममा प्रहरी नायव उपरीक्षक रञ्जन दाहालले नेपाल प्रहरी सम्बन्धी सामान्य जानकारीको साथै समुदाय—प्रहरी साझेदारी कार्यक्रम र यसप्रति विद्यार्थीहरुको दायित्व सम्बन्धमा प्रस्तुतीकरण गरेको थिए ।
लागूऔषध दुव्र्यसन तथा यसबाट पर्नसक्ने असरबारे “नसोचेको जिन्दगी” लघु वृत्तचित्र र साइवर क्राइमबारे चेतनामूलक भिडियो प्रदर्शन गरिएको थियो ।
सहभागी शिक्षक र विद्यार्थीहरुले प्रहरी प्रधान कार्यालयस्थित प्रहरी संग्रहालय कमाण्ड सेन्टर,अमर प्रहरी स्मारकको अवलोकन समेत गरेका थिए ।