एसओएस वालग्राम सानोठिमीकी आमासहित १७ जनालाई दीर्घसेवा सम्मान


अभिभावक गुमाएर एसओएस वालग्राम सानोठिमीमा आश्रीत बालबालिकाको स्याहारसुसार गर्दै गुणस्तरीय शिक्षा दिन आफ्नो जीवनको तीन दशकभन्दा बढी समयसमर्पित गर्ने दुईजना आमा सहित शिक्षक र कर्मचारी गरी १७ जनालाई शनिबार दीर्घसेवा सम्मानबाट सम्मानित गरिएको छ ।

अभिभावक गुमाएका र गुमाउन सक्ने जोखिममा रहेका बालबालिकाको लागि ‘मायालु घर’ को रुपमा परिचित विश्वव्यापी संस्था एसओएस वालग्रामको ७० औं स्थापना दिवस तथा यसका संस्थापक प्रा.डा.हर्मन माइनरको शताब्दिऔं (१००वर्ष) जन्मजयन्तीको अवसरमा दीर्घसेवी कर्मचारीलाई सम्मानित गरिएको हो ।

एसओएस वालग्राम सानोठिमीले आयोजना गरेको कार्यक्रममा सानोठिमी वालग्रामको १६ वटा पारिवारिक घरमध्ये शिशु निकेतन घरकी आमा गोमा गुरुंग र लालीगुराँस घरकी आमा लक्ष्मी घिमिरेलाई वालग्राममा ३१ वर्ष सेवा गरेवापत सम्मान गरिएको थियो ।

शनिबार सम्मानित हुनेहरु सबैले वालग्राम र वालग्रामद्वारा सञ्चालित हर्मन माइनर स्कुलमा कम्तीमा पनि २५ वर्ष सेवा गरेका छन् । एसओएस वालग्राम नेपालका राष्ट्रिय अध्यक्ष डा.ज्योतिरत्न धाख्वा, राष्ट्रिय निर्देशक इश्वारीप्रसाद शर्मा तथा सानोठिमीका योजना निर्देशक खगेन्द्रप्रसाद नेपालले उनीहरुलाई दोसल्ला , ताम्रपत्र पुष्पगुच्छा दिएर सम्मान गरेका थिए ।

यसैगरि २५ वर्षभन्दा बढी सेवा गरेका वालग्रामद्वारा सानोठिमीमा सञ्चालित हर्मन माइनर स्कुलका गणित विषयका शिक्षक बिरेन्द्र भण्डारी र नेपाली भाषाका गुरु कपिलमणी ज्ञवाली,पुर्ण चौधरी र विन्दु खनाल, सोही विद्यालयका वरिष्ठ सचिव लव पोखरेल र वरिष्ठ लेखा अधिकृत लेखनाथ पोखरेल छन भने आयोजना निर्देशकहरुमध्ये एसओएस युवाग्राम कोटेश्वरका योजना निर्देशक कविन्द्र शाह र सानोठिमी वालग्रामका वित्त सहनिर्देशक वीरेन्द्र श्रेष्ठ छन । यसैगरि अन्य कर्मचारीहरुमा सानोठिमी वालग्रामका सहयोगी लक्ष्मी सुवेदी, पुर्ण चौधरी, चालक मोहन थापा र नानी खड्का छन् ।

यसैगरि युवाग्राम कोटेश्वरका सचिव पुर्णप्रकाश श्रेष्ठ र सहयोगी दिलबहादुर पोडे छन । सेरामिक तालीम केन्द्र सानोठिमीका ह्याण्डीम्यान जीपबहादुर चेपांग र एसओएस वालग्रामको नेपाल कार्यालयकी सहयोगी शारदा थापा छिन् ।

यसैगरि सोही समारोहमा सानोठिमीमा रहेका १६ वटा पारिवारिक घरमध्ये शैक्षिक मुल्यांकनमा पहिलो भएको शिशु सदन घरलाई नगद ५ हजारसहित उत्कृष्ट घरको पुरस्कार पनि प्रदान गरियो भने गतशैक्षिक सत्रमा उत्कृष्ट अंक ल्याउने छोरीमध्ये ११ नं घरकी छोरी करुणा लामालाई नगद ३ हजारसहित पुरस्कृत गरियो ।

सोही अवसरमा वालग्रामद्वारा प्रकाशित ‘रिफ्लेक्सन’ स्मारिकाको एसओएस वालग्राम नेपालका राष्ट्रिय अध्यक्ष डा.ज्योतिरत्न धाख्वा, राष्ट्रिय निर्देशक इश्वरीप्रसाद शर्मा तथा सानोठिमीका योजना निर्देशक खगेन्द्रप्रसाद नेपालले विमोचन पनि गरे ।

कार्यक्रममा राष्ट्रिय अध्यक्ष डा.धाख्वा, राष्ट्रिय निर्देशक शर्मा, सानोठिमीका योजना निर्देशक नेपाल, सम्मानित व्यक्तित्वको तर्फबाट नेपाली भाषाका शिक्षक कपिलमणि ज्ञवाली, वालग्रामकी नर्स कमला थापा, छात्रा अस्मिता तामांग लगायतले बोलेका थिए ।

अष्ट्रियाका समाजसेवी प्रा.डा.हर्मन माइनरद्वारासन् १९४९ मा अष्ट्रियाको इम्स्ट शहरबाट शुरु भएको एसओएस वालग्राम हाल १ सय ३५ मुलुकमा विस्तारित छ भने स्थापनाको ७० वर्षको अवधिमा विश्वभरका ४० लाख वालवालिकालाई प्रत्यक्ष संरक्षण गरिसकेको छ ।

प्रकाशित: समय: 20:36:21  353पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार