तामाङपेज संवाददाता ।
रसुवा । रसुवाको गोसाइँकुण्ड गाउँपालिका–२ टिमुरेमा निर्माण भइरहेको रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा फसेका कामदार सकुसल बाहिर आएका छन् । बिहीबार राति साढे ८ बजे पहिरो जाँदा सुरुङ भित्र फसेका १७ जना कामदार सकुसल बाहिर आएका हुन् ।
पहिरोले सर्ज साफ्ट जाने बाटोमा क्षति पुर्याएपछि कामदार भित्रै बसेका थिए । आयोजनाको सर्ज साफ्ट भन्दा माथि रहेको डाँडाबाट झरेको पहिरोले विद्युतको पोलमा लाग्दा विद्युत् अवरुद्ध भएको थियो । सो क्षेत्रमा विद्युत सेवा अवरुद्ध भएको भएपनि भेन्टिलेसन र सुरुङ भित्र विद्युत सेवा नियमित भएका कारण कामदारलाई कुनै पनि अप्ठेरो नपरेको आयोजना प्रमुख छबि गैरेले बताए ।
रातिको समयमा पहिरो गएका कारण उद्धारमा कठिनाइ भएको थियो । बिहान ७ बजेभित्र सबै जनाको उद्धार भएको रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले बताए । त्यहाँ जान जोखिम हुने देखिएपछि ड्रोनको माध्यमबाट अवलोकन गरिएको थियो । आयोजनाको पहिरो गएको क्षेत्रमा बाहेक अन्य क्षेत्रमा नियमित काम भइरहेको छ । पहिरो नियन्त्रणका लागि प्रोटेक्सनको काम भइरहेको आयोजनाले जनाएको छ।