प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई समृद्धि, सभ्यता र शान्तितिर लैजान योग एवं ध्यानको आवश्यकता रहेको बताएका छन् ।
पाँचौँ अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शुक्रबार काठमाडौंमा आयोजना गरेको योगाभ्यास तथा प्रवचन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले नेपालीका पुर्खा ध्यानका सर्जक भएकाले नेपाललाई विश्व ध्यान केन्द्रका रुपमा स्थापना गर्नुपर्ने बताए ।
“अस्वस्थ चिन्तनबाट बच्न योग गरौँ, कर्म र योग दुवै गरौँ, ध्यानले असहिष्णुताबाट जोगाउँछ, ऋषिमुनिले योगलाई जीवनपद्धति बनाएकाले जरिला भरिला बने, आहार, विहार एवं व्यायामले जीवनलाई सन्तुलित बनाउने भएकाले यसको अभ्यास जरुरी छ”, प्रधानमन्त्रीले भने ।
वाल्मीकि, विश्वामित्र, वशिष्ठ, व्यासजस्ता ऋषिमुनिले नेपालभूमिमै साधना गरेकाले यो तपोभूमि, ज्ञानभूमि एवं शान्तिभूमिका रुपमा विश्वमा परिचित भएको उनले बताए । केही स्थानमा त्रेतायुगका योगस्थ अवस्थाका मुद्रा भेटिएकाले योगको प्राचीनतालाई प्रमाणित गरेको प्रधानमन्त्री ओलीको भनाइ थियो । दिनभर ताजारुपमा काम गर्ने क्षमताका लागि समय निकालेर योग अभ्यासको परम्परा बसाल्ने सुझाव पनि उनले दिए ।
कार्यक्रममा शिक्षामन्त्री गिरिराजमणि पोखरेलले विद्यालय तहको पाठ्यक्रममा योगलाई समेटेर जाने गृहकार्य भइरहेको जानकारी दिए । नेपालका लागि भारतीय राजदूत मञ्जीवसिंह पुरीले पूर्वीय दर्शनको एउटा अङ्ग योगको विकासका लागि नेपाल र भारतले सहकार्य गर्नुपर्नेमा जोड दिए ।
संयुक्त राष्ट्र सङ्घको महासभाले सन् २०१४ मा गरेको निर्णयानुसार सन् २०१५ जुन २१ देखि अन्तरराष्ट्रिय योग दिवस मनाउन थालिएको हो ।
नेपाल सरकारले विसं २०७२ साउन २८ गते माघ १ गतेलाई राष्ट्रिय योग दिवस घोषणा गरेको थियो । नेपालमा विसं २०३६ माघ १ गतेदेखि सूर्य उत्तरायण लाग्ने दिनको अवसर पारेर योग दिवस मनाउन थालिएको थियो । नेपाल संस्कृत विश्वविद्यालयमा छ महीनाको योग तथा प्राकृतिक चिकित्साको अध्यापन हुँदै आएको छ ।
कार्यक्रमअघि रत्नपार्कस्थित शान्तिवाटिकाबाट शुरु भएको प्रभातफेरी बागबजार, पुतलीसडक, प्रदर्शनीमार्ग हुँदै राष्ट्रियसभाग पुगेको थियो