एसओएस वालग्रामले ११ जना समाजसेवीलाई सम्मान गर्ने


अभिभावक गुमाएका र गुमाउन सक्ने जोखिममा रहेका बालबालिकाको लागि ‘मायालु घर’ को रुपमा परिचित अन्तर्राष्ट्रिय संस्था एसओएस वालग्राम सन् १९४९ देखि अष्ट्रियाको इम्स्ट शहरबाट शुरुभएको हो ।

अष्ट्रियाका समाजसेवी प्रा.डा.हर्मन माइनरद्वारा स्थापित एसओएस बालग्राम हाल १ सय ३५ मुलुकमा विस्तारित छ भने स्थापनाको ७० वर्षको अवधिमा विश्वभरका ४० लाख बालबालिकालाई प्रत्यक्ष संरक्षण गरिसकेको छ ।

एसओएस अन्तर्राष्ट्रिय बालग्रामको ७० औं स्थापना दिवस यही जुन २३ अर्थात असार ८ गते विश्वभरी विभिन्न कार्यक्रम गरि मनाइँदैछ । यसै अवसर पारेर एसओएस वालग्राम नेपालले बालबालिकाको वैकल्पिक स्याहार, बालअधिकार, बालबालिकाको शिक्षा र स्वास्थ्य लगायतका क्षेत्रमा उल्लेखनीय योगदान गर्दै आएका ११ जना ख्यातिप्राप्त समाजसेवी र संस्थालाई सम्मान गर्ने निर्णय गरेको छ ।

यसैगरी काठमाडौं उपत्यका बाहिरका काभ्रे, पोखरा, इटहरी, रुपन्देही, सुर्खेत, कैलालीका बालग्रामहरुले पनि विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान गर्नुभएका ख्यातिप्राप्त समाजसेवी तथा संस्थालाई सम्मान गर्ने निर्णय गरेका छन् ।

एसओएस बालग्राम नेपालको कार्यकारीणी समितिले ती संस्था र महानुभावहरुले आ-आफ्नो क्षेत्रमा गरेको योगदानको उच्च कदर गर्दै सम्मान गर्ने निर्णय गरेको एसओएस वालग्राम नेपालका राष्ट्रिय निर्देशक इश्वरी प्रसादशर्माले बताए ।

यसरी सम्मानित हुने समाजसेवीहरुमा बालअधिकारकर्मी गौरी प्रधान, सम्पदा संरक्षक एवम् शिक्षासेवी रवीन्द्र पुरी, पशुपतिक्षेत्र विकास कोषका पुर्व अध्यक्ष समाजसेवी डा.गोविन्द टण्डन, अपांग बालबालिकाको क्षेत्रमा कार्यरत समाजसेवी छुल्टुम शेर्पा, महिला र बालबालिकाको शिक्षा र पुर्नस्थापनाको क्षेत्रमा काम गर्दै आएको संस्था माइती नेपाल, बालबालिकाको वैकल्पिक स्याहारको क्षेत्रमा कार्यरत प्रा.डा.ओमकार लालश्रेष्ठ र श्रीमती शान्ति श्रेष्ठ छन् ।

यसैगरि बालबालिकाको अपांगता क्षेत्रमा कार्यरत वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा.अशोक कुमार बास्कोटा, सिएनएन हिरो पुष्पा बस्नेत, नेपाली फुटबल टोलीका पुर्व कप्तान उपेन्द्रमान सिंह, बालबालिकालाई दिवा खाजा उपलब्ध गराउँदै आएको संस्था फुड फर लाईफ नेपाल र महिला तथा बालबालिकाको क्षेत्रमा कार्यरत समाजसेवी रेणु शर्मा रहेका छन् ।

महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापाले एसओएस वालग्राम नेपालद्वारा असार ८ गते आयोजना गरिने विशेष समारोहमा उहाँहरुलाई सम्मान गर्ने कार्यक्रम रहेको छ भने सोहीदिन नेपालमा रहेका १० वटा एसओएस वालग्राममा २५ वर्षभन्दा बढी सेवा गरेका आमा, काकी, कर्मचारी तथा पदाधिकारीहरुलाई पनि पुरस्कृत गरिने कार्यक्रम तय भएको वालग्रामका राष्ट्रिय निर्देशकशर्माले बताएका छन् ।

प्रकाशित: समय: 9:33:07  485पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार